नेपालले श्रीलंकालाई हरायो, समिरले हाने २ गोल

काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । आजदेखि श्रीलङ्कामा सुरु भएको प्रतियोगितामा नेपालले आयोजक श्रीलंकालाई नै हराएर विजयी सुरुवात गरेको हो ।
नेपालका लागि दुवै गोल समिर कुमारले हानेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा समिर आकर्षक दुई गोल गरे ।
खेलको ५२ औँ मिनेटमा पेनाल्टी बक्स बाहिरको बायाँ कर्नरबाट प्रतिस थापा मगरले दिएको क्रसमा समिर कुमारले दायाँ तर्फको बक्स भित्रबाट हेडरमार्फत गोल गरे।
थप गरिएको समयमा समीर कुमारले व्यक्तिगत दोस्रो र नेपालका लागि पनि दोस्रो गोल गरे। उनले दुईजना डिफेन्डर र गोलकिपरलाई बिट गर्दै इन्जुरी समयमा गोल गरेका हुन्।
नेपाल समूह ‘ए’ मा रहेको छ। सो समूहमा नेपालसहित श्रीलङ्का र बङ्गलादेश पनि रहेका छन्। नेपालले तीन दिनपछि बङ्गलादेससँग खेल्ने छ।
नेपाली यु–१७ का प्रशिक्षक सञ्जित सिंहले टिम प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको बताएका छन्। यस प्रतियोगितामा विभाजित दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ। अर्को समूहमा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन्।
प्रशिक्षक सिंहले भारत र बङ्गलादेशको टिम राम्रो तयारीका साथ प्रतियोगितामा आएको जानकारी दिए।
प्रशिक्षक सिंहका अनुसार श्रीलङ्काले विदेशमा बस्ने छ खेलाडी टिममा राखेको छ। यसै गरी कप्तान प्रशान्त मोक्तानले तयारी राम्रो भएका बताएका छन्।
यस उमेर समूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन्। यद्यपि नेपालले चार संस्करणमा उपविजेता रहेको छ। सन् २०१३, २०१७, २०१९ र २०२२ मा नेपाल फाइनलमा पराजित भएको थियो।
पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग ४–२ ले पराजित भएको थियो। पछिल्लो संस्करणमा बङ्गलादेशलाई २–० ले हराएर भारत साफ यु–१७ च्याम्पियन बनेको थियो।
प्रतिकृया दिनुहोस