कार्की नियुक्तिको राष्ट्रसंघसहित भारत, जापान र बेलायतद्वारा स्वागत

काठमाडौं । जेन–जी विद्रोहको बलमा नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रसंघसहित विभिन्न राष्ट्रले स्वागत गरिरहेका छन् ।
नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिएको छ । पछिल्लो समय राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देल र जेन–जी युवाहरूले पुर्याएको योगदानको समेत राष्ट्रसंघको कार्यालयले चर्चा गरेको छ ।
उनीहरूको सहयोगले नै यो परिवर्तन सम्भव भएको उल्लेख गर्दै काठमाडौंस्थित आवासीय कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिको आकांक्षामा राष्ट्रसंघ हातेमोलो गर्न सधैं तयार छ ।‘ विज्ञप्तिमा संवेदनशील समयमा मुलुकको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीलाई सफलताको शुभकामना व्यक्त गरिएको छ ।
भारतले कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको स्वागत गरेको छ । विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा शुक्रबार गठन भएको सरकारले शान्ति र स्थिरतालाई बढावा दिन मद्दत गर्ने आशा व्यक्त गरिएको छ ।
‘नेपालमा सम्माननीय श्रीमती सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ‘यसले शान्ति र स्थिरतालाई बढावा दिन मद्दत गर्नेमा हामी आशावादी छौं ।’ नजिकको छिमेकी, लोकतन्त्रका साथी र दीर्घकालीन विकास साझेदारका रूपमा कल्याण र समृद्धिका लागि नेपालसँग नजिकबाट काम जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, बेलायतले जवाफदेहिता तथा समावेशी शासनप्रतिको नेपाली आकांक्षालाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । काठमाडौंस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा कार्कीको नियुक्तिका सन्दर्भमा भनिएको छ, ‘गत साता दुःखद् रूपमा मानव जीवनको क्षति, घाइते र सम्पत्तिको नोक्सानी हुने गरी भएको घटनापछिको यो एउटा महत्त्वपूर्ण कदम हो ।’
बेलायतको विज्ञप्तिमा भने प्रधानमन्त्री कार्कीलाई बधाई वा स्वागतको शब्द प्रयोग गरिएको छैन । नेपालको सबैभन्दा पुराना मित्रका रूपमा बेलायतले नेपालको आगामी चुनौतीहरूलाई बुझेको मात्र उल्लेख गरिएको छ । विज्ञप्तिमा जवाफदेहिता तथा समावेशी शासनप्रति नेपाली आकांक्षालाई समर्थन जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
अर्को मित्र राष्ट्र जापानले पनि कार्कीको नियुत्तिलाई स्वागत गरेको छ । नेपालमा सक्दो छिटो शान्तिपूर्ण लोकतान्त्रिक रूपान्तरण हुने आशा व्यक्त गर्दै जापानले राष्ट्रपति पौडेलले सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेकामा स्वागत गरेको हो । ‘यो रूपान्तरणतर्फको एक महत्त्वपूर्ण कदम हो,’ काठमाडौंस्थित जापानी दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जापान सरकारले नेपालको विकास र समृद्धिका लागि आफ्नो समर्थन निरन्तर जारी राख्नेछ ।’
प्रतिकृया दिनुहोस