• २०८२ असोज ४ शनिबार
  • Saturday, 20 September, 2025

नेतृत्व फेर्ने गगन र विश्वप्रकाशको प्रस्तावले पाएन साथ  

काठमाडौँ । नेतृत्व परिवर्तनकाे चर्काे स्वर गरिरहेका नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राखेको पार्टीको विशेष महाधिवेशन गर्ने प्रस्ताव अल्पमतमा परेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने प्रस्ताव राखे पनि त्यसमा कसैले समर्थन जनाएनन् ।

बैठकमा थापा र शर्माले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको व्यवस्थापनका लागि र युवा पुस्ताको भावना सम्मान गर्न नेपाली कांग्रेसले तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए । 

‘विधानले केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा, निवेदन परेको ३ महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था गरेको छ। अहिलेको विशेष परिस्थितिमा पार्टीको केन्द्रीय कार्यसमितिले नै आवश्यक निर्णय गरेर तत्काल विशेष महाधिवेशन गरौं र नयाँ नेतृत्व चयन गरौं।’

महामन्त्री थापाले तत्काल पार्टी पुनर्गठनका लागि यी दुईभन्दा अर्को विकल्प नभएको कुरा पनि राखेका थिए। ‘यसरी आउने नेतृत्वले मात्र अहिलेको अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न सक्छ,’ उनले भने, ‘यसका लागि सबै तयार होऔं, अब बस्ने केन्द्रीय समितिको बैठकले यो विषयमा निर्णय गर्नैपर्छ।’

महामन्त्री थापाले सभापति शेरबहादुर देउवा अनुपस्थित बैठकमा यस्ता कुरा राख्न उपयुक्त नभए पनि राख्नै पर्ने स्थितिसमेत दर्शाएका थिए।

भदौ २४ गते जेनजी पुस्ता आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सानेपास्थित केन्द्रीय कार्यालय, सभापति शेरबहादुर देउवाको घरलगायत नेताहरूका घरमा आगजनी गरेका थिए। प्रदर्शनकारीहरूको आक्रमणबाट सभापति देउवा घाइते छन् भने टाउकोमा १२ वटा टाँका लगाइएको छ। देउवा पत्नी आरजु पनि घाइते छिन्। उनीहरूको सैनिक अस्पतालमा उपचार भइरहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

पार्टी यतिबेला चुनौतीपूर्ण अवस्थामा रहेको र सभापति देउवा दम्पती घाइते रहेको अवस्थामा विशेष महाधिवेशनका कुरा गर्न नहुने देउवा पक्षका नेताहरूको भनाइ थियो। बरू प्रतिनिधि सभा विघटन भएकोले त्यसको डटेर विरोध गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।

कार्यसम्पादन समिति बैठकमा २० नेताले धारणा राखेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । कार्यसम्पादन समितिका एक सदस्य अनुसार बैठकमा बोल्ने २० मध्ये १८ जनाले थापा र शर्माको प्रस्तावमा समर्थन जनाएनन् । बरु महामन्त्रीद्वयको प्रस्तावमाथि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले प्रतिवाद गरेका थिए । 

बैठकमा सिटौलाले विषम् परिस्थितिमा पार्टीलाई कसरी एकताबद्ध बनाएर अगाडि बढ्ने, आत्मबल कमजोर भएका कार्यकर्ताको मनोबल कसरी उच्च बनाउने भन्नेतर्फ लाग्न छोडेर नेतृत्व परिवर्तनतर्फ लाग्न नहुनेमा तर्क गरेका थिए । 

उनले संसद् विघटन संविधान अनुसार नभएको जिकिर गर्दै संसद् विघटनलाई पार्टीले असंवैधानिक भनिसकेपछि संसद् पुनर्स्थापना प्रमुख माग हुनुपर्ने धारणा राखे ।

बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विशेष महाधिवेशन र नेतृत्व परिवर्तनका विषयमा पार्टीले कुनै निर्णय नगरेको प्रस्ट पारे । विशेष महाधिवेशन र नेतृत्व परिवर्तनबारे कसैका ‘निजी धारणा’ आएका हुनसक्ने उनको भनाइ थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर