• २०८३ श्रावण ३० शनिबार
  • Saturday, 15 August, 2026

द्वन्दवादको कसीमा अवसर र व्यक्तित्व

सन्दर्भ प्रवेश:
मानिसको जीवनमा विभिन्न खाले अवसरहरु आउँने गर्छन् । ती अवसरहरुलाई सदुपयोग गर्न सकियो भने सकारात्मक व्यक्तित्वको निर्माण हुने रहेछ तर ती अवसरहरुलाई सदुपयोग गर्न चुकियो भने नकारात्मक व्यक्तित्वका रुपमा समाजले बुझ्ने रहेछ । यसरी अवसर र व्यक्तित्वबीच प्रत्यक्ष र अनुपातिक सम्बन्ध रहन्छ ।

एकता–संघर्ष–रुपान्तरणः सरल र गहन बुझाइः
    माक्र्सवादी दर्शनभित्र एकता, संघर्ष अनि रुपान्तरण सहितको एकता भन्ने वैज्ञानिक आन्वेषण गरिएको छ । हरेक वस्तुभित्र एकता र संघर्ष चलिरहेको हुन्छ । कतिपय सन्दर्भमा एकता र संघर्ष यसरी चलेको हुन्छ कि सामान्य दृष्टिले हेर्दा केही देखिन्न तर गम्भीर ढंगले हेर्दा जटिल किसिमको अन्तर्विरोधहरुलाई खुट्याउन सकिन्छ । भ्लादिमिर इल्यिच लेनिनले सरल भाषामा यसको उदाहरण दिनुभएको छ । पूर्व पश्चिम जाने बाटो छ । पूर्वतिर बसेको मानिसले त्यो बाटोलाई पश्चिम जाने बाटो हो भनेर व्याख्या गर्छ अनि पश्चिमतिर बसेको मानिसले त्यही बाटोलाई पूर्वतिर जाने बाटो भनेर व्याख्या गर्छ । बाटो एउटै हो, यसले एकतालाई प्रतिविम्वित गर्दछ । तर मानिसहरुको बुझाइमा वा व्याख्या गराइमा अन्तर्विरोध छ अर्थात संघर्ष छ । एकता र संघर्ष पदार्थभित्र अनि समाजभित्र पनि जटिल तर अनिवार्य सत्यका रुपमा रहेको हुन्छ । ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्ने हो भने एकता र संघर्षले सकारात्मक रुपान्तरणमा लैजान्छ नत्र त्यसले नकारात्मक रुपान्तरणमा पनि पु¥याउन सक्छ । समाजभित्र वा पदार्थभित्र चल्ने एकता र संघर्षलाई रुपान्तरणको कुन दिशामा लैजाने भन्ने सन्दर्भमा आन्तरिक विषय नै प्रधान हो तर पनि वाह्य हस्तक्षेपले यसको गतिलाई तीव्र वा धिमा बनाउन भने भूमिका खेल्ने गर्छ नै । माओत्सेतुङ्गले यो कुरालाई ढुंगा र अण्डाको उदाहरणले प्रष्ट पारेका छन् । अण्डालाई निश्चित तापक्रममा राखियो भने चल्लाको जन्म हुन्छ तर ढुंगालाई त्यस्तै तापक्रममा राखे पनि केही निस्कँदैन किनकीे अण्डाको आन्तरिक तत्वमा चल्ला बन्नसक्ने अन्तर्वस्तु रहेकोले बाह्य प्रभावले चल्ला बन्यो तर ढुंगाको अन्तर्वस्तुमा चल्ला बन्ने गुण नभएकोले बाह्य प्रभाव जति दिए पनि ढुंगाबाट चल्ला निस्कँदैन । एकता–संघर्ष वा आन्तरिक अन्तर्विरोध वा दुई लाइन संघर्षलाई उस्तै किसिमले बुझ्न सकिन्छ ।
    एकता र संघर्षको मान्यताले नै एकको दुईमा विभाजनको मान्यतालाई पस्किएको छ । कार्ल माक्र्सले संश्लेषण गर्नुभएको ‘एकता–संघर्ष र एकता’ को नियमलाई माओत्सेतुङ्गले ‘एकको दुईमा विभाजन’ को नियममा थप परिस्कृत गर्नुभएको छ । बाहिरबाट देखिएका हरेक वस्तु वा समाजमा दुई विरोधी धार रहेको हुन्छ । पदार्थको परमाणु भित्र इलेक्ट्रोनको नकारात्मक चार्ज र प्रोटोनको सकारात्मक चार्जबीचको एकता र संघर्ष निरन्तर चलेको हुन्छ । त्यहाँ हुने एकता–संघर्षको प्रक्रियालाई ठीक ढंगले चलाएमा विद्युत जस्तो सकारात्मक उर्जा उत्पन्न भई जीवन र जगत नै ज्वजल्यमान् हुन्छ अनि ठीक ढंगले चलाउन नसके एटम बम जस्तो नकारात्मक उर्जा उत्पन्न भई सिंगो जगत नै ध्वस्त हुन पुग्छ । एकता–संघर्षलाई सकारात्मक रुपान्तरणमा बदल्ने कि नकारात्मक रुपान्तरणमा भन्ने कुराले नै सबै थोकको निर्धारण गर्दछ । भौतिक विज्ञानलाई अध्ययन गर्दा हामी के देख्छौं भने इलेक्ट्रोन, प्रोटोन, न्युट्रोनको मात्रा (सार) जस्तो छ त्यस्तै परमाणु र पदार्थ (रुप) हुन्छ । जस्तै अक्सिजनको दुई मोलिक्युल र हाइड्रोजनको एक मोलिक्युल बीचको एकता र संघर्षबाट रुपान्तरण सहितको एकता अर्थात पानी ९ज्द्दइ० बन्छ तर हाइड्रोजनको दुई मोलिक्युल र अक्सिजनको दुई मोलिक्युल बीचको एकता र संघर्षबाट रुपान्तरण सहितको एकता  अर्थात हाइड्रोजन पेरो अक्साइड ९ज्द्दइद्द० बन्न पुग्छ । पदार्थको सारभित्रको अन्तर्विरोधले पदार्थको रुप पक्षलाई पनि परिवर्तन गर्छ । मानव शरीर विज्ञानलाई पनि हेर्ने हो भने मानिसमा छोरा वा छोरी जन्मने कुरा शरीरमा रहेका २३ जोडी क्रोमोजोम मध्ये एक जोडी क्रोमोजोमले लिङ्ग निर्धारण गर्दछ । महिलाको ह्ह् क्रोमोजोम र पुरुषको ह्थ् क्रोमोजोम मध्ये महिलाको ह् क्रोमोजोम र पुरुषको थ् क्रोमोजोमबीच मिलन हुँदा ह्थ् क्रोमोजोम भई छोरा हुन्छ । त्यस्तै,  महिलाबाट ह् क्रोमोजोम र पुरुषको ह् क्रोमोजोमबीच मिलन हुँदा ह्ह् क्रोमोजोम भई छोरीको जन्म हुन्छ अर्थात महिला र पुरुष क्रोमोजोमबीचको एकता संघर्षले छोरा वा छोरीका रुपमा रुपान्तरित नयाँ चीज बन्दो रहेछ । माक्र्सवादी द्वन्दवादलाई अनदेखा गरेर परिवर्तनको असली कुराको ज्ञात हुन नै सक्दैन ।
हामी आफूलाई नै हेरौं न एकपटक । मैले ‘म’ भनिरहँदा त्यो ‘म’ निराकार र निरपेक्ष छैन । त्यहाँ सग्लो शरीरभित्र विघटन हुने हजारौं कोषहरु र निर्माण हुने हजारौं कोषहरु रहेका हुन्छन् अर्थात एकता–संघर्ष चलिरहेको हुन्छ । त्यस्तै ‘म’ भित्र पनि यो गर्ने कि त्यो गर्ने ? भन्ने द्विविधा सदैव रहेको हुन्छ । ‘म’ ले एकातिर जीवनबाट विरक्तिएर आत्महत्या गर्ने पनि सोच्न सक्छ भने अर्कोतिर जीवनलाई अझ उर्जाशील बनाउँदै लैजाने तर्फ पनि सोच्न सक्छ । अर्थात ‘म’ भित्र पनि सकारात्मक र नकारात्मकबीच, गर्ने र नगर्ने बीच, आशावाद र निराशावाद बीच निरन्तर संघर्ष चलेको हुन्छ । ‘म’ आफैंमा एकताको विम्व हो भने ‘म’ भित्र दुई धारको संघर्ष चैं निरन्तर चलिरहेकै हुन्छ । ठीक ढंगले ‘म’ लाई परिचालन गर्न सके सकारात्मक अवसर निर्माण गर्दै गह्रुंगो व्यक्तित्व बनाउँन सकिन्छ नत्र प्राप्त अवसरले व्यक्तित्व नै नष्ट हुन पुग्छ ।

अवसर र व्यक्तित्व: द्वन्दात्मक दृष्टिकोण
    अवसर र व्यक्तित्वका सम्बन्धमा पनि त्यही नै हो । समाजमा चल्ने संघर्षले अवसर जन्माउँछ, । अवसर पनि अनुकूल र प्रतिकूल हुन्छन् । अवसरको विम्वभित्र अनुकूलता र प्रतिकूलताका लागि संघर्ष चलिरहेको हुन्छ । अवसरलाई ठीक ढंगले ग्रहण गर्न सक्नेले सकारात्मक व्यक्तित्व बनाउँछ अन्यथा त्यो नकारात्मक बन्न पनि पुग्छ । त्यसै गरी व्यक्तित्व भित्र पनि रचनात्मक सार र ध्वंशात्मक सार बीचको टकराव चलिरहेको हुन्छ । रचनात्मक व्यक्तित्वले समाजका अन्तर्विरोधहरुलाई सही ढंगले विश्लेषण गरी सामाजिक÷आर्थिक÷राजनैतिक÷सांस्कृतिक क्रान्ति गर्न सक्छ भने ध्वंशात्मक व्यक्तित्वले समाजमा विग्रह, विघटन र प्रतिगमन पैदा गर्छ । यही एकता–संघर्ष वा एकको दुईमा विभाजनको मान्यता नै वस्तु तथा समाज विकासको सार हो । सार जस्तो छ रुप अन्ततः उस्तै हुनपुग्छ । 
एकछिनका लागि सोचौं, एकजना व्यक्तिको भावभङ्गी हेर्दा साह्रै सुगठित, सुन्दर र चिटिक्क परेको देखिन्छ । यो व्यक्तिको बाहिरी आवरण हो अर्थात यो नै व्यक्तिको रुप पक्ष हो । अब त्यो व्यक्तिको काम गराई, अरुसँगको सम्बन्ध, ऊ भित्रको अहं वा नम्रता, उसको आचरण, सोच्ने तरिका चैं व्यक्तिको सार पक्ष हो । वास्तवमा सार पक्षले नै उप्रतिको समग्र दृष्टिकोण निर्माण हुनपुग्छ । व्यक्तिको सार भनेको उसले वाहिरी जीवन र आफूलाई समेत एकको दुईमा विभाजन गरी ठोस अवस्थाको ठोस विश्लेषण गर्न सक्ने क्षमता नै हो । एकसमय आकर्षक र लोभलाग्दो लागेको व्यक्ति कुनै अर्को समय हेर्दै रिस उठ्ने, मनै नपर्ने पनि हुने रहेछ । यो किन हुन्छ भने, जस्तो सार छ त्यस्तै रुप हुन्छ । एउटा सिनेमाको पुरुष कलाकार जसलाई अधिकांश महिला दर्शकहरुले जीवनसाथीका रुपमा पाउँन पाए हुन्थ्यो भनेर सोच्न सक्छन् । महिलाहरु उसको रुप पक्षसँग आकर्षित भएका हुन्छन् । तर एक समय यस्तो समाचार आउँछ कि त्यो आकर्षक कलाकार त यौन दुराचारी रहेछ, सोझा साझा महिलाहरुलाई रुपको जालमा पारेर विवाह गर्छु भन्दै उनीहरुको शारीरिक शोषण गर्दो रहेछ । सारमा त्यो कलाकार त कुरुप रहेछ । अब उसलाई देखेर मरिहत्ते गर्ने महिलाहरुले उसको अनुहार देख्दा पनि नाक खुम्च्याउँने वा मुण्टो बटार्ने गर्न पुग्छन् । यही हो सार अनुसार रुपको निर्माण हुन्छ भनेको । त्यो कलाकारले महिलालाई यौन खेलौना मान्ने वा महिलालाई सम्माजनक व्यवहार गर्ने ? भन्ने दुई धारमध्ये महिलालाई यौन खेलौना ठान्ने धारमा आफूलाई बदल्यो । उसको व्यक्तित्वको सार पक्ष यौनदुराचारीमा  रुपान्तरण भई अधिकांशले उसको रुपलाई समेत घृणा गर्न पुगे । उसको व्यक्तित्वले सकारात्मक अवसर गुमायो । यसरी समाजले पनि सार अनुसार रुपलाई बुझ्ने रहेछ र त्यही रुप र सारको अन्तर्वस्तुले व्यक्तित्व र अवसरको निर्धारण गर्दो रहेछ । नेताका सवालमा यही नियम लागु हुन्छ ।

अवसर र व्यक्तित्व अनि नेपाली नेतृत्वकर्ताः
नेपालको इतिहासमा पृथ्वीनारायण शाहलाई हेरौं । त्यसबेला देश बाइसे र चौविसे राज्यमा विभाजित थियो । विभिन्न राज्यहरुबीचका अन्तर्विरोधहरुले युद्ध, एकीकरण, विभाजन ल्याइरहेको थियो । राज्यहरुबीच चलिरहेको एकता र संघर्षका बीच पृथ्वीनारायणका अघि नेपाललाई असली हिन्दुस्तानका रुपमा एकीकरण गर्ने अवसर पैदा भयो । यो अवसरलाई उनले सफलतामा पु¥याए र हिन्दु दृष्टिकोणभित्र एक व्यक्तित्व निर्माण गरे । उनले सबै जातजातिको स्वायत्तता सहितको राज्य बनाएका भए उनको यो व्यक्तित्व अन्य जातजातिका लागि सकारात्मक हुनेथ्यो तर ब्राह्मणवादी मानसिकतामा उभिन खोज्दा उनी साझा व्यक्तित्व बन्नबाट चुके । तत्कालीन हिन्दु अधिपत्यको राज्यले बल प्रयोग गरी उनलाई एकीकरणको प्रतिक त बनाए तर उनले प्राप्त भएको अवसरलाई सबै जातजातिको भावनात्मक एकीकरणकर्ताको व्यक्तित्व निर्माण गर्न सकेनन् ।
राजा महेन्द्रले ‘अनेकता भित्र एकता’ को मिठो नारा खुब लगाए । अनेकताभित्रको एकता भनेको नै अर्को शैलीबाट कार्ल माक्र्सको ‘एकता र संघर्ष’ को मान्यतालाई स्वीकारेको हो । विश्वभर माक्र्सवादी दर्शनको प्रभाव फैलिएको अवस्थामा आफ्नो राज्यसत्तालाई बहकिन नदिन उनले अवसरका रुपमा यस्तो नाराको उपयोग गरेका थिए । उनको दृष्टिकोण माक्र्सवादी नभएर सामन्ती नोकरशाही शैलीको थियो । त्यसैले उनले जे नारा लगाएपनि त्यहाँ विपरितहरुको एकता र संघर्षको मान्यतालाई स्वीकार्न नसकी निरंकुश शासन चलाउन पुगे । तत्कालीन प्रभावशाली व्यक्तित्व वि.पि. कोइरालासँग द्वन्दात्मक एकता सहित जान सकेका भए महेन्द्रले केही हदसम्म जनपक्षीय व्यक्तित्व बनाउँने थिए तर त्यो भएन । विकासका कतिपय राम्रा कदमहरुका बावजुद जनताको नजरबाट राजा महेन्द्रको व्यक्तित्व निरंकुश राजाका रुपमा नै सीमित भयो । विकासका खास मोडल दिन नसके पनि निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध जनताले चलाएको संघर्षलाई बुझेर एकताको भावमा आई सीमित प्रजातन्त्रको निम्ति रुपान्तरणमा जान तयार भएकोले जनताका बीचमा तुलनात्मक रुपले राजा वीरेन्द्रले सकारात्मक व्यक्तित्व बनाउँन सके । द्वन्दात्मक एकताले राजा वीरेन्द्रका सामु सीमित प्रजातन्त्रको नेतृत्व गर्ने अवसर पैदा ग¥यो । प्राप्त अवसरलाई सदुपयोग नगरेका भए वीरेन्द्रको पनि अन्य राजाहरु सरह भोगविलासी तर नतिजा दिन नसक्ने राजाकै रुपमा जनताको नजरमा व्यक्तित्व बनेको हुनेथ्यो ।
विपि कोइराला विलक्षण प्रतिभाका थिए । पुँजीवादी प्रजातन्त्रका लागि लड्दै गर्दा उनले प्रजातान्त्रिक समाजवादको खाका कोरेका थिए । उनले एक प्रसंगमा भनेका छन्, “अमेरिकामा राजनैतिक समाजवाद छ तर आर्थिक समाजवाद छैन । त्यसै गरी सोभियत संघमा आर्थिक समाजवाद छ तर राजनैतिक समाजवाद छैन ।” यस अर्थमा विपि समाजवादको अध्ययनमा रुची राख्थे । उनले बि.सं. २०१५ सालमा दुईतिहाइको सरकारको नेतृत्व गरे । समाजमा दुईतिहाइको दम्भका कारण अराजता पनि सृजना भएकै थियो । तथापी उनले प्रजातान्त्रिक समाजवादका आधारभूत पक्षलाई अगाडि बढाउने ढंगले विचार पस्कँदै गए तर उनको सरकारको गतिविधि पुँजीवादी ढर्रामा विकास हुँदै गयो । उनको विचार र व्यवहारबीचको एकता–संघर्ष (अन्तद्र्वन्द)ले राजनैतिक, आर्थिक र सामाजिक गतिशीलता लिन सकेन । लामो निरंकुश शासनमा अस्तव्यस्त नेपाली जनतालाई राजनैतिक स्वतन्त्रताको अवसर दिन नेतृत्व गरेका कारण उनको लोकप्रियता बढ्दै गयो । राजा महेन्द्रले बि.सं. २०१७ सालमा सरकार अपदस्त गरेपछि सत्ताप्राप्तिका हिसाबले विपिले अवसर गुमाउँन पुगे तर विपिले सरकार चलाउँन पाएको भए देश धेरै माथि पुग्ने थियो भन्ने जनताको विश्वास दह्रो बनायो । यो घटना विपिको व्यक्तित्व विकासका लागि भने ठूलो अवसर बन्न पुग्यो ।
पुष्पलालले सामाजिक र राजनैतिक संघर्षका क्रममा नेपालको वर्ग विश्लेषणलाई गहिरो गरी बुझ्न सके । समाजमा उठिरहेको वर्ग संघर्षको धारलाई बुझेर उनले केही साथीहरु सहित कम्युनिष्ट पार्टीको गठन गरे । संघर्षले उनलाई वर्ग बुझ्ने अवसर दियो, सो अवसरको सदुपयोग गरेर उनले कम्युनिष्ट पार्टी स्थापना गरी कुसल व्यक्तित्व विकास गरे । पार्टी स्थापनापछि संघर्षमै जीवन व्यतित भएकोले उनले सत्ता र सरकारको अवसर प्राप्त गरेनन् तर कम्युनिष्ट पार्टीका विभिन्न हाँगाहरुले श्रद्धापूर्वक हेर्ने व्यक्तित्व भने उनको बन्न सक्यो ।
निरंकुश पञ्चायती व्यवस्थाभित्र २०२८ साल, २०३६ साल, २०४६ सालमा मात्रात्मक परिवर्तनहरु हुँदै आए । जनताले उठाएका संघर्षले केही अग्रगामी कुराहरुमा एकता गर्दै समाजलाई मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनतर्फ लैजाने अवस्था बनाइरहेको थियो । २०५२ सालमा उठेको जनयुद्धले गुणात्मक परिवर्तनमा छलाङ्ग लगाउँदै राजतन्त्रको जरा नै उखेलिदियो । सर्वाहारा राज्यसत्ताको पक्षधर र पुँजीवादी संसदवादी पक्षधरहरुबीचको द्वन्दात्मक एकताको परिणाम स्वरुप संघीय लोकतान्त्रिक गणतन्त्रको उदय हुन पुग्यो । यो नयाँ प्रणालीले राजा ज्ञानेन्द्र मात्र हैन सिङ्गो राजतन्त्रको व्यक्तित्व कुरुप बन्न पुग्यो अनि कथित संसदीय प्रजातन्त्रको चरित्रका कारण लोकप्रियतामा ह्रास आएका गिरिजाप्रसाद कोइरालाको व्यक्तित्वलाई उच्च बनाइदियो । यसरी विकास भइरहेको संघर्षको ठोस अवस्थालाई बुझेर सर्वाहारा क्रान्ति गर्नेहरुसँग एक तहको एकता कायम गर्न सक्दा नै नयाँ अवसरको निर्माण हुन पुग्यो र त्यो अवसरले कसैको नकारात्मक व्यक्तित्व बन्न पुग्यो भने कसैको सकारात्मक व्यक्तित्व बन्न पुग्यो । सामन्तवादी सत्ताको मूल जराको रुपमा रहेको राजतन्त्रको अन्त्य हुनु सापेक्षिक हिसाबले गुणात्मक परिवर्तन नै थियो । मात्रात्मक परिवर्तन र गुणात्मक परिवर्तनलाई पनि माक्र्सवादी अध्ययन अनुरुप सापेक्ष ढंगले हेर्नुपर्छ । निरंकुश वा संवैधानिक राजतन्त्रको तुलनामा गणतन्त्र गुणात्मक परिवर्तन नै हो तर वर्ग विहिन समाजलाई गुणात्मक परिवर्तन ठान्ने हो भने गणतन्त्र मात्रात्मक परिवर्तन मात्र हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनालाई हेर्ने हो भने नेकपा माओवादीका नेता कमरेड प्रचण्डको व्यक्तित्व गणतन्त्रका नायकका रुपमा स्थापित हुनपुग्यो । यो व्यक्तित्व उनको व्यक्तिगत कारणले नभई समाजको ठोस अवस्थाको ठोस विश्लेषण गरी सामाजिक अन्तर्विरोधहरुलाई हल गर्न सकेर नै बनेको हो । जनताले बनाएको इतिहासको सही नेतृत्व गर्न सकेकैले प्रचण्डले अलग व्यक्तित्व बनाउँन सके । विकास भइरहेको राष्ट्रिय अन्तर्राष्ट्रिय अवसरहरुप्रति वेवास्ता गर्दै निरन्तर युद्धमा हिंडेका भए गणतन्त्र आउने सम्भावना थिएन । सिद्धान्तको ठेली मात्र रटेर समाजको द्वन्दात्मक एकताले सृजना गरेको अवसरलाई रुपान्तरणमा लैजाने पहलकदमी नगरेको भए संभवतः प्रचण्ड कतै घुमन्ते लडाकु भइरहेका हुन्थे वा मारिएर पुरानो सत्ताले महिषासुरलाई चित्रण गरे झैं लालदैत्यका रुपमा चित्रण गरेको हुन्थ्यो अथवा सर्वाहारा वर्गको एक तप्काले महान शहीद भनिदिएको हुनेथ्यो । अगाडि आएको अवसरलाई चिनेर निकास दिन सकेकैले प्रचण्डको व्यक्तित्व बनेको थियो । 
नेतृत्वको विकास सामाजिक अन्तर्विरोधका बीच जनसमूदायले नै गर्दछ । सामाजिक संघर्षकै क्रममा व्यक्तिका लागि अवसरको सृजना हुनपुग्छ । कुनै एक व्यक्तिलाई पटकपटक अवसर आइरहँदैन । प्राप्त अवसरलाई उच्चतम प्रयोग गर्न सक्नेहरु समाज र जनताका नजरमा महान बन्छन् । कम्युनिष्ट नेताहरु सामान्यतः अरु विषयका सम्बन्धमा द्वन्दात्मक भौतिकवादी नियम लागु गर्नुपर्छ भन्छन् तर आफ्नो नेतृत्वका सम्बन्धमा नाति पुस्ता भर्भराउँदै आएका भए पनि आफू नै नयाँ पुस्ताको प्रतिनिधि रहेको घोषणा गर्न पछि पर्दैनन् । नेपालमा मोहन विक्रम सिंहले बर्षौं नेतृत्वमा बसेर पनि कम्युनिष्ट पार्टीलाई निर्णायक क्रान्ति गर्ने बनाउन नसक्नु तर किरणले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्नासाथ जनआन्दोलन र जनयुद्धको विकास भई राजनैतिक परिवर्तन सम्भव हुनु पुस्तान्तरणकै एउटा उदाहरण पनि हो । वैज्ञानिक साम्यवाद आएपछि कम्युनिष्ट पार्टी पनि विघटन भई समाजमा विलय हुने दर्शन बोकेकाहरुले समाजमा नयाँ पुस्ता आउँदा पनि एक व्यक्तिको औचित्य तीस÷चालीस बर्षसम्म रहन सक्छ भन्नु माक्र्सवादी दर्शनकै विरुद्ध हैन र ?
विज्ञानले भन्छ, संसारका सबै चीजहरु गतिशील छन् । स्थिर भन्ने कुरा त सपेक्षतामा मात्र बुझ्न सकिन्छ । माक्र्सवादी समाज विज्ञानले पनि यही कुरा भन्छ । जब सम्पूर्ण कुरा गतिशील छ भने नेतृत्व चैं पैंतीस चालीस बर्षसम्म एउटै हुँदा त्यसले पार्टी, संगठन, सामाजिक संघ÷संस्थाहरु गतिशील हुनै सक्दैनन् । एउटा नेतृत्व पंक्तिले आन्दोलन र विकासका कामलाई एकचरणमा पु¥याउँछ अनि उसले अवकास लिन्छ । त्यसपछि समय सुहाउँदो नयाँ नेतृत्वले विगतको विरासत बोकेर समाजलाई डो¥याउँछ । एउटै नेतृत्व, उस्तै कार्यशैलीले समाजभित्र वा समूह÷पार्टीभित्र उकुसमुकुसको अवस्था सृजना गराउँने रहेछ । निरंकुश शासनमा त एउटै नेतृत्वलाई जनताले केही समय स्वीकार्न बाध्य हुन्छन् तर निरंकुश र अगतिशील नेतृत्वको नराम्रोसँग पतन हुन्छ । तसर्थ सृजित अवसरबाट अधिकतम उपलब्धी हासिल गरेर एकप्रकारको व्यक्तित्व बनिसकेपछि हरेक नेतृत्वकर्ताले पछिल्लो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । हरेक समयमा अवसरहरुको सृजना गर्दै आफूलाई हरेक पटकको नायक बनाउँन एउटै मूल नेतृत्वकर्ताले गर्न सक्दै सक्दैन । नयाँ पुस्ताले नयाँ खाले अवसर सृजना गर्दै जान चाहेको हुन्छ र पुरानोले नयाँलाई निषेध गर्न खोजियो भने विद्रोह हुने नै त्यहीं हो । विज्ञानको नियम भनेको पुरानोको गर्भबाट नयाँको जन्म भई नयाँले आधारभूत गुणहरु कायम राखेर पुरानोलाई निषेध गर्दै अघि बढ्ने हो । नयाँलाई पुरानोले निषेध गर्ने कदाचित हैन ।
२०४६ सालको जनआन्दोलनपछि मदन भण्डारीलाई जनस्तरबाट खुब रुचाइयो । युवा नेता, धाराप्रवाहमा बोल्न सक्ने र जनताको तल्लो तहको ढुकढुकी बोकेर आएको हुँदा नयाँ परिवर्तनले वहाँका अगाडि अवसरहरु पैदा भए । चुनावी परिणामले सरकारको नेतृत्व गर्न नदिए पनि राष्ट्रवादी अडानले वहाँको व्यक्तित्व उच्च भएर गयो । विश्वभर समाजवादले धक्का खाएको बेला वहाँले जनताको बहुदलीय जनवादलाई तत्कालीन कार्यनीतिका रुपमा अघि सार्नुभयो । भारतमै कयौं बर्षदेखि कम्युनिष्ट पार्टीले संसदीय चुनावमा जाने र फेरि चुनावमै फर्कने गोलचक्करवादको अर्थहीन अभ्यास गरिरहेकै थिए, तर पनि नेपालको सन्दर्भमा बहुदलीय जनवाद (यूरो कम्युनिज्मकै सार भए पनि नेपालका सन्दर्भमा नयाँ) को प्रयोग नहुँदै मदन भण्डारीको निधन भयो । आम जनताले मदन भण्डारी जिवित भएको भए, देशमा साँच्चै समाजवाद ल्याउने थिए भन्ने भावना बनिरह्यो । टनकपुर सम्झौताका विरुद्ध उभिएर राष्ट्रवादी छबी बनाउँने अवसर प्राप्त भएकोले उनको व्यक्तित्व उच्च बन्नपुग्यो ।
नेपाली समाजमा दिर्घकालीन जनयुद्ध चलाएर दश बर्षमा सामन्तवादी संरचनाका जगहरु हल्लाइदिने माओवादी विद्रोहले प्रचण्डलाई विश्व राजनीतिमा पछिल्लो चरणको सर्वाहारा क्रान्तिको नायक नै बनायो । एकता र संघर्षको सामाजिक संरचनालाई सही ढंगले बुझेर नेतृत्व गर्न सक्दा उनको व्यक्तित्व बनेको थियो । २०६२÷०६३ सालको शान्ति सम्झौताको समेत नेतृत्व गरेर प्रचण्डले अर्को इतिहास रचे । पहिलो गणतान्त्रिक प्रधानमन्त्री बनेपछि नेपाली सेनामा हस्तक्षेप गरेर सत्ता कब्जा गर्न खोजेको भन्दै उनलाई असफल बनाउँन खोजिएपछि उनले नैतिकताका आधारमा राजिनामा दिए । त्यसपछि उनले सक्रिय राजनीति छोडेको भए, नेपाली जनताले सँधै भन्ने गर्थे कि प्रचण्डलाई काम गर्न दिएको भए अहिले देश कति विकसित भइसक्ने थियो । तर अघिल्तिर आएको यो अवसरलाई समातेर इतिहास बनाउन भन्दा फेरि फेरि अर्को अवसरहरु खोजेर जाने बाटो प्रचण्डले लिए । घरिघरिको अवसर खोज्दा उनले न समाजवादको छेउ समात्न सके, न पुँजीवादी लोकतन्त्रलाई एक कदम प्रगतिशील बनाउँने टुप्पो नै समाउन सके । उनको व्यक्तित्व अन्य संसदवादी नेताहरुकै चरित्रका रुपमा ओह्रालो लाग्यो । अवसर र व्यक्तित्वबीचको द्वन्दात्मक यथार्थलाई आत्मसात गर्न नसक्दाको परिणाम नै थियो यो ।
बहुदलीय जनवादलाई सत्ताको साधन हैन, साध्य नै मानेर केपी ओली बि.सं. २०७२ पछि अगाडि देखिए । राष्ट्रवादी छबीले उनका अघि नयाँ अवसरको ढोका खोल्यो । आम जनताले चाहेको कम्युनिष्ट एकताको प्रसंग र भारतको दादागिरीका विरुद्ध चुच्चे नक्सा सार्वजनिक गरेर उनले विकसित अवसरलाई अनुकूल बनाउँन सके । उनी लोकप्रियताको शिखरसम्म नै पुगे । झण्डै दुई तिहाइको सरकारको नेतृत्व गरे । लोकप्रियताले मानिसभित्र दुई वटा सोंचबीचको द्वन्द उत्पन्न गराउँछ – पहिलो, दम्भ बोकेर अघि बढ्ने र दोस्रो, सबैलाई आफ्नो विचारमा समेटेर आफ्नो लोकप्रियतालाई कायम राख्ने । केपी ओलीको सोचाइले राज्यलाई समाजवाद उन्मुख बनाउँनतिर भन्दा दलाल पुँजीवादकै सेरोफेरोमा रुमल्लिने बाटोतिर लग्यो । केपी ओलीले पार्टी र देशका सन्दर्भमा पनि अभिभावकत्व लिने मार्गतिर भन्दा निरंकुशता तर्फ जाने, दुई लाइन संघर्ष भन्दा एक्लो आदेश प्रधान ठान्ने गल्ति गरे । जसले गर्दा सामाजिक असन्तुष्टी तीब्र बन्यो फलतः उनी व्यक्तिगतरुपमा असफल बन्न पुगे र साथमा साम्यवादी आन्दोलनले ल्याउँदै गरेको अवसरमा समेत संकट उत्पन्न गराए । 
प्रधानमन्त्रीको कुर्सी दौडले पुरानै अनुहारलाई पटकपटक असफल पार्दै फेरि कुर्सीमै विराजमान गराउन थाल्यो । यो खेलले कम्युनिष्ट पार्टीको नेतृत्वमा नै वर्गीय खाड्ललाई झन फराकिलो पार्ने काम भयो । वर्ग संघर्ष निर्मम हुन्छ । मानिसको असन्तुष्टी संसदीय पुँजीवादी असक्षमताप्रति थियो तर त्यो असक्षम पुँजीवादको नेतृत्व कम्युनिष्ट पार्टीको खोलबाट हुन गयो । फलस्वरुप नेपालमा कम्युनिष्ट विरोधी लहर आएको भ्रम पैदा भयो ।
अब अलिकति नजर कर्मचारीतन्त्र तर्फ नै लगाऔं । बि.सं. २०४६ सालको जनआन्दोलनपछिको सेरोफेरोबाट नेपालमा लोडसेडिङ्ग सुरु भयो । यसले नेपाली जनजीवनलाई कष्टकर बनायो । राजनैतिक नेतृत्व र ठूला उद्योगपति र विद्युतीय उपकरणका व्यापारीहरुको गठजोडमा कृत्रिम ढंगले तयार गरिएको थियो । प्रचण्ड नेतृत्वको सरकारबाट कुलमान घिसिङ्गलाई नेपाल विद्युत प्राधिकरणको प्रमुखमा नियुक्ति दिएपछि उनको कुसल नेतृत्वशैलीले लोड सेडिङ्ग हट्न पुग्यो र कुलमान घिसिङ्ग राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ‘उज्यालोका नायक’ उपनामबाट