• २०८२ भदौ २१ शनिबार
  • Saturday, 6 September, 2025

चरित्र हत्या गरेको प्रमाण भेटेपछि एमाले नेता महरविरुद्ध अदालतमा मुद्दा दर्ता  

काठमाडाैं । फेसबुकमार्फत चरित्र हत्या, अपमान र बदनाम गर्ने कार्यमा संलग्न भएको आरोपमा एमालेका केन्द्रीय सदस्य समेत रहेका ऐनबहादुर महरविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । महरले विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसूर गरेको पुष्टि हुन आएको भन्दै जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले क्षतिपूर्तिसहितको सजाय माग गर्दै अभियोग पत्र दायर गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेका अनुसार अभियोग पत्र अदालतमा दर्ता भए पनि ऐन महर अदालतमा उपस्थित भएपछि थुनछेक बहस हुनेछ ।

महरले आफ्नो फेसबुक आईडी प्रयोग गरी महिलाको नाम जोडेर लाइभ भिडियोमार्फत चरित्रहत्या गर्ने अभिव्यक्ति दिएको अभियोग पत्रमा उल्लेख छ । 

महरले पीडितलाई मानसिक रोगी, चरित्रहीन पेसेवर महिला भन्दै यस्ताबाट बच्नु होला भन्दै बोलेको पीडित महिलाको बयानमा छ । ती महिलाले महरबाट बलात्कार जस्तो जघन्य अपराधको पीडितसमेत रहेको हुँदा मेरो इज्जत अस्मिता लुटी मेरै चरित्रहत्या गरेर घृणा फैलाउने, दुख हैरानी दिने र थप शारीरिक मानसिक पीडा दिई दिई मेरो व्यक्तिगत परिवारिक जीवनमा गम्भीर असर परेको भन्दै विद्युतीय कारोबार ऐन २०६३ बमोजिम उजुरी दर्ता गराएको बताएकी छिन् । 

उनले आफूले भोग्नु परेको मानसिक यातनाको उचित मुल्याङ्गकन गरी मानसिक क्षतिपूर्तिको समेत माग गरेकी छिन् । अभियुक्त महरले भने जाहेरीमा उल्लेख गरिएका सबै कुरा झूटो भएको दाबी गरेका छन् । उनले आफूले सो भिडियो पोस्ट नगरेको, बरु पीडितले नै आफ्नो र परिवारको मानहानि गर्दै आएको दाबी गरेका छन्।

महरले जाहेरवालाले आफ्नो सामाजिक तथा राजनीतिक रूपमा चरित्र हत्या गर्ने उद्धेश्यले सामाजिक संजालमा तथानाम कुराहरू लेख्ने, राजनीतिक चरित्र हत्या गर्ने सहितको आपराधिक लाभ लिई केही रकम समेत लिन खोजेको आरोप लगाएका छन् । 

उनले यस विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरीसमेत दर्ता गराएको बताएका छन् । त्यसैको प्रतिशोध लिई यो जाहेरी दिएको महरको बयान छ । यता पीडित महिलाले पनि उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा हुलाकमार्फत बलात्कारको जाहेरी दर्ता गराएकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर