को हुन् कर्णालीको मुख्यमन्त्री बनेका नेकपाका शाही ?
सुर्खेत । कर्णालीको पाँचौं मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेकपाका १४ र नेकपा एमालेका १० गरी २४ सांसदहरुको समर्थनमा उनलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उनको शपथ बुधबार हुनेछ । कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । कर्णालीमा सरकार बनाउन २० सांसदको समर्थन आवश्यक हुन्छ । नयाँ सरकार गठनका लागि आवश्यक बहुमत पुगेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । केन्द्रमा एमाले र नेकपाका शीर्ष नेताहरुबीच भएको सत्ता गठबन्धनको सहमतिअनुसार कर्णालीको नेतृत्व नेकपाले पाएको हो ।
सोरु गाउँपालिका–६ मुगुका स्थायी बासिन्दा शाही २०२५ भदौ १६ गते जन्मिएका हुन् । शाहीले आईएलसम्मको अध्ययन पूरा गरेका छन् । २०४५ सालमा अनेरास्ववियुमा आवद्ध हुँदै राजनीति थालेका उनी २०५४ मा नेकपा एमाले इलाका कमिटी सचिव बनेका थिए भने २०५८ सालमा साविक नेकपा माओवादीमा आबद्ध भई भूमिगत भएका उनी २०५९ मा जिल्ला कमिटी सदस्य बनेका थिए ।
२०६४ मा पूर्वमाओवादीको जिल्ला सचिव बनेका उनी केन्द्रीय समिति सदस्य तथा मुगु जिल्ला इन्चार्जसमेत बनेका थिए । अहिले उनी नेकपा केन्द्रीय सदस्य छन् । २०७९ माघ ११ गते कर्णाली सरकारको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्री बनेका शाहीले २०८० चैत २८ गतेसम्म उक्त मन्त्रालय सम्हालेका थिए ।
शाही ८ हजार ४ सय २९ मतसहित मुगु क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०८२ माघ ४ गते नेकपा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।
कर्णालीका निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले शनिबार आफ्नो पदबाट राजीनामा दिएपछि कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो । उनीविरुद्ध नेपाली कांग्रेस र नेकपाका १६ सांसदले अविश्वासको प्रस्ताव पेस गरेका थिए । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको थियो । तर केन्द्रमा एमाले र नेकपाबीच सहमति भएपछि अविश्वासको प्रस्तावमाथिको प्रक्रिया अघि नबढेको हो ।
मुख्यमन्त्री शाही पार्टीभित्र इमान्दार, निडर र स्वच्छ छविको नेताका रुपमा परिचित रहेको नेकपा मुगुका नेता कुशल मल्लले बताए । शाहीसँगै बुधबार केही मन्त्रीको पनि शपथ ग्रहणको तयारी गरिएको नेकपाका एक सांसदले कान्तिपुरलाई बताए । ‘मन्त्रीको नाम बुधबार बिहानसम्म टुंग्याएर सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ,’ उनले भने, ‘अहिलेसम्म अवसर नपाएकालाई मन्त्री बनाउने हाम्रो योजना हो ।’







प्रतिकृया दिनुहोस