विशेष अधिवेशनलाई मैले स्वीकार गरेको छैन– देउवा
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवादको निकास एकताबाटै खोजिनुपर्ने बताएका छन्। उनले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पार्दै सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने र त्यसपछि पार्टीभित्र एकता कायम हुने विश्वास व्यक्त गरेका छन्।
शनिबार महाराजगञ्जस्थित निवासमा पुगेका पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले पार्टीको विशेष महाधिवेशनविरुद्ध आफूहरूले कानुनी बाटो रोजिसकेको बताए। सर्वोच्चमा विचाराधीन विषयमा अदालतको निर्णय नआएसम्म आफूले धेरै टिप्पणी नगर्ने उनको भनाइ थियो।
‘पार्टी सम्पूर्ण रूपमा एक हुनुपर्छ भन्ने मेरो धारणा हो। विशेष अधिवेशनलाई मैले स्वीकार गरेको छैन,’ देउवाले भने, ‘त्यसविरुद्ध हामीले मुद्दा दिएका छौँ। पुनरवलोकन नभएसम्म यस विषयमा धेरै बोल्नु उचित हुँदैन। मलाई विश्वास छ, अदालतबाट न्याय हुन्छ र त्यसपछि पार्टी एकता हुन्छ।’
पार्टीभित्रको विवादसँगै देउवाले लोकतन्त्रको आधारका रूपमा स्वतन्त्र प्रेसको भूमिकालाई महत्वपूर्ण रहेको बताए। सञ्चारमाध्यमले कुनै व्यक्ति वा समूहको पक्ष–विपक्षमा नभई तथ्य र निष्पक्षताका आधारमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ।
‘स्वतन्त्र पत्रकारिता प्रजातन्त्रका लागि अत्यन्त आवश्यक कुरा हो। को मेरो पक्षमा छ वा छैन भन्ने कुरा होइन,’ देउवाले भने। पत्रकारिताले व्यक्तिपूजालाई प्रोत्साहन गर्न नहुने उल्लेख गर्दै उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत पक्ष भएको बताए। ‘व्यक्तिपूजा होइन, प्रेसले निष्पक्ष रूपमा हेर्नुपर्छ। प्रेस स्वतन्त्रता हरेक लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण हुन्छ,’ उनले भने।
देउवाले अब सुदूरपश्चिम भ्रमण गर्ने इच्छा पनि व्यक्त गरेका छन्। विशेषगरी आफूले लामो समयदेखि राजनीतिक आधार बनाउँदै आएको डडेलधुरा पुगेर स्थानीयसँग भेटघाट गर्ने र धार्मिक स्थलमा दर्शन गर्ने उनको योजना छ। ‘सुदूरपश्चिम जान मन छ। अझ डडेलधुरा जान मन छ। त्यहाँका दाजुभाइले मलाई सधैँ जिताएका छन्। उहाँहरूलाई भेट्न मन छ, देवीदेवताका दर्शन गर्न मन छ,’ देउवाले भने।
सुदूरपश्चिमसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै देउवाले उक्त क्षेत्रबाट आफूले धेरै माया पाएको बताए। तर, आफूले अपेक्षाअनुसार विकास निर्माणका काम अघि बढाउन नसकेको उनको आत्मस्वीकारोक्ति थियो। ‘मैले सुदूरपश्चिममा जति गर्नुपर्ने हो, त्यति गर्न पाएको छैन। सुदूरपश्चिमले मलाई धेरै दिएको छ,’ देउवाले भने।







प्रतिकृया दिनुहोस