• २०८२ भदौ २० शुक्रबार
  • Friday, 5 September, 2025

युक्रेन युद्ध अन्त्य गर्ने 'सहमति' गरेको पुटिनको खुलासा

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा गत महिना अलास्कामा आयोजित बैठकमा आफू संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग "सहमति"मा पुगेको बताएका छन्।

तर उनले ट्रम्पले मध्यस्थता गर्ने शान्तिवार्तामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग बस्न आफू तयार भए नभएको केही खुलाएनन्। ट्रम्पले सोमवारको समयसीमा तोक्दै पुटिनलाई जबाफ दिन भनेका थिए।

चीनमा आयोजित एउटा शिखर सम्मेलनमा बोल्दै पुटिनले युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निर्णयको प्रतिरक्षा गरे। युद्धका लागि उनले पुनः एक पटक पाश्चात्य देशहरूमाथि दोषारोपण गरे।

अलास्कामा ट्रम्प र पुटिनबीच भएको भेटवार्तापछि अमेरिकाका विशेषदूत स्टीभ विट्कफले सम्भावित शान्ति सम्झौताअन्तर्गत युक्रेनका लागि सुरक्षा प्रत्याभूति प्रदान गर्ने विषयमा पुटिन सहमत भएको बताएका थिए। तर मस्कोले त्यसको पुष्टि अझै गरिसकेको छैन।

तियान्जिनमा शाङ्घाई कोअपरेशन अर्गनाइजेशन (एससीओ)को शिखर सम्मेलनमा सम्बोधन गर्दै रुसी राष्ट्रपतिले युक्रेन युद्धबारे टिप्पणी गरेका हुन्। उक्त सम्मेलनमा उनको भेट चीनका राष्ट्रपति सी जिन्पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भयो।

उनले "युक्रेन सङ्कट समाधान गर्न सघाउन खोजेको" भन्दै सी र मोदीलाई धन्यवाद पनि दिए।

चीन र भारत रुसमा उत्पादित कच्चा तेलका शीर्ष आयातकर्ता हुन्। तेल किनेर रुसी अर्थतन्त्रलाई सहयोग पुर्‍याएको भन्दै पश्चिमा राष्ट्रहरूले ती दुई देशको आलोचना गर्दै आएका छन्।

शुक्रवार फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पुटिनलाई ट्रम्पले जेलेन्स्कीसँग शान्तिवार्ता गर्न सहमत हुन सोमवारसम्मको समय दिएको बताएका थिए।

यदि रुसी राष्ट्रपति पुटिन सहमत भएनन् भने त्यसबाट उनले "फेरि एक पटक ट्रम्पलाई झुक्क्याएको" स्पष्ट हुने माक्रोँको भनाइ थियो।

सीएनएनलाई २२ अगस्टमा दिएको एउटा अन्तर्वार्तामा ट्रम्पले पुटिनलाई जबाफ दिन दुई साताको समय दिएको बताएका थिए।

ट्रम्पले सुरुमा एकै दिनमा युक्रेन युद्ध टुङ्ग्यादिने दाबी गरेका थिए।पुटिनको भनाइ

आफ्नो भाषणमा पुटिनले ट्रम्पसँग अलास्कामा "भएको सहमति" सो दिशामा अगाडि बढ्छ र त्यसबाट युक्रेनमा शान्ति स्थापना गर्ने बाटो खुल्छ भन्ने आशा व्यक्त गरे।

यद्यपि उनले "यो सङ्कट रुसले युक्रेनमा गरेको आक्रमणबाट उत्पन्न भएको हैन" बरु "पश्चिमको सहयोग र उक्साहटमा युक्रेनमा भएको सत्तापटलको प्रतिफल" भएको दोहोर्‍याए।

"पश्चिमले युक्रेनलाई नेटोमा तान्न निरन्तर गरेको प्रयासका कारण" युद्ध भएको उनको दाबी थियो।

पुटिनले नेटोमा युक्रेनको सम्भावित सहभागिताको सधैँ विरोध गर्दै आएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर