एमाले विधान महाधिवेशन: तीन उपाध्यले फरक मत राख्ने

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले विधान महाधिवेशनमा फरक मत राख्ने तयारी गरेका छन्।
विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन पार्टीको कुनै पनि विधि, विधान मात्र होइन, संविधानले समेत रोक्न नसक्ने भन्दै फरक मत राख्न तयारीमा उनीहरू जुटेका छन्। यसको विपरीत फरक मत राख्न निषेध गर्ने तयारीमा संस्थापन पक्ष लागेको हो।
एमालेले आज बिहीबार सचिवालय बैठक बोलाएको छ। सकेसम्म सचिवालय बैठकबाटै फरक मतलाई निषेध गर्ने त्यस्तो हुन नसके महाधिवेशन उद्घाटनपछि बस्ने केन्द्रीय कमिटी बैठकबाट निषेध गर्ने संस्थापन पक्षको तयारी छ।
महासचिव शंकर पोखरेलले बुधबार विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारे फरक मत प्रस्तुत गर्न नमिल्ने बताएका छन्।
विधान महाधिवेशनमा पार्टीको दस्ताबेजमाथि मात्रै छलफल हुने वैधानिक व्यवस्था भएकाले भण्डारीको सदस्यतासम्बन्धी फरक मत राख्न नमिल्ने तर्क उनको छ।
पार्टी मुख्यालय ललितपुरको च्यासलमा विधान महावेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले उक्त विषयमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी बैठकमा राखेको फरक मत अस्वीकृत भएकाले त्यसलाई फेरि विधान महाधिवेशनमा छलफलको विषय बनाउन विधानले नदिने जिकिर गरेका हुन्।
संस्थापन पक्षले सचिवालय बैठकबाट फरक मतलाई रोक्न नसके शुक्रबार विधान महाधिवेशन उद्घाटनपछि केन्द्रीय कमिटी बैठक राखेर रोक्ने तयारी गरेकाे छ ।
पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भनेका थिए, 'केन्द्रीय कमिटीको निर्णयमाथि दुई उपाध्यक्ष कमरेडको फरक मत छ। त्यो कुरा बाहिर पनि आएको छ,’ पोखरेलले भने, ‘अहिले निर्णयमाथिको असहमति भएको हुनाले विचारमाथिको असहमति होइन भन्ने मैले बुझेको छु।’
उनका अनुसार केन्द्रीय कमिटीको निर्णयमाथिको असहमति विधान महाधिवेशनको विषय बन्न सक्दैन र विधान महाधिवेशनमा दस्ताबेजमाथि मात्रै छलफल हुन्छ। ‘केन्द्रीय कमिटीको निर्णयमाथिको असहमतिमा विधान महाधिवेशनमा छलफल हुँदैन,’ पोखरेलले भने।
उपाध्यक्ष ज्ञवालीले भने आफ्नै तरिकाले फरक मत प्रस्तुत गर्ने बताए।
‘पार्टीमा फरक मत प्रस्तुत गर्न पाइन्छ, महाधिवेशन हो नि,’ उनले भने। उनले पार्टी अध्यक्षकै सल्लाहमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गरेको विषयलाई ठुलो बनाएर रोक्न खोजेपछि फरक मत राख्नुपरेको बताए। ‘उहाँ (अध्यक्ष केपी शर्मा ओली) सँग सरसल्लाह गरेरै भण्डारीले सदस्यता नवीकरण गर्नुभएको छ। सदस्यता नवीकरण कुनै कर्मचारीले यत्तिकै टिकट बाँडेजस्तो होइन। अध्यक्ष सँगै सरसल्लाह गरेरै नवीकरण भएको हो,’ ज्ञवालीले भने।
ज्ञवालीले अगाडि थपे, ‘स्वयं अध्यक्ष ओलीले नै सचिवालय बैठकमा सदस्यता नवीकरणका लागि संविधानले रोक्दैन, नियमले रोक्दैन, हाम्रो विधानले रोक्दैन भन्नुभएको थियो। अध्यक्षले उहाँ (पूर्वराष्ट्रपति भण्डारी) ले स्वयं सक्रिय राजनीतिमा आउन चाहन्छु भनेपछि हामीले रोक्न मिल्दैन भन्नुभएको थियो।’ यही विषयमा आफूहरुको फरक मत रहेको उनले बताए।
विधान महाधिवेशनमा २ हजार ३ सय ४१ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ। तर विद्या भण्डारी भने प्रवेश गर्न नपाउने भएकी छन् ।
महाधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्नेछन्।
महाधिवेशनमा सहभागी प्रतिनिधिबिच समूहगत छलफल गर्ने व्यवस्था मिलाइएको छ। विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्वसमेत निर्वाचित गर्नेछ।
प्रतिकृया दिनुहोस