• २०८२ भदौ २२ आइतबार
  • Sunday, 7 September, 2025

एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज सकिँदैछ।  ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुईदिनदेखि जारी महाधिवेशन आज सकिन लागेको हो। 

महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि १० वटा समूहबिचको विमर्श सकिएको छ। विमर्शका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह बनाइएको थियो। कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिले छुट्टाछुट्टै समूहमा विमर्श भइसकेपछि प्रतिवेदन लेख्न सुरु गरिएको छ। प्रतिवेदन आइतबार प्रत्येक समूहका टोलीनेताले महाधिवेशन हलमा प्रस्तुत गर्ने छन्।

शनिबार दिनभर छलफल विमर्शपछि त्यसको निष्कर्ष निकालेर प्रतिवेदन लेखन कार्य सुुरु भएको एमाले बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामाले जानकारी दिइन्।  सहभागी प्रतिनिधिले दिएको सुझावका आधारमा १० वटा नै समूहले आफ्नो प्रतिवेदन लेख्न थालेको लामाले बताइन्। 

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख गौतमले शनिबार सबै समूहले छलफल विमर्श सकेर आइतबार प्रतिनिधिको सुझावसहितको प्रतिवेदन समूहगत नेताले हलमा प्रस्तुत गर्ने उल्लेख गरे। 

समूहगत रूपमा आएका प्रतिवेदनमा समेटिएका सुझाव, जिज्ञासाको अध्यक्ष ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाउने तयारी भएको गौतमले जानकारी दिए।  सकेसम्म सबैलाई सुझाव समेटेर एकीकृत रूपमा पार्टी विधान तयार गरिने बताउँदै गौतमले प्रस्ताव पारित गरेर एमालेको दोस्रो विधान महाधिवेशन आइतबार सक्ने तयारी भइरहेको उनले स्पष्ट पारे।  

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसहितको प्रतिवेदनसँगै विभिन्न परिषद्का प्रतिवेदनमाथि १० समूहले छलफल विमर्श गरेका थिए।

महाधिवेशनमा शनिबार भएको विमर्श र आइतबार हुने समूहगत विमर्शलाई एमाले नेतृत्वले विशेष महत्वका साथ हेरेको छ। राजनीतिक प्रतिवेदनमार्फत प्रस्तुत गरिएका विषय मुलुकको वर्तमान राजनीतिक परिदृश्य, सङ्घीयता, आर्थिक अवस्था र सरकार सञ्चालनका सवालमा विस्तृत बहस भएको र त्यो समूहको नेतामार्फत सार्वजनिक हुने नेकपा (एमाले) काभ्रेपलाञ्चोकका अध्यक्ष राजन भुर्तेलले जानकारी दिए। 

त्यस्तै साङ्गठनिक प्रतिवेदनले पार्टीभित्रको सदस्यता विस्तार, सङ्गठनात्मक संरचना, कमिटी गठन, प्रशिक्षण र आन्तरिक अनुशासनबारे छलफललाई केन्द्रमा राख्ने छ।

विधान संशोधन प्रस्तावबारे पनि छलफल गरी निष्कर्ष निकालिने छ। एमालेको विधान महाधिवेशनले आन्तरिक बहसमार्फत सङ्गठनलाई थप सुदृढ बनाउने मात्र नभई आगामी निर्वाचन र मुलुकको राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्ने आधार तय गर्ने
बताइएको छ। 

उत्कृष्ट सुझाव बनाउन समूहका नेता सक्रिय बनेर प्रतिवेदन लेखनमा क्रियाशील बनेको प्रचार विभागका प्रमुख गौतमले बताए।  नेपाली विशेषताको समाजवाद सोभियत मोडेलभन्दा फरक तर नेपाली विशेषताको समाजवाद ल्याउनका लागि एमालेको विधान महाधिवेशनमा छलफल भएको छ। 

दोस्रो विधान महाधिवेशनमा प्रस्तुत नेपाली विशेषताको समाजवाद शीर्षकको दस्ताबेजमा अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र उसको नेतृत्वमा ल्याइने समाजवादको स्पष्ट रूपमा व्याख्या गरेका छन्।

अध्यक्ष ओलीले कम्युनिस्ट पार्टी नेपालको विशेषतामा कस्तो हुन्छ भन्ने पनि उल्लेख गरेका छन्। दस्ताबेजमा ओलीले बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइने र एकरूपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्धन गरिने भनेका छन्। दस्ताबेजमा कम्युनिस्ट पार्टीबारे उहाँले उल्लेख गरेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर