निजी क्षेत्रले भन्योः हार खाएका छैनौं, लगानी र रोजगारी सृजना गर्न तयार छौं

काठमाडौं । नेपालको अर्थतन्त्रमा बलियो खम्बा बनेको निजी क्षेत्रले जेनजी आन्दोलनमा ठूलो क्षेती बेहोर्नुपरेपनि अझै हार भने नखाएको प्रतिक्रिया दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै महासङ्घले पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएको भन्दै व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको भत्र्सना गरेको हो ।
साथै महासङ्घले व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराएको छ । महासंघकाअनुसार उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौं रुपैयाँ बराबरको क्षति भएको छ । यसबारे महासङ्घले थप विवरण सङ्कलन गरिरहेको छ । क्षतिका कारण राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आङ्कलन महासङ्घले गरेको छ ।
महासङ्घले सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव रहेको बताउँदै स्थायित्वका लागि युवाहरूको चाहना अनुरुप सुशासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता गर्न जरुरी रहेको बताएको छ । लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्याउन महासङ्घले सबैमा आग्रह समेत गरेको छ ।
यस्तै नेपाल उद्योग परिसंघ (सीएनआई) ले निर्दोष नागरिकको ज्यान जाने कुनैपनि प्रकारको हिंसाको कडा शब्दमा निन्दा गरेको छ ।
परिसंघले संयमता अपनाउन सबै सरोकारवालालाई अपिल गर्दै शान्ति, सुरक्षा र रचनात्मक संलग्नतालाई प्राथमिकता दिन आग्रह गरेको छ । साथै, लोकतान्त्रिक अभिव्यक्ति सुरक्षित राख्नुपर्ने र कानुन, व्यवस्था तथा मानव जीवनको पवित्रता सुनिश्चित गर्ने पहलमा निरन्तर समर्थन रहने स्पष्ट पारेको छ । हालैका जेन्जी आन्दोलनमा सरकारले दमन गरेपछि दोस्रो दिनको आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योगी–व्यवसायीमाथि आक्रमण भएको थिए । मीनबहादुर गुरुङले सञ्चालन गरेका देशभरका १२ वटा भाटभाटेनी सुपरमार्केटमा लुटपाटपछि आगजनी गरिँदा अन्य आधा दर्जन शाखामा समेत क्षति पुगेको थियो । हालैको आन्दोलनका क्रममा व्यापक तोडफोड र आगजनीबाट ठुलो क्षति भोगेको भाटभटेनी सुपरमार्केटले पुनः उठ्ने संकल्प समेत गरेको छ ।
नेपाल उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका चन्द्र ढकाल, निवर्तमान अध्यक्ष शेखर गोल्छा, भाटभटेनीका मीनबहादुर गुरुङ, चौधरी ग्रुपका निर्वाण चौधरीलगायतले देशमा अझै लगानी गर्न र रोजगारी सृजना गर्न तयार रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका प्रबन्धक शेखर गोल्छाले आगामी दिनमा रोजगारी सिर्जना र लगानी विस्तारमा प्रतिबद्ध रहेको बताएका छन्।
प्रदर्शनकारीको आन्दोलनको क्रममा गाेल्छाकाेसमेत घर जलेको थियो। गोल्छाले घर जलेको फोटो राखेर फेरि पनि उच्च मनोबलका साथ काम गर्ने बताएका छन्।
'देशमा सकारात्मक परिवर्तन होस्, नयाँ पुस्ताको नयाँ नेपालको सपना पूरा होस्। आक्रमणले हाम्रो परिवारलाई पनि छोयो तर हामी अडिग छौं,' उनले सामाजिक सञ्जाल एक्समा एक फोटो पोस्ट्याउँदै लेखेका छन्, 'लोकतन्त्र सुदृढ होस् भन्ने कामनासहित रोजगारी सिर्जना र लगानीमा अझ प्रतिबद्ध छौं।'
गोल्छाले प्रदर्शनकारीको आन्दोलनका कारण आफ्नो घर जले पनि आफू नअत्तालिएको बताए।
'हाम्रो घर जल्यो तर हामी सबै परिवार सुरक्षित नै रह्यौं, हामी अत्तालिएका छैनौं, बाहिरी वातावरण शान्त होस् भन्ने चाहन्छौं,' गोल्छाले भने, 'अन्धकारपछि उज्यालोले सबैलाई एकता दिओस्।'
भदौ २३ र २४ गतेको प्रर्दशनको क्रममा विभिन्न उद्योग, व्यवसायीहरूको व्यक्तिगत घर, उद्योग र सम्पत्तिमा आगजनी, तोडफोड भए।
चौधरी समूहले फेरि उदाउने आशा लिएको छ। सिजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी भन्छन्, ‘इतिहासले यो विध्वंसलाई सम्झने छैन। तर हामी यस आगोबाट, यस विध्वंसबाट कसरी निस्क्यौं र अझ बलिया, अझ गौरवपूर्ण भएर कसरी आयौं इतिहासले सम्झनेछ।’
'पछिल्ला केही दिन हाम्रो कम्पनीको इतिहासकै सबैभन्दा पीडादायी क्षण बन्न पुग्यो। युवाहरूले जवाफदेहिता र परिवर्तनको माग अघि सारेर सुरू गरेको आन्दोलन दंगा गर्ने र बाह्य शक्तिहरूले कब्जा गरेर तोडमोड गराइदिए।
शान्तिपूर्ण रूपमा राम्रो नेपालका लागि गरिएको आवाज हिंसा, लुटपाट र विनाशमा परिणत भयो। हामीले अकल्पनीय क्रूरता देख्यौं। हाम्रो अध्यक्षलाई निशाना बनाइयो। हाम्रा घर आक्रमणमा परे र जलाइए। हाम्रो कारखाना र कार्यालयहरू क्षतिग्रस्त भए र हाम्रो शो-रूमहरू लुटिए।
दशकौंको मेहनत, त्याग र समर्पण-केही घण्टामै खरानीमा परिणत गराइयो। यो केवल सम्पत्तिमाथि आक्रमण थिएन। यो हाम्रो आशा, विश्वास, र राष्ट्रका लागि केही सार्थक निर्माण गर्ने विचारको आक्रमण थियो।
यी नै अन्धकारमय घडीमा पनि केही असाधारण भयो। आगो र अराजकताबीच पनि हाम्रा प्रबन्धकहरू र कर्मचारीहरूले आफ्नै सुरक्षालाई जोखिममा राखेर पनि दिन रात काम गर्दै, सक्दो जोगाउँदै, आफ्ना संरचना बचाउने प्रयास गर्नुभयो।
हामीप्रति ग्राहकमा रहेको विश्वास बचाइराख्ने जुन प्रयास गर्नुभयो, त्यो नै सबैभन्दा महत्वपूर्ण हो। आगो दन्किरहँदा पनि हाम्रा साथीहरूले हार मान्नु भएन।
सबै कुराहरू भत्किँदा पनि दृढ भएर उभिएका तपाईंहरू प्रत्येकलाई म सलाम गर्छु। तपाईंहरूले संसारलाई देखाउनुभयो कि सिजी केवल कम्पनी होइन यो दृढता, निष्ठा र साहसले बाँधिएको परिवार हो। तपाईंहरूकै कारण विनाशको बाबजुद पनि हाम्रा ग्राहकहरू हामीसँगै रहने अवस्था बनेको छ।
तपाईंहरूकै कारण आशा अझै जीवित छ। जब समय उचित हुनेछ, हामी तपाईंहरूको सेवा, त्याग र सामर्थ्यलाई एक साथ आएर सम्मान गर्नेछौं उत्सवको रूपमा मनाउनेछौं।
हो, हामी घाइते छौं। हामी भित्रैदेखि हल्लिएका छौं। तर हामी भाँचिएका छैनौं। ती अपराधीहरूले हाम्रा भवन जलाउन सक्छन्। तर, हाम्रा सपना जलाउन सक्दैनन्। उनीहरूले हाम्रा सोरुम लुट्न सक्छन तर हाम्रा मूल्य मान्यता लुट्न सक्दैनन्। उनीहरूले हामीलाई कमजोर पार्न खोज्न सक्छन, तर हाम्रो परिवारको एकता तोड्न सक्दैनन्।
हामीले पनि सम्झनै पर्छ कि हामी को हौं। चौधरी समूह नेपालकै सबैभन्दा ठूलो करदाता हो। सबैभन्दा ठूलो रोजगारी दिने संस्थामध्ये एक हो। राष्ट्र निर्माण गर्ने एउटा पक्ष हो। भूकम्प, बाढी वा महामारी हरेक संकटमा हामी आफ्ना जनताका लागि अग्रपंक्तिमा उभिएकाछौं। त्यो मिशन समाप्त भएको छैन। त्यो जिम्मेवारी हल्लिएको छैन। त्यो उद्देश्य हराएको छैन।
हामी फेरि निर्माण गर्नेछौं। हामी पुनः उठ्नेछौं। हामी अहिलेभन्दा बलियो भएर उदाउनेछौं। इतिहासले यो विध्वंसलाई सम्झने छैन। तर हामी यस आगोबाट, यस विध्वंसबाट कसरी निस्क्यौं र अझ बलिया, अझ गौरवपूर्ण भएर कसरी आयौं इतिहासले सम्झनेछ।
सिजी परिवारका प्रत्येक सदस्यलाई धन्यवाद। तपाईंहरू नै यस संस्थाको मुटु हुनुहुन्छ। सँगै, हामी केवल बाँच्छौं मात्र होइन-हामी उज्वल भविष्य निर्माण गर्ने छौं।'
चन्द्र ढकालको आइएमई समूहले लगानी गरेको चन्द्रागिरि केबलकार र मौलाकाली केबलकारको तल्लो स्टेसनमा आगजनी तथा तोडफोड भएको छ।
ढकालले आफू र आफ्नो परिवार सुरक्षित रहेको बताएका छन्।
'भ्रामक सूचनाको कारण चन्द्रागिरि र मौलाकालीमा तोडफोड भएछ, यो राम्रो भएन,' ढकालले भने, 'धेरै उद्योगी, व्यवसायी अहिले त्रासमा छन्।'
उनले अब के गर्ने र कसरी अगाडि बढ्ने भन्ने सवालमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा प्रतिष्ठित व्यवसायीसँग संवाद गर्न थालेको बताए।
भाट-भटेनी सुपरमार्केटले पुनः उठ्ने प्रतिबद्धता जनाएको छ।
फेसबुक पोस्टमा भाटभटेनीले भनेको छ, ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन। आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं।’
कम्पनीले क्षतिपछि सरसफाइ र पुनर्निर्माणमा सहयोग पुर्याउने हजारौँ सहयोगी हातहरूको पनि प्रशंसा गरेको छ। पोस्टमा भनिएको छ, ‘हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन्।’
प्रतिकृया दिनुहोस