प्रधानमन्त्री सुशीला कार्कीले भनिन्ः आगजनी र तोडफोड गर्नेलाई कारबाही हुन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भौतिक तथा मानवीय क्षति हुनुमा सुनियोजित षडयन्त्र भएको बताएकी छन्। आइतबार प्रधानमन्त्री कार्कीले पदभार सम्हालेपछि कर्मचारीहरूलाई सम्बोधन गर्दै आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित षडयन्त्र हुन सक्ने भन्दै छानविनका साथै कारवाही हुने धारणा राखिन् ।
प्रधानमन्त्री कार्कीले नेपालीहरूले नै देशका अत्यावश्यक भौतिक संरचना र मानवीय क्षति गरेका हुन् भने तिनीहरूलाई नेपाली भन्न नहुने बताइन्।उनले भनिन्,' नेपालीले नै हत्या हिंसा गरेको भए उनीहरूलाई अब किन नेपाली भन्ने ?,हत्या हिंसामा संलग्नहरूमाथि छानविन हुन्छ। कडा कारवाही हुन्छ।'
सरकारी तथा निजी सम्पत्ति तोडफोड तथा आगजनी गर्नेहरू पत्ता लगाइ कारवाही गर्ने उनको भनाइ छ। उनले भनिन्,' म त्यसै प्रधानमन्त्री भएको होइन। सडकबाट जिम्मेवारी लिइदेउ भन्ने आवाज उठेपछि प्रधानमन्त्री बनेको हुँ। अपरिहार्य संस्थामाथि प्रहार गर्नेहरूलाई छोडिदैन।'
अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी नयाँ संसद् र सरकारलाई जिम्मेवारी सुम्पने बताइन्। प्रधानमन्त्री कार्कीले जेनजीआन्दोलनले सुम्पेको जिम्मेवारी अनुसार नै आफूले पद सम्हालेको उल्लेख गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी नयाँ संसद् र सरकारलाई जिम्मेवारी सुम्पने बताइन्। उनले सत्ताको रसास्वादन गर्न नभइ सडकबाट जताततै आवाज उठेका कारण प्रधानमन्त्री पदमा आउनुपरेको स्पष्ट पारिन्।
मुलुकका महत्वपूर्ण संरचनाका साथै व्यापारिक भवनमाथि भएको आगजनी लज्जास्पद भएको उनले बताइन् । प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै सरकारका तर्फबाट उचित राहत तथा अन्य सहयोग हुने जिकिर गरिन् ।
आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरूको पुनर्निर्माण आफ्नै तर्फबाट गर्न उनले सचिवहरूको ध्यानाकर्षण गराइन्।
कार्कीले सर्वोच्च अदालतलगायत सरकारी कार्यालयका आगजनी गर्ने अपराधीलाई नछाड्ने बताएकी छन्। उनले सर्वोच्च अदालत जलेर भष्म भएको र अपराधीले हामीमाथि गरेको चुनौती भएको बताइन्।
उनले भूकम्पपश्चात आफू न्यायाधीश हुँदा रेट्रोफिटिङ पश्चात बनाएको र प्रयोग नहुँदै ध्वस्त भएको उल्लेख गरिन्। उनले भनिन्, ‘सर्वोच्च अदालत जलेर भष्म भयो। अपराधीले हामीमाथि गरेको चुनौती हो। यो मुलुकको विरुद्ध गरेको चुनौती हो। जनतालाई साथमा लिएर हामी सबै मिलेर पुनर्निर्माण गर्नुपर्छ।’
सिंहदरबार, सर्वोच्च अदालत जल्दा महत्वपूर्ण कागजात जलेर नष्ट भएको भन्दै उनले चिन्ता व्यक्त गरिन्। भवन जल्नुभन्दा पनि महत्त्वपूर्ण कागजात जल्दा शून्य अवस्थामा पनि पुर्याएको बताइन्।
प्रतिकृया दिनुहोस