‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ले कमायाे २ अर्ब डलर

एजेन्सी । टम हल्याण्ड स्टारर बहुचर्चित सुपरहिरो फिल्म ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गर्दै विश्वव्यापी २ अर्ब डलरभन्दा बढी कमाइ गरेको छ । उत्तर अमेरिकाबाट ७८ करोड ५८ लाख डलर र अन्तर्राष्ट्रिय बजारबाट १ अर्ब २० करोड डलरभन्दा बढी कमाइ गर्दै यस फिल्मले विश्वव्यापी आम्दानी २ अर्ब २ करोड २० लाख डलर पार गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रदर्शनको तेस्रो सप्ताहन्त पूरा हुँदै गर्दा यस फिल्मले कमाइको महत्वपूर्ण कोसेढुंगा पार गरेको हो । जसले गर्दा ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ इतिहासमै सर्वाधिक छिटो २ अर्ब डलर कमाउने दोस्रो फिल्म बनेको छ । यसअघि सन् २०१९ मा ‘एभेन्जर्सः इन्डगेम’ ले मात्र ११ दिनमै २ अर्ब डलरको आँकडा पार गरेको थियो । जबकी ‘ब्रान्ड न्यु डे’ लाई १९ दिन लागेको छ । 

विश्वभर २ अर्ब डलरभन्दा बढी कमाउने सीमित फिल्महरूको सुचीमा ‘ब्रान्ड न्यु डे’ बाहेक यसअघि नै ‘अवतार’, ‘एभेन्जर्सः इन्डगेम’, ‘ने झा २’, ‘अवतारः द वे अफ वाटर’, ‘टाइटानिक’, ‘स्टार वार्सः द फोर्स अवेकन्स’ र ‘एभेन्जर्सः इन्फिनिटी वार’ पनि रहेका छन् । यस दशकमा मात्र ‘ब्रान्ड न्यु डे’ सहित तीनवटा फिल्मले २ अर्ब डलर कमाइको आँकडा पार गरिसकेका छन् । जसमा सन् २०२२ मा ‘अवतारः द वे अफ वाटर’ र गतवर्ष चिनियाँ फिल्म ‘ने झा २’ ले यो उपलब्धि हासिल गरेका हुन् ।

गत जुलाई ३१ देखि प्रदर्शनमा आएको ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले रिलिज भएदेखि नै लगातार नयाँ–नयाँ कीर्तिमानहरू बनाउँदै आएको छ । प्रदर्शनको पहिलो सप्ताहन्तमा उत्तर अमेरिकामा मात्र ३६ करोड डलर कमाउँदै यसले ‘एभेन्जर्सः इन्डगेम’ को ३५ करोड ७० लाख डलरको रेकर्डलाई पछि मात्रै पारेन, हालसम्मकै सबैभन्दा ठूलो घरेलु ओपनिङको कीर्तिमान पनि बनायो । त्यसैगरी, विश्वव्यापी रूपमा ९२ करोड ७० लाख डलरको ओपनिङसहित यस फिल्मले प्रदर्शनको छैठौं दिनमै १ अर्ब डलर कमाइ गर्न सफल भएको थियो । हाल प्रदर्शनको तेस्रो सातामा आइपुग्दा समेत यो फिल्म घरेलु बक्स अफिसमा निरन्तर पहिलो स्थानमा रहँदै थप ७ करोड डलर कमाइ गर्न सफल भएको छ । 

उत्तर अमेरिकी बक्स अफिसमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड भने सन् २०१५ को ‘स्टार वार्सः द फोर्स अवेकन्स’ को नाममा छ, जसले घरेलु बक्सअफिसमा ९३ करोड ६० लाख डलरभन्दा बढी कमाएको थियो । ‘ब्रान्ड न्यु डे’ ले पनि उत्कृष्ट व्यापार गर्दै सोही आँकडालाई पछ्याइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर