मतदाता नामावलीमा नाम छ ? छैन भने दर्ता गराउने समय आउँदैछ

काठमाडाैं । सरकारले अध्यादेशमार्फत् फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावली संकलनको गाँठो फुकाउने भएको छ।
मतदाता नामावली ऐनले निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न प्रतिबन्ध लगाएको छ।
सरकारले सो कानुनमा भएको व्यवस्थालाई अध्यादेश मार्फत् हटाएर केही समय मतदाता नामावली संकलनका लागि समय छुट्याउन लागेको हो।
आयोगले मतदाता नामावली संकलनका लागि कानुनी अप्ठ्यारो रहेको गृहमन्त्री ओमप्रकाश अर्याललाई जानकारी दिइसकेको छ।
गृहमन्त्री अर्यालले आयोगका आयुक्तहरूसँगको भेटमा नामावली संकलनका लागि अप्ठ्यारो फुकाउने बताइसकेका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले गृहमन्त्री अर्यालसँग आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी सहित भेटवार्ता भएको सेतोपाटीलाई बताए।
‘तोकेको समयमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगबाट निर्वाचन गर्नेमा आयोग र मन्त्रालयको धारणा समान रह्यो,’ भट्टराईले भने, ‘निर्वाचन प्रभावकारी बनाउन मतदाता नामावलीमा नाम थप्न कानुनमा सुधार गर्न आवश्यक छ भन्ने विषयमा पनि छलफल भयो।’
आयोगले नयाँ मतदाताको नाम संकलन गर्न खासै व्यवस्थापिका अप्ठ्यारो नभएकाले समय दिए फरक नपर्ने जबाफ गृहमन्त्रीलाई दिएको छ।
उनले विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिने विषयमा पनि छलफल भएको बताए। तर त्यसका लागि थप गृहकार्य आवश्यक रहेको आयोगले जनाएको छ।
‘मन्त्रीले निर्वाचन स्वतन्त्र र भयरहित वातावरण गराउन सबै प्रकारको सहयोग उपलब्ध गराउँछ भनेर मन्त्रीज्यूले भन्नुभयो,’ प्रवक्ता भट्टराईले भने, ‘आयोगले तोकिएको समयमा निर्वाचन गराउन सक्षम र प्रतिबद्ध रहेको बतायौँ। त्यसका लागि सबै राजनीतिक दल र सरोकारवाला सबैसँग समन्वय, परामर्श र छलफल गरेर निष्कर्षमा पुग्छौँ भन्यौँ।’
प्रतिकृया दिनुहोस