दशैंको मिथक र यथार्थबीच घोत्लिएको मन

“दशैं हिन्दुहरुको महान चाड हो ।” एकथरी मानिसहरु तर्क वितर्क गर्छन् ।
“हैन, दशैं किराँतहरुको पनि चाड हो” अर्कोतिर आवाज आउँछ ।
“दशैं त बहिस्कार नै गर्नुपर्छ ।” फेरि पनि चर्को स्वर सुनिन्छ ।
दशैंका बारेमा बहस र तर्कवितर्क चल्न थालेको दशकौं दशक भइसक्यो । जब दशैं नजिक आउँछ, पत्रिकाहरुमा यस्ता बहस चर्किन्छन् । आजकल त अनलाइन पत्रिकाहरुमा आ–आफ्ना विश्लेषणहरु खुब देखिन्छन् । यही विश्लेषणहरुकै भिंडमा मलाई पनि केही तर्कहरु सोझ्याउन मन लागेको छ ।
दशैं पर्वका बारेमा म अलि घोत्लिएर सोच्छु । दशैं प्रकृतिसँग जोडिएर आएको पर्व नै रहेछ । श्रावण महिनादेखि नै हरियो रङ्गको पहिरनमा महिलाहरु रमाएका दिनहरु हेर्दा हेर्दै निधारमा चामलको अक्षता, हरियो जमराको प्रयोग गर्ने दिन पनि नजिकै आइहाल्दो रहेछ । असार÷श्रावणको रोपाईँपछि हरियो बाला झुलेको मौसम, बालाको बीज लागेपछि खुसियालीको मौसम । मेरो मनमा अलि फरक तर्कहरु चल्न थालेका छन् । दशैं त खेतीपातीमा संलग्न मानिसहरुले आफ्नो श्रमको फल प्राप्त गर्न लागेको खुसियालीमा मनाइएको पर्व पो रहेछ । न त्यति जाडो, न त्यति गर्मी । ठिक्कको मौसम । मौसम पनि गतिलो अनि श्रमको उपज पनि गतिलो । आखिर दशैंको यति साह्रो खुसियाली त्यत्तिकै आएको हैन रहेछ । अब म निक्र्यौलमा पुग्छु, दशैं त किसानहरुले बगाएको पसिनाको प्रतिफल रहेछ । दशैं खेतीसँग जोडिएका जमिन्दारहरुको पनि खुसीको पर्व रहेछ । किसानलाई थोरै दिएर आफूले धेरै लिए पनि दशैं त खेती र पशुपालन सम्बद्ध दुइवटै वर्गका मानिसहरुले मान्ने पर्व बनेर आएको रहेछ । दशैं त हाम्रो देशभित्रका आर्य र अनार्य सबैको साझा पर्व रहेछ । नेपाल एकीकरण भन्दा अघिदेखि सेतो चामलको अक्षता लगाएर राई, लिम्बुहरुले पनि मनाउने पर्व रहेछ– दशैं । रातो चामल पारेर अक्षता लगाउने चलन त हिन्दु मान्यताभित्रको बलि प्रथा मान्नेहरुले चलाएको चलन पो रहेछ । अर्थात समग्रमा दशैं अन्न, दुध, दही, केराहरुको उपभोग गर्दै रमाउने पर्व रहेछ ।
फेरि मेरो मनमा अर्को कुराले प्रश्न गर्छ, “रामले रावणलाई मारेपछि खुसियालीमा दशैं मनाइएको भन्ने पनि ठूलो तर्क छ नि ?”
अवश्य, कयौं बर्षदेखि राम र रावणको मिथकलाई आधार बनाएर दशैं मनाउने गरिएछ । रामले युद्ध जिते, उनको प्रसंशामा ‘रामायण’ लेखियो । उनको विजय उत्सवमा विजया दशमी मनाइयो । ‘मपाईँत्व’ हावि भएका कारण पो रामायण लेखाइएको त हैन ? आखिर वाल्मिकी त रामकै समकालिन प्रशंसक नै थिए ।
एकछिन पछि मेरो मथिङ्गलले हास्यव्यंग्य निवन्धकार भैरव अर्याललाई कोट्याउन पुग्छ । यदि राम–रावण युद्धमा रावणले जितेको भए पक्कै पनि ‘रावणायण’ लेखिन्थ्यो होला । सकारात्मक इतिहास त जिल्ने पक्ष कै लेखिने भयो नि ! नत्र क्षत्रीय रामले ब्राह्मण रावणलाई जित्दा ब्राह्मणहरुमा नै खुसियालीको रौनक देखिएको किन ? सुनको लंका बनाउने रावण देशभक्त नै रहेछन्, शत्रुलाई आफ्नो देशको गोपनियता बुुझाउने विभिषणप्रति गुणगान किन ?
जे होस, मलाई त राम र रावण एउटै वर्ग चरित्र भएका पात्रहरु लाग्छन् । राम पनि दरबारका राजकुमार अनि रावण पनि दरबारकै राजा । रामले बनबास जाँदा धेरै भुइँमान्छेहरुको संगत गरे अनि अलि लोकप्रिय भए । एकजना राजकुमारले भुइँमान्छेहरुसँग दुई शब्द बोल्दा पनि भुइँमान्छेहरुमा ऊप्रतिको श्रद्धा जाग्दो रहेछ । उपासनावादले जन्माएको चेतनास्तर थियो यो । म अहिलेको अवस्थासँग तुलना गरेर हेर्न खोज्छु, आफ्नो वंश नै हत्या गरेको आरोपमा जनताबाट दुत्कारिएको र जनताबाटै गलहत्याइएको एकसमयका शाह राजाले सडकमा आएर हात हल्लाउँदैमा कतिपय दास मानसिकता भएका मानिसहरुको हृदय पग्लिएको त देखिएकै छ नि ! बुवाको आदेश पालन गर्न भन्दै जंगल लागेका राजकुमारप्रति त्यसबेलाका रैती मनोबृत्ति बनाइएका मानिसहरुबाट श्रद्धा भाव झल्कनु स्वभाविक नै हुँदोरहेछ ।
फेरि मर्यादा पुरुषोत्तम भनिएका रामले वैदिक मन्त्र पढेको निहुँमा दलित शंबुकलाई मारेको घट्ना मनमा आउँदा उनलाई दलित आँखाबाट कुन छवीमा देख्ने भन्ने प्रश्न पनि मेरो चक्षु अगाडि तेर्सिने गर्छ । कुनै धोबीले ‘अर्काले हरेकी स्वास्नी राख्ने हुतिहारा !’ भन्यो भन्दैमा जंगलयात्रामा समेत साथ दिने पत्नी सीतालाई त्याग्ने मानिस मर्यादा पुरुष पो कसरी भए ? मेरो गिदीभित्र विद्युतीय झस्का हान्छ बेलाबेलामा । राजा, अझ कथित विष्णुका अवतारले त अज्ञानी धोबीलाई सम्झाउन सक्नु पर्ने हो तर सँस्कार र संस्कृति नै नारी दमनकारी भएपछि सम्झाउने पो कसले !
एकैछिन पछि मेरो भावना सीता बनेर आउँछ । आफूसँग छुट्टिएर बसेको रामले अग्नि परीक्षा दिनु नपर्ने तर सीताले चैं अग्नि परीक्षा दिनु पर्ने । कति ठूलो विभेद रामराज्यको ! अग्नि परीक्षामा सफल भएपछि पनि पटकपटक मानसिक यातना भोग्नु कथित नारी सहनशीलता रे ! लव र कुस आफ्ना पुत्रहरु हुन् कि हैनन् भन्ने थाहा पाउन रामले सीताको पुनः चरित्र सफाइ लिन खोजेकै हुन् क्यारे ! आखिर चरित्रहत्याको दाग सहन नसकेर सीताले आत्महत्या गरेकी हुन् भन्ने लाग्छ मलाई । मेरो मनले गम्ने गरेको छ, कतै रामले प्रतिष्ठाका लागि मात्र सीतालाई फिर्ता ल्याएका त हैनन् ? प्रेम हुन्थ्यो भने बनबास पठाउने, घरिघरि चरित्रको सफाइ खोज्ने किन गर्थे होलान् ? यदि रामले जस्तै गरी कपट राखेर सीताले रावणसँँग मेलमिलाप गरेकी भए रामको के हालत हुँदो हो ? कठै !
आखिर राम र रावणमा अन्तर नै पो के रहेछ । बहिनी सुपर्णखाको बेइज्जतको बदला लिन रावणले योजना बुने । रावणलाई लाग्यो कि सीता हरण गर्न सके, एउटी स्त्रीको रक्षा गर्न नसक्ने भनेर लोकमा रामलाई बद्नाम गर्न पाइन्थ्यो । रामलाई पनि लाग्यो कि सीताको रक्षा गर्न नसके, लोकमा आफ्नो इज्जत जाने भयो । बस्, युद्ध त त्यति कारणले रहेछ, अर्थात भैरव अर्यालले भने झैं ‘मपाईँत्व’ को दम्भ ।
यसकारण एउटा राजा रावणको हार र अर्को राजा रामको विजयमा दशैं मनाउने कुराप्रति मेरो मन आकर्षित नै हुन सकेन । दशैंको यो सारभित्र श्रम गर्ने जनताको विषयवस्तु त कहीँ कतै देखिन्न ।
अब फेरि अर्को प्रसंग आउँछ । बास्तविक दशैं त देवी दुर्गाले महिषाशुरलाई मारेको खुसियालीमा पो मनाइएको हो ।
मेरो मस्तिष्कका अवयवहरु फेरि उथलपुथल हुन थाल्छन् । देवी को हुन ?
घटना बृतान्त हेर्दा, देवाशुर संग्राम त दासप्रथाको अन्त्यतिरको र सामन्तवादी युगको शुरु हुन लागेको सामाजिक अवस्थाको कथा रहेछ । मालिक वर्गको आन, बान, शान बोकेका दानवहरु र उही चरित्रका देवताहरुबीचको अर्को ‘मपाईँत्व’ को रस्साकस्सी । कहिले देवता गणले राज्य विस्तार गरेका रहेछन् अनि कहिले दानव गणले ती राज्यहरु खोस्दै गएका रहेछन् । आखिर लडाईँ त राज्य विस्तारको रहेछ । दरबारको स्वार्थमा सयौं मानिसहरुको बलि चढाइएको रक्तमुछेल धर्तीमाथिको विजयोत्सव त रहेछ– दशैं ।
सानैदेखि बिराटनगरमा दशैंको बेला बनेका देवीका मुर्तिहरु देखेको हुँ । त्यतिबेला त त्यसै त्यसै रमाइलो लाग्थ्यो । अहिले टाउको कन्याएर बिचारिन्छु, देवीको खुट्टानिर पछारिएको दाह्रा र नंग्रा भएको त्यो कालो भुस्तिघ्रे त राक्षस हैन, एउटा दलित योद्धा रहेछ – एउटा भैंसीपालक अर्थात महिषाशुर ।
मैले भारतीय लेखक÷सम्पादक प्रमोद रन्जनले प्रकाशित गरेको पुस्तक ‘महिषाशुर ः एक जननायक’ पढें । वास्तवमा महिषासुर अरु दानव गणहरु जस्तो दरबारिया पात्र हैन रहेछन् । उनी त भैंसीपालन गर्ने त्यसबेलाको दास रहेछन् ।
दासप्रथाका विरुद्ध युद्ध छेड्ने स्पार्कटास् जस्तै उनी पूर्वीय द्विपतिरका दास विद्रोही रहेछन् । देवता गणका धेरै राज्यहरु खोस्दै जानेक्रममा आत्तिएका देवता गणले नारी सुन्दरताको उपयोग गरेर उनको हत्या गरेको रहेछ । अनि कालान्तरमा उसलाई विकृत पार्दै दाह्रा र नंग्रा भएको काल्पनिक चित्र हाम्रो मस्तिष्कभित्र हालिएछ । उसको छेउमा भैंसी पनि मरेको देखिन्छ, अर्थात ऊ भैंसीमाथि चढेर युद्ध गर्न आएको दलित गोठालो रहेछ । पुस्तक पढ्दा मैले थाहा पाएँ, बंगालतिर जहाँ देवीको मुर्ति बनाइन्छ, त्यहाँ वेश्यालयबाट अलिकति माटो ल्याएर मिसाउँने चलन रहेछ । यति उल्लेख गरिसकेपछि अब धेरै नबोल्नु नै काफी छ ।
अब मुर्तिको रङ्गरुपतिर जाऔं त ! एकातिर गोरो रङ्गको अनुहार, सुकिलो पहिरन, उत्तर भारततिरका ब्राह्मण÷क्षेत्रीको जस्तो रुप भएका देवी÷देवताहरु अनि अर्कोतिर कालो रङ्गको अनुहार, दक्षिण भारतीय रुप भएका दानवहरु । दरबारिया देवता गण र दरबारिया दानव गणको युद्धमा जसले जिते पनि श्रमजीवी वर्गलाई के अर्थ भयो र ! तर जब महिषासुर बधको कुरा आउँछ, तब त्यहाँ वर्ग संघर्षमा दरबारिया वर्गले श्रमजीवी वर्गलाई मारेर खुसियाली मनाएको प्रसंग जोडिन्छ ।
यति कुरा बुझेपछि मलाई महिषासुर बधमा खुसी मनाएर दशैं उत्सव गर्न कत्तिपनि जाँगर चल्दैन ।
अनि दशैं नै नमनाउँने त ? केही माक्र्सवादीहरुले तर्क गर्ने गर्छन कि एकखाले सम्भ्रान्त वर्गको जीतमा मनाइएको हुनाले दशैं बहिस्कार गर्नुपर्छ । तर म त्यस्तो मान्दिन । दशैं त किसानहरुको श्रमले मूर्तता पाएको अवसरमा शुरु गरिएको पर्व हो । कुनै धर्म विशेषले वा कुनै वर्ग विशेषले जनताको भावनासँग खेलबाड गरेर सामाजिक चलनलाई अपहरण गर्दैमा त्यसको मूल सार त मेटिने हैन । दशैं श्रमजीवीको पर्व हो, दशैं खेताला र पशुपालकको पर्व हो अनि दशैं सबै जातजातिका ती मानिसहरु जसले भुईँ खोस्रेर जिविका चलाउँछन्, उनीहरुको पर्व हो । मलाई त चिच्याउँन मन लाग्छ – दशैं दरबारिया मालिक र सामन्त वर्गको जीतमा हैन, गरीब श्रमजीवीको सानो सुखमा सुरु भएको पर्व हो ।
म सानो हुँदा मेरी आमा रुक्मिणा कट्टेल दाहालले भन्नुहुन्थ्यो, “छोरा, दशैं त पहिले पहिले चैत्रमा मनाइन्थ्यो रे । चैत्रको गर्मीमा मानिसहरु बिरामी हुन थालेको हुँदा असोज महिनातिर दशैंलाई सारिएको हो रे ।”
त्यतिबेला त आमाको कुरालाई सामान्य रुपमा लिएको थिएँ तर अहिले पो आमाको कुरालाई केलाएर हेर्ने गरेको छु । वास्तवमा पहिले पहिले राम नवमीको समयमै दशैं मनाइने रहेछ । अहिले पनि चैत्रे दशैं भन्ने गरिन्छ तर कुनै रौनक देखिन्न । चैत्रको दशैंमा मानिसहरुको उत्साह नदेखेपछि हिन्दुधर्मका मानिसहरुले रामको विजयोत्सवलाई कुन मौसममा सार्दा उचित होला भनेर विचार विमर्श गरेछन् । पुरानो समयमा अधिकांस मानिसहरु खेतीपातीमा संलग्न रहने हुँदा असोज महिनामा ती बहुसंख्यकहरुले खुसियाली मनाउँने गरेको कुरा वैदिक धर्मका मानिसहरुले थाहा पाए । त्यही समयलाई रामको विजयोत्सवका लागि उपयोग गर्ने सोचाइ उनीहरुले बनाए । राज्यसत्तामा ब्राह्मण÷क्षत्रीयहरुकै अधिपत्य थियो ।
असोजको खुसियाली पर्वलाई राज्यसत्ताको प्रयोग गरेर रामको विजयोत्सव, देवी दुर्गाको विजयोत्सव मनाउने व्यवस्था मिलाइएछ । मलाई लाग्छ, त्यो बेलाका श्रमजीवी वर्गमा वर्ग विश्लेषण गर्ने क्षमता थिएन, त्यसैले राज्यसत्ताले ठूलो खर्च गरेर तामझामका साथ मनाइएको दुर्गापूजा र रामको विजयोत्सवमा एकाकार हुने नै भए । यसरी दशैं पर्वलाई श्रमजीवीको पर्वबाट खोसेर सम्भ्रान्त वर्गको जीतको खुसियालीमा परिणत गराइएछ ।
यस अर्थमा, म दशैं मान्छु तर रामको र देवी दुर्गाको स्तुती गरेर हैन, तमाम् श्रमजीवीहरुको वास्तविक पर्वका रुपमा स्वीकार्छु । भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का दलित विद्यार्थीहरुले दशमीको दिनलाई महिषासुरको शहादत दिवशको रुपमा स्मरण गरेछन् । त्यसपछि दक्षिण भारततिर थोरै संख्यामा भएपनि त्यो दिनलाई सचेत दलित जनताले महिषासुर शहादत दिवसकै रुपमा स्मरण गर्ने गरेको समेत देखिएको छ ।
दशैंको लगत्तै अगाडि सोह्र श्राद्ध मनाउँने गरिन्छ । मलाई के लाग्छ भने, पहिले पहिले खेती किसानी गर्ने किसानहरुले थोरै भए पनि अन्न÷दुध पाएकोमा दशैंमा खुसी नै हुन्थे । जमिन्दारहरु पनि किसानको श्रमबाट बसीबसी अन्न पाएकोमा दशैंमा झन् खुसी हुन्थे । लुगा सिउने दमाई, आरन ठोक्ने कामी, जुत्ता बनाउने मोची सबैका लागि दशैंको अवसरमा केही न केही आम्दानीको स्रोत बढ्थ्यो । तर दशैंलाई असोजमा सारेका ब्राह्मणहरुलाई के गरी दशैं मनाउँने भन्ने फसाद् प¥यो । ब्राह्मणले हलो जोत्नु हुन्न भन्ने मान्यता उनीहरुले नै राखेका थिए । हलो नजोतिकन वा श्रम नगरिकन त आम्दानी गर्न सकिन्न । त्यसपछि उनीहरुको चतुर बुद्धिले सोह्र श्राद्ध गर्ने चलन चलाए । बर्षमा एकपटक किर्तिशेष प्राप्त मातापिताको श्राद्ध गर्ने चलन हुँदा हुँदै दशैंको मुखमा अर्को सोह्र श्राद्ध चलाउनु भनेको दशैं खर्च उठाउने ब्राह्मणहरुको योजना नै हो ।
दशैं मान्नै पर्छ भनेर कसैलाई दबाव दिनु हुँदैन भन्ने मेरो मान्यता हो । हिन्दु धार्मिक परिवेशमा जन्म लिएको भए पनि दशैं नमान्न सकिन्छ । दशैंलाई खेताला दिवसका रुपमा खुसियाली बाँड्न सकिन्छ, टीका लगाउन सकिन्छ । जसरी दशैंलाई अपहरण गरियो, त्यसै गरी दशैंलाई श्रमजीवीका पक्षमा रुपान्तरण पनि गर्न सकिन्छ । चलेको चलनलाई निषेध गर्दा आफू नै जनताका बीचमा निषेधमा पर्ने कुराप्रति हेक्का राख्नुपर्छ भन्ने लाग्छ मलाई त ।
अहिलेको सूचना प्रविधिको यूगमा साम्राज्यवादीहरुले जुनसुकै गरीब देशका रैथाने चलनहरुलाई विस्थापित गरेर आफ्नो संस्कार लाद्न सक्ने खतरा रहेको छ । चलिरहेको चलनलाई निषेध गर्दा त्यहाँ आउँने रिक्तता (भ्याकुम)मा विदेशी संस्कृतिले प्रवेश पाउँन सक्छ । मेरो विचारमा जमरा, चामलको टीका, बुज्रुकहरुको शुभकामना सहित दशैंलाई धार्मिक आडम्बरबाट मुक्त गराएर मनाउनुपर्छ । लिङ्गे पिङ्गको आकर्षणलाई जिवित बनाउनुपर्छ । अमुक अमुक नेताहरुलाई जिन्दावाद भन्न मिल्ने, अमुक अमुक विचारलाई अमर रहोस् भन्न मिल्ने तर आफू भन्दा ठूला बुवाआमाको आशिर्वाद लिनु चैं धार्मिक आडम्बर हुने भन्ने कुरासँग म सहमत छैन ।
दशैंमा दिने आशिर्वादमा सबै दरबारियाहरुको प्रशंसा गरिएको छ । दरबारियाको हितमा बसेका द्रोणका छोरा, दशरथ, राघव, नहुष, दुर्योधन, सन्तनु, बलराम (हलधरे), युधिष्ठिर (कुन्तिसुते), विदुर, नारायणहरु जस्तै बन्न दिइने आशिषले श्रमजीवी वर्गको अपमान गर्छ । एउटा पनि जनपक्षीय कामको इतिहास नलेखिएको अनि केवल आफू र आफ्नो दरबारको रक्षाका लागि षडयन्त्र÷प्रतिषडयन्त्र गरिएको कथालाई अलंकार थपेर आशिष दिनुभन्दा टीका लगाउँदा यही समाजका उच्च व्यक्तित्वको आदर्शलाई सम्मानित गर्ने गरी आशिष दिनु उचित हुन्छ कि ! पारिजात जस्तै सफल लेखिका बन्नु, न्युटन र आइन्स्टाइन्ट जस्तै प्रतिष्ठित बैज्ञानिक बन्नु, भिमदत्त पन्त जस्तै राष्ट्रवादी बन्नु, श्रम र सीपको सम्मान गर्नु भन्ने जस्ता शब्दहरु राखेर आशिष बनाउँन सके सबै मानिसहरुको भावनामा परिवर्तन ल्याउन सकिन्छ भन्ने लाग्छ मलाई त । तसर्थ दशैं बहिस्कार हैन, दशैंको रुपान्तरण गर्न सके मात्र सांस्कृतिक परिवर्तनमा थोरै काम गर्न सकिन्छ भन्ने लाग्छ मलाई ।
केही बर्ष अघि मैले मूल्यांकन मासिकमा लेख प्रकाशित गरेर मेरो बुवा दुर्गाप्रसाद दाहाललाई मेरा यी भावनाहरु सुनाएको थिएँ । त्यसपछि वहाँले “आयु द्रोणसुते.......” भन्ने मन्त्र नै भन्न छोड्नु भयो । वहाँले अर्को कविता भन्ने गर्नु भएको छ, जसलाई मैले केही परिमार्जन गरेर प्रस्तुत गरेको छु:
आयु दीर्घ रहोस् तिमरो (तिम्रो)
श्रम, सीपले युक्त होस् ।
शत्रुता अनि रोगव्याधि जति छन्
सबै सँधै दुर रहोस् ।
दानी, ज्ञानी भई समाजबीचमा
यश, किर्ति फैलिरहोस ।
आशिष यही दिन्छु दशैं पर्वको
कल्याण सबैको हवोस् ।
हामी कहाँ आशिर्वाद दिँदा धन कमाउनु भन्ने गरिन्छ तर सीप कमाउनु भनिन्न । त्यस्तै गरी राजाको दाहिने हुनु भनिन्छ तर श्रमिकको हितमा उभिनु भनिन्न । अझ भन्सारमा जागिर होस् समेत भन्ने गर्छन् । “यसपटक दुई तले घर छ, अब अर्को बर्ष पाँच तले घर देख्न पाइयोस्” भन्ने जस्ता आशिर्वाद दिएपछि मानिसलाई भ्रष्टाचार गर्न उत्साह थपिन्न र ?
धनको कालो पट्टीले आँखा छोपेको वर्तमान यथार्थ वास्तवमा कुरुप लाग्छ मलाई । तसर्थ पर्वहरुमा के गर्ने ? कसका लागि गर्ने ? किन गर्ने ? जस्ता प्रश्नहरुलाई हामी सबैले मनन् गरेर मात्र बोल्ने वा काम थाल्ने गर्नु पर्छ ।
म शाकाहारी हुँ । मेरो समाजका मानिसहरु सोह्र श्राद्ध भर शुद्ध हुन माछामासु त्याग्ने गर्छन् । त्यस्तै, उनीहरुले कुनै धार्मिक कार्य गर्ने अघिल्लो दिनदेखि नै शुद्ध हुन माछामासु त्याग्ने समेत गरेको देखेको छु । अनि दशैंमा चैं रगत नबगेको आँगन पवित्र हुन्न भन्ने तिनै समाजका मानिसहरु हुन्छन् । विडम्बना ! धर्मले छरेको पाखण्ड भनेकै यही हो ।
मलाई लाग्छ, कृषिमा आधारित पर्व भएकोले दशैंमा मानिसहरुले खसी, बाख्रा, राँगा, कुखुरा, हाँँसहरु खाने चलन त थियो । तर ब्राह्मणहरु, जसले आफूलाई शुद्ध भन्थे, उनीहरुलाई माछामासु खाने अवसर पनि त जुराउनु पर्ने थियो नि ! त्यही भएर देवी÷देवताका नाममा बलि दिएको पशुले स्वर्ग प्राप्त गर्छ भन्ने कुतर्क राखेर मांसाहारलाई प्रसाद ग्रहणका रुपमा व्याख्या गरे चतुर ब्राह्मणहरुले । ब्राह्मणहरुले निन्दा गरेको चार्वाक दर्शन (कतै कतै ऋषि बृहस्पतिले तयार गरेको दर्शन पनि भनिन्छ) ले बडो व्यंग्यात्मक पाराले भनेका छनः
पशुस्च्यन्य हतः स्वर्ग ज्योतिस्टोमे गमिस्यति
स्वपिताः जज मानेन तन्न कस्मान्न हिंसते
अर्थात पशुको हत्या गर्दा त्यो मर्ने पशु स्वर्ग पुग्छ भने तिमी आफ्नै पिताको किन हत्या गर्दैनौ ?
मेरो परिवारमा धेरैजना प्रणामी धर्ममा आबद्ध हुनुहुन्छ । प्रणामीहरुले अक्षरातित पूर्णब्रह्ममा विश्वास गर्छन् । उनीहरु मुर्तिपूजा गर्दैनन् । सिद्धान्ततः उनीहरु विष्णुका अवतारमाथि विश्वास गर्दैनन् र नवदुर्गा भवानीको प्रार्थना पनि गर्दैनन् ।
मृतात्माको शान्तिका लागि भनेर पिण्ड लडाउने, किरिया बार्ने कार्य प्रणामी सँस्कार पनि हैन । मलाई लाग्छ, भारतमा सदियौं देखिको हिन्दु र मुस्लिमबीचको हिंसा–प्रतिहिंसाको प्रतिक्रिया स्वरुप मेलमिलापका लागि यो नयाँ सम्प्रदायको विकास भएको हुनुपर्छ । त्यसैले यहाँ हिन्दुका केही चलन र मुस्लिमका केही चलनलाई मिलाएर समझदारी कायम गर्न खोजेको जस्तो लाग्छ ।
पहिले पहिले मेरी आमाले तीजको ब्रत लिने गरेको पनि मलाई थाहा थिएन किनकी प्रणामीहरु शिवको प्राप्तिलाई प्राथमिकता दिँदैनन् । तर अचेल यसो हेर्छु, मेरा प्रणामी आफन्तहरु नवदुर्गाको घडा स्थापित गरेर दुर्गा स्तुुति गरिरहेका हुन्छन् । उनीहरु “नवदुर्गा भवानीको प्रसादले सुख शान्ति मिलोस्” भनिरहेका हुन्छन् । धार्मिक आस्थामा त घप्लाबाजी हुन्छ भने धार्मिक मान्यतामा उभिएको समाजका अन्य क्षेत्र घात–प्रतिघात रहित कसरी होला र, खै !
दशैंमा मलाई सबैभन्दा खड्किने पक्ष भनेको महिलाले भान्सामा मरेर काम गर्र्नु अनि पुरुषहरु चैं तास खेल्दै पाकेका परिकारहरु स्वाद मानी मानी खानु । लैङ्गिक विभेद गरेर मनाइने पर्व पनि कहीँ रमाइलो हुन्छ ? तसर्थ दशैंमा महिला र पुरुषले सँगै पकाउने काम गर्ने र सँगै मिलेर रमाइलो गर्नुपर्छ । जुवा, तासमा पैसा हारेर मन कटक्क पार्नेहरुले एकपटक दशैंका बेलामा पनि टालेका लुगा लगाएर रसिला आँखा र कलेटी ओठ भएका मानिसहरुलाई सहयोग गरेर हेर्नुहोस् त ! तपाईँको मन कति शान्त र पवित्र बन्छ भन्ने आफैं महशुस गर्नुहुन्छ ।
अब धेरै भन्न जरुरी नहोला ! मेरो घोत्लिएको मनले दशैंलाई अन्य धर्म, जात, लिङ्ग र वर्गमा पीडा थोपर्ने गरी हैन, श्रमको जगमा उभिएको दशैंलाई श्रमको सम्मान गर्दै मनाउन सकियोस् भन्ने शुभकामना दिन उत्सुक छ ।
(लेखक प्रगतिवादी कथाकार हुन् ।)
प्रतिकृया दिनुहोस