प्रख्यात भए । कुलमानका लागि देश र जनताका निम्ति गर्नसक्ने यो ठूलो अवसर सावित भयो । तर जब उनी दोस्रो पटक पुनः नेपाल विद्युत प्राधिकरणको प्रमुखमा आउँन रुची राखे, तब उनको यो दोस्रो अवसरले उनको बनेको व्यक्तित्वलाई पछि पा¥यो । अझ मन्त्री पदका लागि थप अवसर खोज्न थालेपछि त उनको ‘उज्यालोका नायक’ को उपनाम नै ओझेलमा पर्न गयो । यसले के पुष्टी गर्छ भने लामो संघर्ष, कुसलताबाट सृजना भएको एकपटकको अवसरबाट मानिसले इतिहासमा सम्झने योग्य व्यक्तित्व बनाउँन सक्छ तर त्यही व्यक्ति फेरि पद, प्रतिष्ठाका लागि थप अवसरको खोजी गर्न थाल्छ, तब उसको बनेको व्यक्तित्व पनि ओझेलमा पर्छ ।
जेन्जी आन्दोलनपछिको निर्वाचनबाट बालेन शाह उदाएका छन् । बि.सं. २०८२ फागुन २१ गतेको चुनावले रा.स्व.पा.लाई बालेन शाहको व्यक्तित्वबाट दुई तिहाइ निकट पु¥याएको हो । विदेशी चलखेल र लुसिफरका आरोपहरु पुष्टि नभई हल्का ढंगले गरिहाल्नु उपयुक्त हुन्न । बालेन शाहको व्यक्तित्व यसरी शिखरमा पुगेको छ कि उनले आफ्नो प्रतिरक्षा आफूले गर्नै पर्दैन, जनताकै स्तरबाट उनको प्रतिरक्षा हुने गरेको छ । उनले यो व्यक्तित्व कायम राख्न प्राप्त अवसरलाई हौसिएर वा दम्भ देखाएर कायम राख्न सक्दैनन् । म नै सत्ता हुँ भन्ने अहंकारले विश्वका र नेपालकै धेरै व्यक्तित्वहरुले सुवर्ण अवसरहरु गुमाए । संयमित रहने, आफू बाहेक सबैलाई भ्रष्ट र अनैतिक देख्ने दृष्टिदोषबाट टाढा रहने, जनताका समस्यासँग सहकार्य गर्दै अघि बढ्ने र युग सुहाउँदो विकास कार्यक्रम दिन सके भने यो प्राप्त अवसरले बालेन शाहको ऐतिहासिक व्यक्तित्व बनाउँने छ, अन्यथा यो जबरजस्त अवसर उनले यसरी गुमाउने छन् कि उनको व्यक्तित्व केवल एक थान प्रधानमन्त्रीका रुपमा फोटोमा सजिने छ । बालेन शाह अन्ततः पुँजीवादी सत्ताभित्र नै खेल्ने पात्र भएकोले पुँजीवादले जन्माउने हरेक अन्तर्विरोधहरुको सामना उनले गर्नुपर्छ जसका कारण वर्गीय अन्तर्विरोधको हल गर्ने अवसरबाट चुकेर उनको व्यक्तित्व धरापमा पर्न सक्छ । पुँजीवादले अन्ततः सामाजिक, आर्थिक, राजनैतिक संकट तीब्र बनाउँछ नै, तर मनोगत नभई तुलनात्मक रुपले सकारात्मक काम गरी नेतृत्व हस्तान्तरण गर्न सके भने बालेनले एक तहको व्यक्तित्व बनाउँन सक्छन् । 

निष्कर्ष:
अवसर र व्यक्तित्वबीच द्वन्दात्मक सम्बन्ध रहन्छ । मानिसले समाज र जनतासँग अन्तक्र्रिया गर्दै अवसरको सृजना गर्दछ । सो अवसरको उच्चतम् सदुपयोग गर्न सक्यो भने उसले समाजमा सँधै बाँचिरहने व्यक्तित्व बनाउँछ । जब उसले जनताको प्रिय हुने व्यक्तित्व बनाइसक्छ, तब उसले थप अन्य अवसर खोज्दा प्राप्त व्यक्तित्व नै नष्ट हुन पुग्छ । आफूले जनप्रिय व्यक्तित्व बनाइसकेपछि आफू पछिका पुस्ताका लागि नयाँ अवसरको ढोका खोल्न सक्ने नेतृत्वकर्ता मात्र आजको कृत्रिम बौद्धिकताको युगमा ऐतिहासिक हुन सक्छ । आखिर पुरानोको निषेध र नयाँको निर्माण नै वैज्ञानिक द्वन्दवादको नियम हो ।
(लेखक प्रगतिशील कथाकार हुनुहुन्छ ।)


 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर