• २०८३ श्रावण २५ सोमबार
  • Monday, 10 August, 2026

रवि पक्षीय सांसदले प्रधानमन्त्री बालेनमाथि संसदमा उठाए प्रश्न

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले ग्यासको अभावबाट नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न तत्काल इन्डक्सन चुल्हो वितरणको योजना ल्याउन सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । खाना पकाउने ग्यासका लागि सर्वसाधारण मध्यरातसम्म लाइनमा बस्नुपरेकोतर्फ समेत सरकारको ध्यानाकर्षण गराइन् । एकातिर देशमा विद्युत् खेर गइरहेको र अर्कोतिर खाना पकाउने ग्यासका लागि नागरिकले घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको वैकल्पिक उर्जाको प्रयोगमार्फत समस्या हल गर्नुपर्ने उनको भनाइ थियो ।

‘भान्सामा साँझ र बिहानको छाक टार्न धौधौ परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन् । आखिर नागरिकले यस्तो सास्ती कहिलेसम्म भोगिरहनुपर्ने हो सरकार ? एकातिर देशमा बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ । यो भन्दा ठूलो बिडम्बना अरु के हुन सक्छ,' उनले भनिन्, 'यदि ग्यासको यो सास्तीबाट नागरिकलाई साँच्चिकै राहत दिने हो भने अब ग्यासका लागि लाइन होइन इन्डक्सन चुल्हो बाँड्ने योजना सरकारले तत्काल ल्याओस् । ग्यासको आपूर्तिमा पटक पटक समस्या भइरहँदा पनि विद्युत खपतमा लगाइएका नीतिहरुले वैकल्पिक इन्धनको प्रयोगलाई कतै निरुत्साहित त बनाइरहेको छैन ? सरकार यसमा गम्भीर बनोस् ।’

सांसद अधिकारीले ग्यास आपूर्तिमा पटकपटक समस्या देखिए पनि विद्युत् खपतसम्बन्धी नीतिले वैकल्पिक इन्धनको प्रयोगलाई निरुत्साहित गरिरहेको हो कि भन्ने कुरामा समेत सरकार गम्भीर हुनुपर्ने बताइन् ।

यसैबीच 

प्रमुख प्रतिपक्ष दलहरूले ‘नेपालले भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्तिबारे प्रधानमन्त्री वालेन्द्र शाहको जवाफ दिनुपर्ने मागलाई निरन्तरता दिएका छन् । कांग्रेस, एमाले र नेकपाका सांसदहरूले सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले संसद्‌को मर्यादालाई सम्मान गर्दै जवाफ दिन माग गरे ।

उनीहरूले शनिबार प्रधानमन्त्रीले समाजिक सञ्जालमा दिएको 'कहिलेकाहिँ एक्लै लड्नपर्छ’ भन्ने अभिव्यक्तिमाथि टिप्पणी गर्दै राष्ट्रिय हितका मुद्दामा प्रतिपक्षहरूको साथ रहेको बताए ।

कांग्रेस सांसद रेनुका काउछाले सभामुख डीपी अर्याललाई सीमासम्बन्धी विवादबारे प्रधानमन्त्री शाहलाई जवाफ दिन रुलिङ गर्न आग्रह गरे । 

‘सीमासम्बन्धी अभिव्यक्ति एउटा राजनीतिक भाषण होइन, यो नेपालको कुटनीतिक धारणा, दुई पक्षीय सम्बन्ध र अन्तराष्ट्रिय विश्वसनीयतामाथि समेत प्रभाव पार्छ । तर प्रधानमन्त्रीज्यूका पछिल्ला कार्यशैलीले त्यही अन्तराष्ट्रिय प्रतिष्ठामाथि आँच आउनु दुःखद् हो । विदेश नीति भाषणको विषय होइन, राज्यको दीर्घकालीन जिम्मेवारी हो’, उनले भनिन्, ‘प्रतिपक्षसँग नडाराउनुस्, प्रतिपक्षसँग संवाद गर्नुहोस् । तपाईं एक्लो हुनुहुन्न, मुलुकको हितमा अघि बढ्नुहोस् । सभामुखले रुलिङ गरेर प्रधानमत्रीलाई जवाफ दिन बोलाउनुस् । घेराबन्दी होइन, जवाफदेही बनाउन खोजेका छौं । सरकारलाई सफल बनाउन खोजेका छौं ।’

उनले प्रतिपक्षसँग संवाद गर्न आग्रह गरिन् । ‘प्रधानमन्त्रीज्यू प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन, सरकारलाई सचेत गराउनु अपमान होइन । तर अचम्म के छ भने प्रतिपक्षले दैनिक प्रश्न उठाउँदा जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्तापक्षकै सांसदहरूले खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरातमा एक्लो महसुस भयो भन्ने अभिव्यक्ति दिने अवस्था कसरी आयो ?,’ उनले थपिन्, ‘प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो ? यसको अनुमान विभिन्न ढंगले गर्न सकिन्छ । र प्रतिपक्षको तर्फबाट म आज एउटा कुरा स्पष्ट भन्न चाहन्छुँ, कालो चश्मा खोल्नुहोस् तपाईं एक्लो हुनुहुन्न । मुलुकको हितमा चाल्ने सही कदममा प्रतिपक्ष साथमा छ ।'

उनले विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्य मान्यता, संविधान र संसदीय मर्यादा र संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन नबस्ने बताइन् । ‘प्रधानमन्त्रीज्यू तपाईं मान्नुस या नमान्नुस,  प्रधानमन्त्री सत्तापक्षको मात्र होइन, हामी सबै नेपालीको हो,’ उनले भनिन्, ‘यसैले प्रश्न गर्न चाहन्छु, दैनिक संसद्‌मा उठिरहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिले तपाईंको राजनीतिक शाखमा असर परेको महसुस गर्नुभएको छैन ? प्रतिपक्ष तपाईंको अपमान गर्दैन, हामी तपाईको ओज घटाउन होइन, बढाउन खोजिरहेका छौं ।’

एमाले सांसद नीता घतानीले नेपालले भारतको केही जग्गा मिचेको अभिव्यक्ति कुन प्रमाणको आधारमा बोलेको भन्दै प्रश्न गरिन् ।

‘प्रधामन्त्रीज्यूले कुन तथ्यको आधारमा बोल्नु भयो ? सीमा कुनै राजनीतिक मजाक होइन । सीमा हाम्रो सार्वभौमसित्ता, भूगोल र पूर्खाले जोगाएर हामीलाई सुम्पिएको नेपाली अस्तित्व हो,’ उनको थप भनाइ थियो, ‘म सत्तापक्षका माननीयलाई आग्रह गर्नै चाहन्छुँ । गलत अभिव्यक्तिको बचाव नगर्नुहोस्, नेपालको भूगोलका पक्षमा उभिनुहोस् । किनकि सत्ता र सरकार पद अस्थायी हुन्छ तर नेपाल सँधै स्थायी हो ।’

नेकपाका सांसद गणेशबहादुर विश्वकर्माले प्रधानमन्त्री शाहले १७ जेठ नेपालले भूमि मिचेको अभिव्यक्ति दिए पनि जवाफ नआएकोमा आपत्ति जनाए । 

‘राष्ट्रियताको रक्षाका लागि यस संसद्‌मा सबै पतिपक्षले ६८ दिनदेखि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइरहेका छौं,’ उनले भने, ‘प्रधानमन्त्रज्यूले संसद‌्‌मा उभिएर स्पष्टिकरण दिनुपर्ने कि संसद्‌को रेकर्डबाट हटाउन माग गरिरहेका छौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर