पुरानै रवाफसहित मैदान फर्किए दल, देखिएन बदलिने संकेत

काठमाडौं । जेनजी आन्दोलनले एक किसिमको सत्तापलट भएको दुई साता पनि नबित्दै राजनीतिक दलहरू रवाफसहित बाहिर निस्किएका छन् ।
गत २३ र २४ भदौको आन्दोलनपछि आफ्ना कार्यालय तथा घर छाडेर निस्किएका प्रायः सबै दलका नेता संविधान दिवसको दिनसम्ममा सामाजिक सञ्जाल तथा भौतिक रूपमा आफ्नो कार्यक्षेत्र फर्किएका छन् । संसद् विघटन र अन्तरिम सरकार गठन भई नयाँ निर्वाचनको मिति घोषणा भएका बेला दलहरूले जेनजी आन्दोलनको अर्थ नभएको भन्दै पुरानै रवाफमा फर्किएका छन् ।
आन्दोलनमा जीवन गुमाएकाहरूको क्रियाकर्मसम्म नसकिएको र घाइतेहरू अस्पतालमै रहिरहेका बेला जेनजी आन्दोलनको भावनामाथि आक्रमण गर्दै प्रस्तुत भएका नेताहरूले पुनः शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’हरूको नाममा देवत्वकरण गर्दै आन्दोलन हुनुले झन् चिन्ता बढेको प्रतिक्रिया दिएका छन् ।
आन्दोलनको प्रभावस्वरूप प्रधानमन्त्रीबाट राजनीनामा गरी सेनाको हेलिकोप्टरबाट उद्धार भई शिवपुरीस्थित ब्यारेकमा सुरक्षामा रहेका केपी शर्मा ओलीले शुक्रबार विज्ञप्ती निकालेर आफूमाथि नियोजित आक्रमण भएको आन्दोलनमा घुसपैठ भएको सम्म भन्न भ्याएका छन् भने जेनजीको भावना आफूहरूले बुझ्नुपर्नेमा बुझ्न नसकेको स्वीकारभावसमेत देखाएका छैनन् ।
जेनजी पुस्तालाई राजनीति वा उनीहरूको विज्ञता र क्षमतामा विवेकपूर्ण र समानतापूर्वक स्थान दिने एजेन्डा उठाएका जेनजीलाई आफूहरूको एजेन्डागत समर्थन रहेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने आफूहरूले उठाएका मागहरू बेलामा सुनुवाइ नभएका कारण जेनजीले विद्रोह गरेकासम्म भन्न भ्याएका छन् । शुक्रबार पेरिसडाँडामा आयोजित कार्यक्रममा संविधान निर्माण हुँदा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था राखिएको भए यो विद्रोह नहुने बताएका छन् ।
आन्दोलनमा सबैभन्दा धेरै निसानामा परेका एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति देउवासहित दलका नेताहरूले संविधान दिवसको दिन वक्तव्य जारी गरेर संविधान रक्षाका लागि आफूहरू लडेको इतिहास स्मरण गराएका छन् । संविधानको रक्षाका लागि आफूहरू निरन्तर लड्ने सन्देश दिएका उनीहरूले जेनजीका मागहरूलाई सम्बोधन हुनेगरी आफूहरू नेतृत्व हस्तान्तरणका लागि तयार भएको सन्देश भने दिएनन् । उनीहरूले वक्तव्य तथा सन्देशमार्फत जेनजी युवालाई उनीहरूको मागअनुसारको अवसरमा समानता सुनिश्चित गर्ने कुरा पनि सम्बोधन गरेनन् । यतिसम्म कि जेनजी आन्दोलनपछि पार्टीभित्र पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको विषयमा बोलेका नेताहरूलाई न कुनै सम्बोधनका लागि स्पेस दिए न उनीहरूप्रति सकारात्मक व्यवहार नै ।
निसानामा जेनजी पक्षधर नेता
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पहिलो पुस्ताका नेताहरूको निसानामा जेनजी पक्षधर नेताहरू पर्ने देखिएको छ । मूल नेतृत्वलाई संकटको घडीमा साथ दिन छोडेर आन्दोलनकारी भड्काउन लागेको भन्दै मूल नेतृत्व र आसपासका नेताहरूले जेनजी पक्षधर नेताहरूका विरुद्धमा पार्टीभित्र माहोल बनाइरहेका छन् ।
जेनजी विद्रोहपछि मूल नेतृत्वको बचाउमा उभिएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवाले राजीनामा दिने सम्भावनालाई इनकार गरेका छन् ।
यस्तै, नेकपा एमालेका अध्यक्ष ओलीको विकल्पमा बोल्दै आएका ईश्वर पोखरेलले नै संकटका बेलामा पार्टीभित्र विग्रह आउन नदिने तर कमजोरीहरू सच्याइने बताएका छन् । पोखरेलले भाषण गर्ने त्यो प्लेटफर्म तयार पार्ने एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत ओली पक्षधर नेताहरूले ओलीको विकल्प नखोजिने बताएका छन् ।
एमालेले सचिवालय बैठक बसेर नै पार्टीको दोस्रो र तेस्रो तहका नेताहरूलाई ओलीविरुद्धको आक्रमणमा प्रतिवाद गर्ने जिम्मेवारीसहित खटाउँदै छ । यसरी कांग्रेस र एमालेभित्र दोस्रो र तेस्रो पुस्ताका नेताहरूलाई जेनजी भावना सम्बोधन गर्नेतिर नभएर मूल नेतृत्वको रक्षाका लागि भाषण गर्ने जिम्मेवारी थपिँदै छ । एक जना एमाले पदाधिकारीले दाबी गरे अब तत्काल त झन् असम्भव भयो नेतृत्व हस्तान्तरण ।
नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा, सुदन किरातीहरू, लेखनाथ न्यौपानेहरूले जेनजी भावनालाई सुन्नुपर्ने बताइरहेका बेलामा अध्यक्ष प्रचण्डले जेनजी र पुराना दल दुवैतिर मिल्नेगरी संविधान दिवसकै दिन सम्बोधन गरिसकेका छन् ।
जेनजी युवाले उठाएका माग आफूले २०७२ सालको संविधान जारी गर्ने बेलामै उठाएको उनले बताएका छन् भने दलहरूलाई यो संविधान अन्तिम समयमा सेना र राष्ट्रपतिसँगको वार्तामा आफू सहभागी भएरै जोगाएको बताएका छन् ।
प्रचण्डले यस संकटको अवस्था पार लगाएर नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गर्ने बताएका छन् भने माओवादीभित्र पनि जेनजी पक्षधर नेताहरू मूल नेतृत्वको तारो हुनुपर्ने देखिएको छ ।
नेकपा एकीकृत समाजवादीमा महासचिव घनश्याम भुसालले पार्टी र आन्दोलन पुनर्गठनको माग गरी बहस सुुरु गरिरहेका बेला अध्यक्ष माधवकुमार नेपाल समूहका सबै पुस्ताको एउटै स्वर बनाएर भुसालविरुद्ध सामाजिक सञ्जालमा आक्रमण सुरु भएको छ ।
अप्ठेरोमा पुस्तान्तरण पक्षधर नेता
जेनजी आन्दोलनलगत्तै आफ्ना कार्यालय आक्रमण, नेताहरू विस्थापित र सार्वजनिक सम्पत्ति तहसनहस भएका बेला जेनजीका मागप्रति सहमति जनाएर भिडियो सन्देश दिएका नेताहरू अप्ठेरोमा परेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, नेकपा एमालेका सचिव योगेश भट्टराई, एकीकृत समाजवादीका घनश्याम भुसाल, रामकुमारी झाँक्री र प्रकाश ज्वाला तथा माओवादीका जनार्दन शर्मा, अमनलाल मोदी, लेखनाथ न्यौपानेलगायतका नेताहरू अप्ठेरोमा परेका छन् ।
तत्काल यो नेतृत्व लिएर निर्वाचनमा जान सकिँदैन भन्ने निष्कर्ष नै सुनाइसकेका नेताहरूले पार्टीभित्र बहस गरेर बिदा गर्ने वा आफू बिदा हुने भन्ने संकटमा छन् । एजेन्डामा आत्मसमर्पण गरी पुरानै नेताहरू बोकेर हिँड्नुपर्ने अवस्था त पार्टी त्यागेसरह नै हुने नेताहरूको बुझाइ छ । राजधानी दैनिकबाट
प्रतिकृया दिनुहोस