चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली:'जीएसआईलाई समर्थन गरेकाे छैन'

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार जनवादी गणतन्त्र चीनको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली भदौ १४ देखि १८ गतेसम्म ५ दिने चीनको भ्रमण गरेका हुन् ।
चीनको तियानजिन सहरमा १५–१६ भदौमा आयोजित सांघाई सहयोग संगठन(एससीओ) को २५ औं शिखर सम्मेलनमा भाग लिन ओली चीन गएका थिए ।
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शनिबार तियानजिनमा भएको वार्ता पछाडि चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालले जीएसआईलाई समर्थन गरेको चिनियाँ दाबीका कारण प्रधानमन्त्रीको भ्रमण विवादमा तानिएको छ ।
जीएसआई (ग्लोबल सेक्युरिटी इनिसिएटिभ) चीनको सुरक्षा रणनीति हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्य परराष्ट्र सचिव अमृत राईले नेपालले चीनको ‘ग्लोबल डेभलेपमेन्ट इनिसिएटिभ’ लाई समर्थन गरेका बताए । ‘अरू कुरामा समर्थन जनाएको छैन । त्यसमा स्पष्ट हुनु होला । हाम्रा कुराहरु स्पष्ट राखेका छौं,’ उनले भने ‘नेपाल सरकारको नीति जे छ, त्यही कायम हुन्छ ।’
चीनबाट फर्किएपछि पत्रकारहरूसँग प्रधानमन्त्री ओलीले भने साक्षात्कार गरेनन् । परराष्ट्र सचिव राईले एससीओ शिखर संगठनमा नेपालको सहभागिता मार्फत नेपालको राष्ट्रिय हित प्रवर्द्धन भएको बताए ।
चिनियाँ राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको भूभाग लिपुलेक नाकाबाट व्यापार गर्ने भारत र चीनबीच भएको सझदारीप्रति आपत्ति जनाएको उनले जानकारी दिए । ‘सम्मानीय प्रधानमन्त्रीज्यूले उक्त समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपतिलाई अनुरोध गर्नुभयो,’ राईले उल्लेख गरे ।
प्रतिकृया दिनुहोस