• २०८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025

अमेरिकाभित्र हुने रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिनेहरुलाई खुशीको खबर

अमेरिकाभित्र हुने रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिनेहरुलाई खुशीको खबर छ । अक्टोबरमा युएससीआइएसले ग्रिनकार्ड आवेदन आई ४८५ स्वीकार गर्नका लागि भिसा बुलेटिनको फाइलिङ मितिलाई नै प्रयोग गर्ने भएको छ । फेबु्रअरीदेखि युएससीआईएसले रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिनेहरुका लागि भिसा बुलेटिनको फाइनल एक्सन डेट प्रयोग गर्दै आएकोमा अक्टोबरमा फाइलिङ मिति प्रयोग गर्ने भएको हो ।

अब अमेरिकाभित्र हुनेहरुले रोजगारमा आधारित दोश्रो श्रेणीका सन्दर्भमा १५ जुलाई २०२४ भन्दा अगाडि आई १४० आवेदन दिएकाहरुले अक्टोबरमा ग्रिनकार्ड आवेदन फाइल गर्न पाउनेछन् भने तेश्रो श्रेणीका सन्दर्भमा अमेरिकाभित्र हुनेहरुले १ जुलाई २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरुले अक्टोबरमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् । तेश्रो श्रेणी अनस्कील्डका सन्दर्भमा भने यो मिति १ डिसेम्बर २०२१ रहेको छ ।

त्यस्तै रोजगारमा आधारित चौथो श्रेणीका ग्रिनकार्ड आवेदकका सन्दर्भमा यो मिति १५ फेब्रुअरी २०२१ रहेको छ । चौथो श्रेणीको धार्मिक कामदारका लागि अक्टोबरमा भिसा अनुपलब्ध रहेको छ भने पहिलो र पाँचौं श्रेणी करेन्ट रहेको छ । पहिलो श्रेणीमा अक्टोबरमा पनि आवेदकले आई १४० आवेदनका साथमा नै ग्रिनकार्ड आवेदन दिन पाउनेछन् ।

अमेरिकाभित्रै हुनेहरुले भिसा करेन्ट भइसकेपछि आई ४८५ फाइल गर्न पाएको खण्डमा सामान्यतया अध्यागमन स्टाटस जोगाउने झन्झट हुदैन । तर आई ४८५ अस्वीकृत भएमा भने कतिपयको सन्दर्भमा अन्य गैर आप्रवासी स्टाटस कायम नहुँदा देशनिकालाको प्रकृयामा पर्नसक्ने भएकाले आफ्नो आवेदनबारे निर्णय गर्नु अगाढि लाइसेन्सप्राप्त कानुन व्यवसायीको सल्लाह लिनु आवश्यक छ ।

सेप्टेम्बरमा विदेश मन्त्रालयले रोजगारमा आधारित पहिलो र दोस्रो श्रेणीका लागि उपलब्ध सबै आप्रवासी भिसाहरू जारी गरेको बताएपछि विश्वभरका अमेरिकी दूतावास र कन्सुलर कार्यालयहरूले तत्काल यी भिसा जारी गर्न बन्द गरेपनि अब अक्टोबरदेखि भने पुनः यी दुबै श्रेणीमा भिसा जारी हुन थाल्नेछ ।

चौथो श्रेणीको विशेष आप्रवासीहरूका लागि ग्रीनकार्डको वार्षिक सीमा चालु आर्थिक वर्षको पाँच महिनाभित्रै पुगेको थियो । अब अक्टोबरदेखि यो श्रेणी पनि उपलब्ध हुने भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर