काठमाडौं झर्नेवित्तिकै देउवाले भनेः राष्ट्रियता सुदृढ गर्न फर्किएको छु
काठमाडौं । जेन्जी आन्दाेलनका क्रममा महलामा परेपछि उपचारका लागि विदेश गएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किए । काठमाडाैं झरे लगत्तै उनले आफू राष्ट्रियता सुदृढ गर्ने उद्देश्य बोकेर स्वेश फर्किएको बताएका छन्।
बिहीबार दिउँसो बैंककबाट काठमाडौँ आइपुगेका देउवाले लामो विज्ञप्ति जारी गर्दै विगतका विभाजन र विद्वेषका सबै घाउहरु निको पार्न पनि आह्वान गरेका छन्।
‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ,’ देउवाको भनाइ छ, ‘०३३ सालमा बिपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको थियो। मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ।’
उनले प्रतिशोधभन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गरेका छन्।
‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु, विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु,’ उनले भनेका छन्।
साथै देउवाले कांग्रेसभित्र देखिएको अहसमति र निराशा तुरून्त समाधान हुनुपर्ने बताएका छन्।
‘नेपाली कांग्रेस आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आजको आवश्यकता हो, सबै मिलेर देशको राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण गर्नुपर्छ,’ उनले भने, ‘संसदमा कांग्रेस अंकगणितीय रूपमा सानो-ठूलो भयो होला, तर २००७ सालदेखि राजनीतिक परिवर्तनको हरेक खुट्किलोको नेतृत्वकर्ता हो- कांग्रेस।’
यसैबीच नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि केन्द्रीय कार्यालय सानेपामा जारी छ।
सभापति गगन थापाले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेशमा स्वागत छ भन्दै आजको बैठक सुरूवात गरेका छन्।
‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्यलाभ कामनासहित स्वदेशमा स्वागत गर्दछु,’ सभापति थापाले केन्द्रीय कार्यसमिति बैठकमा भनेका कुरा उद्धृत गर्दै एक जना केन्द्रीय सदस्यले सेतोपाटीसँग भने।
देउवा ५ महिनापछि आज स्वदेश फर्केका छन्। उनी गत फागुनमा सिंगापुर गएका थिए। सिंगापुरका अस्पतालमा उपचार गराएर थप उपचार गर्न उनी हङकङ पनि गएका थिए।








प्रतिकृया दिनुहोस