कर्ण थापालाई फरक मत प्रस्तुत गर्न रोके ओलीले, छलफलका लागि समूहमा बाँडे थापाले

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत राख्न दिएनन् ।
जारी विधान महाधिवेशनको दोस्रो दिन आज (शनिबार) विभिन्न प्रतिवेदन उपर छलफल हुँदैछ । नेता थापाले अध्यक्ष ओलीले ल्याएको दस्ताजेजविरुद्ध ३२ पेज लामो फरक मत दर्ज गरेका छन् ।
उक्त फरक मतको दस्तावेजमाथि पनि छलफल गर्ने कार्यसूची थियो । तर, थापाले फरक मत प्रस्तुत गर्न खोज्दा अध्यक्ष ओलीले रोकेका हुन् । आफ्नो मत प्रस्तुत गर्न उठेका थापालाई ओलीले बोल्न दिएनन् ।
समय अभाव भएको र फरक मतमा फरक कुरा पनि खासै केही नभएको भन्दै ओेलीले रोकेको विधान महाधिवेशनमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार ओलीले ‘अहिले हामीसँग समय छैन, ग्रुप डिस्कसनमा जाऊँ’ भन्दै थापालाई फरक मत प्रस्तुत गर्न नदिएका हुन्।
त्यसपछि थापाले ग्रुपहरूमा सो प्रतिवेदन बाँडेका छन् । विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न १० वटा ग्रुप बनाइएको छ ।
बिहीबार केन्द्रीय कार्यालयमा दर्ता गराएको थापाको फरक मतमा अध्यक्ष ओलीको कार्यशैलीमाथि प्रश्न उठाइएको छ । साथै, पूर्वराष्ट्रपति एवम् पार्टीका पूर्वउपाध्यक्षस विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक्नु गलत भएको जिकीर गरिएको छ ।
थापाले भण्डारीलाई एमालेमा रोक्नु प्रत्युत्पादक हुनसक्ने चेतावनी दिँदै उनलाई ससम्मान पार्टीको जिम्मेवारी दिन माग पनि गरेका छन्। भण्डारीको सदस्यता रोक्नु ओलीको गलत मनसाय भएको थापाको आरोप छ ।
थापाले आफ्नो दस्तावेजमा लेखेका छन्, ‘उहाँ पार्टीको निर्णयको पालना गरेर राष्ट्रपति हुनु भयो । त्यस पदमा रहदा पार्टीको जिम्मेवारीबाट अलग हुनु भयो । फर्केर आएपछि पार्टी सदस्यता नवीकरण गर्नु भयो । सदस्यता नवीकरण गरेको एक वर्ष पछि मात्रै प्रश्न उठाईयो । सदस्यता नविकरण गर्न गएकै दिन प्रश्न किन उठाइएन ? उहाँले राष्ट्रपतिको उम्मेदवार हुने पार्टी निर्णय हुँदाका बखत सदस्यता त्याग्ने र पुनः सदस्यता नलिने भनी निर्णय गरिएको थियो भन्ने कुरा पनि पूर्ण रुपमा असत्य हो । उहाँको सम्मानको लागि सदस्यताबाट बञ्चित गरिएको भन्ने तर्क उहाँमाथि विभिन्न कटु शब्द समेत प्रयोग गरी भएको प्रहारले नै असल मनसायबाट गरिएको भन्ने देखिन्न ।’
अध्यक्ष ओलीले यस विषयमा अस्ति राति नै थापासँग ३ घण्टा छलफल गरिसकेको र फरक मत प्रस्तुत नगर्ने सहमति भइसकेको दाबी गरे।
‘अस्ति राति कर्ण थापा र केपी ओलीबीच १२ बजेदेखि ३ बजेसम्म ३ घण्टा छलफल भएको- फरक मत नलाने, एउटा टिपोट लाने ग्रुप छलफलमा भनेर सहमति भएको भन्नुभयो’, ती नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘उहाँ (थापा) आफ्नो ग्रुपमा जानुहुन्छ, यहाँनिर बोल्नु आवश्यक छैन, उहाँले कन्भिन्स गर्ने मलाई नै हो। उहाँ र म ३ घण्टा बसेको अस्ति राति। १२ बजेदेखि ३ बजेसम्म।’
ती नेताले थप सुनाए, ‘थापाले आधी घण्टा उभिएर विरोध गर्नुभयो। बोल्न दिनुपर्छ, मैले बोल्न पाउनुपर्छ भन्नुभयो। बस्नुस् भन्दा पनि नमानेर झन्डै आधी घण्टा उभिनुभयो, तर पाउनुभएन।’
त्यसपछि थापाले आफ्नो फरक मतका प्रति महाधिवेशन प्रतिनिधिहरूलाई हातहातमा दिएको उनले जानकारी दिए।
बिहीबार बसेको एमाले सचिवालय बैठकमा थापाले दर्ता गराएको ३२ पृष्ठको फरक मतमा पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्न नहुने आवाज जोडदारसँग उठाएका छन्। सचिवालय बैठकमा फरक मत दर्ता गराउँदा थापालाई विधान महाधिवेशनमा पेस गर्न दिने भनिए पनि अहिले अध्यक्ष ओलीले रोकेका हुन्।
प्रतिकृया दिनुहोस