पुराना दललाई जेनजी आन्दोलनकाे सवकः 'नेतृत्व परिवर्तन गर'
2025-09-14-07-19-31.jpeg)
काठमाडौं । १३ वर्षदेखि २८ वर्ष मुनिका युवाहरुले सुरु गरेको आन्दोलनले २७ घण्टाभित्र नेपाली राजनीतिमा उथपपुथल ल्याएपछि त्यसको प्रभाव पर्न थालेको छ ।
नेपोटिजम, भ्रष्टाचार र राजनीतिमा युवाहरुको प्रभावबारे अब पुरानै राजनीतिक दलमा पनि बहस सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी भित्र हाल वाहाल रहेका नेताहरुको विकल्पमा युवा पुस्ताबाट नयाँ नेता मूल नेतृत्वमा पुग्नुपर्ने बहस सुरु भएको हो ।
कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक रुपमा अपिल नै गरिसकेका छन् । एमालेमा योगेश भट्टराईले ओलीको विकल्पको कुरा गर्न थालेका छन् भने उषाकिरण तिम्सिना लगाएतले यस अघि नै यसबारे चर्को स्वरमा बोलिसकेका थिए ।
माओवादी केन्द्रमा ठूलो संख्यामा नेताहरुले अव विकल्पमा जानुपर्ने र वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतलगायतहरु अघि सर्नुपर्ने बताउन थालेका छन् । एकीकृत समाजवादीमा माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दा लागेदेखिनै रामकुमारी झाँक्री लगायतले हटाउन माग गरेका थिए भने घनश्याम भुसालले महाधिवेशनमा अध्यक्षमा नेपाल विरुद्ध चुनाव नै लड्ने तयारी गरेका थिए ।
यो युवा पुस्ताको आन्दोलनले राजनीतिक दलहरुमा पनि युवाकरण गर्नुपर्ने माग प्रखर बनेर आएको छ । समकालिन नेताहरुले नेतृत्व गरेको सरकारलाई नयाँ पुस्ताको आन्दोलनले विस्थापन गरेकाले पनि पुराना दलमा नेतृत्व परिवर्तन अपरिहार्य देखिएको हो ।
यदि पुराना दलहरुले युवाहरुलाई अब पनि अघि नसार्ने हो भने यी दलहरुलाई अब ६ महिनापछि हुने चुनावले सवक सिकाउने कतिपय राजनीतिक विष्लेशकहरु टिप्पणी गर्दछन् ।
नेपालमा सफल भएको जेनजीको यो आन्दोलनले छिमेकी देशहरु भारत, पाकिस्तानलगायत विश्वभर सन्देश दिएको भारतीय मिडियाले टिप्पणीसमेत गरिसकेका छन् । जेनजीहरुले नेपोटिजम र भ्रष्टाचारको मुद्दा उठाएर अभियान थालेका थिए भने सामाजिक सञ्जाल बन्दले उनीहरुको अभियानमा आगोमा घ्यू थपिदिएको थियो ।
प्रतिकृया दिनुहोस