नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल बराबरीमा

काठमाडाैं । नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशमाथि दबाब कायम गरे पनि गोल गर्न सकेन।
गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले केही राम्रा अवसरहरू सिर्जना गरे पनि फिनिसिङमा कमजोरी देखियो।
त्यसैगरी, बंगलादेशले पनि नेपालको डिफेन्समाथि खासै चुनौती दिन सकेन। दुवै टोलीले डिफेन्समा राम्रो खेले पनि आक्रमणमा भने कमजोरी देखाएका छन्।
एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनामसँगै छन्।
एएफसी एसियन कप छनोटमा बाँकी खेलको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपाल र बंलादेशबीच मङ्गलबार दोस्रो मैत्रीपूर्ण खेल हुनेछ। दुई खेलको यो सिरिजको दोस्रो खेलसम्म नतिजा बराबरी भए पेनाल्टी सुटआउटबाट विजेता टुङ्गो लगाइनेछ।
नेपालले अहिलेसम्म समूह चरणमा दुई खेल खेलेको छ। तर दुवै खेलमा हार बेहोरेको कारण अंक जोड्न सकेको छैन।
नेपालले मलेसिया र लाओसविरूद्ध अवे खेलमा पराजय भोगेको थियो।
नेपालले छनोटको अब असोज २३ गते भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ। त्यसको एक सातापछि नेपालमा भियतनामले खेल्ने तालिका भए पनि सो खेल मैदानका कारण नहुने भएको छ। यो खेल पनि भियतनामै हुनेछ।
प्रतिकृया दिनुहोस