सेनाले थाल्यो बालेनसहित जेनजीका प्रतिनिधिसँग अनौपचारिक छलफल, गणतन्त्र राख्ने, रविलाई नमान्ने !

काठमाडौं । देशमा व्याप्त भ्रष्टाचारको अन्त्य र सरकारले प्रतिबन्ध लगाएका सामाजिक सञ्जाल सुचारु गराउने मागसहित सुरु भएको जेनजी आन्दोलनले देशमा नयाँ अवस्था सृजना गरेपछि नेपाली सेनाले निकासको पहल थालेको छ ।
नेपाली सेनाका प्रधानसेनापति र राष्ट्रपति रामचन्द्र पौडेलले हिजो मात्रै नयाँ अवस्थामा समस्या समाधानका लागि जेनजीका प्रतिनिधिसँग छलफलको आव्हान गरेका थिए ।
सोही अनुसार औपचारिक छलफल गर्नुअघि प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, रुटिन अफ नेपाल बन्दका भिक्टर पौडेल, जेनजीका प्रतिनिधि रवि किरण हमाललगायतसँग परामर्श गरेको स्रोतले जानकारी दिएको छ ।
उनीहरुले जेनजीको माग गणतन्त्रात्मक व्यवस्थाकै विकल्प खोज्न नखोजेको, तर तत्काल संसद विघटन गरेर अन्तरिम सरकार बनाउने तथा प्रत्येक्ष निर्वाचित कार्यकारीको एजेण्डासहित चुनावमा जानुपर्ने विषयमा छलफल भएको स्रोतको दावी छ ।
जेनजीको प्रतिनिधि भन्दै रक्षा बमले पनि यसबारे खुलासा गरेकी छन् । उनले केही सैद्धान्तिक कुरा नमिलेको बताएकी छन्। नेपाली सेनाका प्रधानसेनापतिसँगको जेन जीका प्रतिनिधिको पछिल्लो छलफलमा सहमति नजुटेको र छलफलबाट बाहिर निस्केको उनले बताएकी छन् ।
'म आजको छलफलबाट बाहिर निस्किसकेँ है,' उनले भनेकी छन्, 'हाम्रो केही सैद्धान्तिक कुरा नमिलेपछि छलफलका क्रममा बाहिर निस्केको हुँ।'
‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जेड प्रदर्शनकारी प्रतिनिधिहरु मिलेर एउटै दस्तावेजमा काम गर्नेछौं,’ उनले भनिन्, ‘हामी सबै एकैठाउँमा आएर आफ्नो माग राख्नेछौं, सबैसँग सम्पर्क गर्नेछौं र केही दिनभित्र राष्ट्रपतिसहित सेनाप्रमुख समक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौं भन्ने सहमतिसहित मात्र बाहिरिएका थियौं ।’
जेनजीका मागहरु, राज्यको आगामी बाटो जानजीले तयार गर्नुपर्छ भन्ने आफूहरूको मुख्य अडान रहेको उनले भनेकी छन् ।
गए राति पनि बमसहित जेन जीका ९ प्रतिनिधि र प्रधानसेनापतिबीच २ चरणमा छलफल भएको बताइएको छ।
हिजो मात्रै मेयर बालेन शाहले सेनाप्रमुसँगको वार्ताका लागि तयार रहन जेनजीलाई आग्रह गरेका थिए । उनले लेखेका थिए, 'हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला !साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।'
जेनजी पुस्ताले सहकारी ठगीमा अनुसन्धानका लागि कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछाने छुटाउने एजेण्डा पनि नभएको र नयाँ नेतृत्व उनलाई दिन पनि नसकिने उनीहरुको धारणा सार्वजनिक भएको स्रोतले बतायो ।
औपचारिक वार्ताका लागि भने जेनजी समूहले भर्चुअल छलफल गरेर एक मत बनाएर नेतृत्व चयन गर्दै वार्तामा जाने तयारीमा छन् ।
प्रतिकृया दिनुहोस