ओलीको हठ उस्तैः 'पुरानै फर्ममा' पार्टीमा सक्रिय हुने तयारी

काठमाडौं । जेनजी आन्दोलन र यसले निम्त्याएको विध्वंसको प्रमुख कारण धेरैले एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई मानेका छन् ।
तर एमालेका पनि ओली पक्षधर तथा उनका अन्धसमर्थकहरु त्यो मान्न तयार छैन । ओली आफैंले त आफ्नो गल्ति स्वीकार गरेको अहिलेसम्म सुनिएको छैन ।
चुनावमा उनी पराजित हुँदा समेत जनताले गल्ति गरे, अर्को पटक सच्याउँछन् भनेर टिप्पणी गर्ने उनी अहिलेको अवस्थाको जिम्मेवारी लिने मनस्थितिमा छैनन् ।
अझ उनी त एमालेको पूर्ववत जिम्मेवारीमा फर्कने तयारीमा रहेको सो पार्टीका नेताहरु बताउँछन् । त्यसै भएर हुनुपर्छ एमाले महासचिव शंकर पोखरेलले यसअघि नै अध्यक्ष ओलीको आलोचना नगर्ने निर्देशन नै जारी गरिसकेका थिए ।
जेनजी आन्दोलनका कारण राजीनामा दिएर उनी बालुवाटारबाटै हेलिकप्टर चढेर भाग्नु परेकाे थियाे । नेपाली सेनाको शीवपुरी ब्यारेकमा रहेका उनी अन्य सबै नेता फर्कँदा पनि फर्किएका छैनन् ।
तर अब उनी सुरक्षामा रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चाँडै बाहिर निस्किने तयारीमा रहेकाे बताइन्छ । बालकोटस्थित ओलीको निजी निवास आन्दोलनमा ध्वस्त भएकाले उनका लागि अस्थायी बसोबास (डेरा) को खोजी भइरहेको छ ।
एमाले स्रोतले अध्यक्ष ओली बसोबास प्रबन्ध मिलाएर ३-४ दिनभित्र सार्वजनिक हुनसक्ने बतायो ।
जेनजी आन्दोलनले देशमा राजनीतिक उथपुथल ल्याएपश्चात एमाले पंतिमा पार्टी पुनर्गठनको बहस छ । तर, नेतृत्व तहमा भने अहिलेसम्म त्यस्को संकेत देखिएको छैन ।
ओलीको अनुपस्थितिमा एमालेको कुनै औपचारिक बैठक पनि बसेको छैन । ओलीले आफू बाहिर आएपश्चात मात्रै बैठक बस्ने सन्देश नेताहरुलाई पठाएका छन् । अध्यक्ष पद त्याग्ने कुनै पनि संकेत उनले नगरेको स्रोतको भनाइ छ ।
जेनजी आन्दोलनमा प्रदर्शनकारीको सबैभन्दा बढी तारो एमाले बनेको थियो । एमालेका कार्यालयदेखि सयौं नेताहरूका निवासमा तोडफोड र आगजनी भएका छन् । बालकोटस्थित ओलीको निजी निवास पूर्णरूपमा खण्डहर बनेको छ ।
प्रतिकृया दिनुहोस