• २०८३ श्रावण २६ मंगलबार
  • Tuesday, 11 August, 2026

प्रचण्डले भनेः हेटौंडा कपडा उद्योगको अध्ययन मैरै पालामा भएको थियो

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि आफ्नै सरकारको नेतृत्वकालमा सम्भाव्यता अध्ययन गराइएको स्मरण गराएका छन्।

बालेन सरकारले उक्त उद्योग पुनः सञ्चालनको तयारी गरेपछि खुसी व्यक्त गर्दै उनले आफूले थालेको प्रक्रिया पुनः अघि बढ्नु सुखद भएको बताएका हुन्।

सोमबार सामाजिक सञ्जालमार्फत् संयोजक प्रचण्डले भनेका छन्, ‘मैले सरकारको नेतृत्व गर्दा हेटौंडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार भएको थियो। आफूले थालेको प्रक्रिया पुनः अघि बढ्दा खुसी लागेको छ।’

सोही अध्ययनका आधारमा आफूले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने विषय अघि बढाएको उनले उल्लेख गरे।

सघन गृहकार्य गरेर अघि सारिएको यो प्रक्रिया आफू सरकारबाट बाहिरिएसँगै रोकिएको र अहिले पुनः सुरु हुनु सकारात्मक भएको उनको भनाइ छ।

हेटौंडा कपडा उद्योग सञ्चालनमा आउँदा कपडा उपभोगमा रहेको आयातनिर्भरता घट्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे।

हेटौंडासँगै सम्भावना भएका अन्य सार्वजनिक उद्योगहरूलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुनः सञ्चालन गर्न सरकारसँग आग्रह गर्दै प्रचण्डले स्वदेशी उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न यस प्रक्रियालाई परिणाममुखी ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर