• २०८३ भदौ ४ बिहीबार
  • Thursday, 20 August, 2026

राप्रपामा भाँडभैलोः थापालाई लिङदेनले गरे निष्काशन, कमल थापाको विराेध

काठमाडौं । राप्रपाले बागमती प्रदेश संसदीय दल नेता तथा सांसद उद्धव थापालाई कारबाही गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रको निर्णय र निर्देशनविपरीत बागमतीमा नेकपा एमालेका सांसद किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन जनाएका संसदीय दल नेता थापालाई आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कारबाही गर्ने निर्णय गरेको हो।

संसदीय दल नेता थापालाई बुधबार राप्रपाले स्पष्टीकरण सोधे पनि उनले बुझाएका थिएनन्।

अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेश संसदीय दल नेता उद्धव थापालाई पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय भएको जानकारी दिए।

‘उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्न सिफारिस गर्ने निर्णय भएको छ,’ अध्यक्ष लिङ्देनले भने।

उनकाअनुसार साउन २० मा केन्द्रीय कार्यसम्पादन समितिले प्रदेश सरकारहरूमा सामेल नहुने निर्णय गरेको थियो। साउन २१ गते बागमतीका १२ जना सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालय बोलाएर यसबारे छलफल गरी जानकारीसमेत गराएको उनको भनाइ छ।

भदौ १ गते पनि बागमती प्रदेशमा सरकारको समर्थन र विरोधमा संलग्न नहुने भन्ने पत्र पठाइएको उनले बताए। ‘तर अचानक हिजो एमालेलाई समर्थन गर्ने भन्ने पत्र गयो यो अनुशासन उल्लंघन हो,’ उनले भने।

थापा २०७९ मंसिरमा भएको निर्वाचनमा काठमाडौं ८ को (ख) बाट निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर