माओवादीकाे मुख्य चुनावी एजेणडाः प्रत्यक्ष निर्वाचित कार्यकारी

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई आफ्नो चुनावी एजेन्डा बनाएको छ ।
हालै बसेको केन्द्रीय कमिटीको बैठकपछि सर्कुलर जारी गर्दै माओवादीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जानेगरी कार्यकर्ता पंक्तिलाई तयार रहन भनेको छ । साथै तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा समेत माओवादीले जोड दिएको छ ।
‘निर्वाचन प्रणालीको सम्बन्धमा हाम्रो पार्टीले विगतदेखि उठाउँदै आइरहेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, दलहरूको सिफारिसमा विज्ञहरूको मन्त्रिपरिषद् गठन लगायतका मुद्दाहरू निरन्तर उठाउने’ महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित सर्कुलरमा उल्लेख छ ।
पार्टीले आन्तरिक शुद्धीकरण र सङ्गठनात्मक सुधारका लागि पनि ठोस कदम चाल्ने योजना बनाएको छ।
यस अन्तर्गत नेता कार्यकर्ताहरूको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन, जीवनशैली र निजी सचिवालयसम्बन्धी मापदण्डको कार्यान्वयन, प्रविधिमैत्री कार्यालय र समितिको विकास तथा हरेक समितिमा एक तिहाइ युवा अभ्यासको कार्यान्वयन जस्ता कदम समावेश रहेको सर्कुलरमा उल्लेख छ ।
माओवादीले समाजवादी मोर्चामा रहेका पार्टीहरूबिच अविलम्ब पार्टी एकताको पहल गर्ने र एकता हुने स्थितिमा विशेष महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा आयोजना गर्ने निर्णय पनि गरेको छ।
माओवादीको यही असोज ९ र १० गते कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय कमिटीको बैठक बसको थियो ।
बैठकले आगामी मङ्सिरको अन्तिम हप्तासम्म विशेष महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। यसका लागि केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी प्रचण्डलाई संयोजक तोकेको छ ।
प्रतिकृया दिनुहोस