ओली, प्रचण्ड, नेपाल शिवपुरीमा, राष्ट्रपति जंगी अड्डामा

काठमाडाैं । नेपाली सेनाले सुरक्षाकाे व्यवस्था दिदै राजनीतिक दलहरूलाइ शिवपुरीमा रहेकाे सेनाकाे ब्यारेकमा राखिएकाे छ । सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पाैडेल भने सैनिक हेडक्वाटर भद्रकाली राखिएकाे सैनिक उच्च स्राेतले जानकारी दिएकाे छ ।
पाैडेललाइ सुरूमा उनकाे निवास शीतल निवास अगाडीनै रहेकाे भैरवनाथ गणमा राखिएकाे र पछि सैन्य हेडक्वाटर सारिएकाे थियाे ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित मन्त्रीहरूलाई उनीहरूको सुरक्षार्थ शिवपुरीस्थित सैनिक तालिम केन्द्रमा राखिएको छ।
निवर्तमान प्रधानमन्त्री ओली, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, विपक्षी दलका नेता प्रचण्ड, नेपाल लगायत सबै मन्त्रीहरूलाई शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा राखिएको सेनाको उच्च स्रोतले जानकारी दियो।
यसबारे ओलीले पनि जेनजीका नाममा बुधबार राति एक पत्र जारी गर्दै पुष्टि गरेका छन्। उक्त सन्देशमा उनले आफू शिवपुरीको एकान्त सुरक्षा घेराभित्र रहेको बताएका छन्।
स्रोतका अनुसार मन्त्रीहरूलाई मन्त्री क्वार्टर भैंसेपाटीबाट र प्रचण्ड र नेपाललाई भने सिंहदरबारबाट हेलिकप्टरमा शिवपुरी लगिएको हो।
मंगलबार दिउँसो सिंहदरबारमा प्रचण्डले विपक्षी दलको बैठक डाकेका थिए। बैठकमा माधव नेपाल पनि सहभागी थिए। सोही समयमा आन्दोलनकारीहरूले प्रचण्डको घरमा आगजनी गरेको खबर आएपछि उनीहरू दुवै जनालाई सेनाले शिवपुरी लगेको हो।
ओलीका तर्फबाट भनेर केहीबेरअघि एउटा वक्तव्य सार्वजनिक भएको छ। उक्त वक्तव्य निवर्तमान प्रधानमन्त्री ओलीका तर्फबाट जारी भएको भन्दै प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले सामाजिक सञ्जालमा राखेका हुन्।
'प्रिय जेनजी बाबुनानीहरू' भन्दै पत्र लेखेका ओलीले आफू शिवपुरीमा रहेको खुलाएका छन्।
केपी ओलीले मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएलगत्तै नेपाली सेनाले उनलाई हेलिकोप्टरमार्फत् बालुवाटारबाटै शिवपुरी लगेको थियो।
यस्तो छ शिवपुरीबाट जेनजीलाई लेखेको पत्रः
प्रिय जेनजी बाबुनानीहरू,
आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू मलाई देख्नेबित्तिकै मेरो काखमा आइपुग्छन्।
तिनीहरूको निश्छल हाँसो, त्यो सानो शरीरको न्यानो स्पर्शले मभित्र एउटा अद्भूत आनन्द भर्छ। मलाई बच्चाहरूको वरिपरि रहन पाउँदा साँच्चिकै रोमाञ्चित महसुस हुन्छ। सायद तिमीहरूलाई थाहा छैन, व्यवस्था परिवर्तनको त्यो कठोर लडाइँमा, त्यो बेलाको सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन्। तर पनि, 'बा' बन्ने मेरो रहर कहिल्यै मरेन, कहिल्यै सेलाएन।
जब मैले सुनेँ, प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुराहरू सकिएका छन्। त्यो पीडाको घाउ आज पनि आलै छ।
तैपनि, मैले सधैं समाजमा शान्ति स्थापित हुनुपर्छ भन्ने मान्यता राखेँ।
तिमीहरूलाई याद होला, २०५१ सालमा जब म गृहमन्त्री थिएँ, त्यो मेरो कार्यकालमा राज्यको तर्फबाट एउटा पनि गोली चलेन। म सधैं शान्तिको पक्षमा उभिएँ, किनकि मैले आफ्नै जीवनमा हिंसाको क्रुरता भोगेको छु।
त्यो दोस्रो दिनको आन्दोलन, जति विध्वंसात्मक भयो, मलाई विश्वास छ, तिमीहरूका कोमल हातहरूबाट त्यस्तो भएको होइन।
तिमीहरूको निर्दोष अनुहार देखाएर, तिमीहरूको भावनामाथि खेलेर गलत राजनीति गर्ने प्रयास भइरहेको छ। देशका महत्त्वपूर्ण रेकर्ड भएका कार्यालयहरूमा आगजनी गर्ने, कारागारबाट कैदीहरू छोड्ने जस्ता गतिविधिहरू यत्तिकै भएका होइनन्।
यी सबै पछाडि गहिरो षड्यन्त्र लुकेको छ। यो व्यवस्था, जुन हामीले अनगिन्ती दुःख र बलिदानबाट ल्याएका हौं, त्यो बेला हामी बोल्न पाउँदैन थियौं, भेला जम्मा हुने छुट थिएन, प्रश्न गर्न पाइँदैन थियो। अन्धकारमय त्यो अवस्थासँग लडेर, संघर्ष गरेर हामीले यो उज्यालो व्यवस्था ल्यायौं।
आज तिमीहरूले आफ्नो आवाज उठाउन पाएका छौ, आन्दोलन गर्न पाएका छौ भने त्यो यही व्यवस्थाको देन हो। आज यो व्यवस्थाको नै कत्लेआम गर्ने प्रयास भइरहेको छ, यसमा तिमीहरू संवेदनशील हुन जरूरी छ।
नानीबाबुहरू, स्वभावले म अलि जिद्दी छु। यो जिद्दीपन नभएको भए सायद यति अप्ठ्याराका बीचमा यहाँसम्म आइपुग्नुभन्दा धेरै अगाडि मैले हार खाइसकेको हुन्थेँ होला।
हाम्रो देशमा व्यापार गर्ने सामाजिक सञ्जालले यहाँको नियम मान्नुपर्छ र सूचीकरण हुनुपर्छ भनेर मैले जिद्दी नै गरेको हुँ। लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी नै गरेको हुँ। शास्त्रहरूमा उल्लेख भए अनुसार भगवान श्रीराम भारतमा होइन, नेपालमा जन्मिएका हुन् भनेर मैले जिद्दी नै गरेको हुँ। यी जिद्दीहरूमा म पछाडि हटेको भए मैले अरू थुप्रै अवसरहरू पाउने थिएँ, थुप्रै कुरा हासिल गर्ने थिएँ। लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघ मा नपठाएको भए या अरूले मलाई चलाउन चाहे अनुसार चलिदिएको भए मेरो जीवन अर्कै मोडमा पुग्ने थियो।
तर मैले त आफूसँग भएको सबै सम्पत्ति राज्यका नाममा गरिदिएको छु।
मेरो लागि पद, प्रतिष्ठा कहिल्यै महत्त्वपूर्ण रहेन। पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि कहिल्यै ठूलो भएन।
मेरो लागि सबैभन्दा महत्त्वपूर्ण त यो व्यवस्था जोगाउनु हो। यो व्यवस्था, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो। व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने मैले विश्वास राखेको छु।
तिमीहरूको केपी शर्मा ओली, शिवपुरी
प्रतिकृया दिनुहोस