गंगाले दिइन लामो स्पष्टीकरणः आरोप पुष्टि गर्ने चुनौती
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पुत्री एवं स्वकीय सचिव गङ्गा दाहालले आफ्नो परिवारमाथि लगाइएका आर्थिक आरोपहरूको खण्डन गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत लामाे स्पष्टीकरण दिँदै उनले आफू र आफ्नो परिवारविरुद्ध नियोजित रूपमा अफवाह फैलाइएको बताएकी छन् ।
विगतमा ‘दुबईमा ४० अर्ब रहेको’ र ‘भाटभटेनी लगायतका ठूला व्यापारिक घरानासँग साँठगाँठ रहेको’ भनी लगाइएका आरोपहरू पुष्टि हुन नसकेपछि अहिले फेरि ‘५० करोडको हावादारी हल्ला’ चलाइएको दाहालको भनाइ छ । उनले यस्ता आरोप फैलाउनेहरूलाई त्यसको पुष्टि गर्न सार्वजनिक चुनौती समेत दिएकी छिन् ।
‘राजनीतिक प्रतिशोध र विरोधी बन्नुको पनि सीमा हुन्छ होला ! कुनै पनि आरोप पुष्टि नभएपछि अहिले बजारमा ५० करोडको हावादारी हल्ला चलाउन खोजिएको रहेछ,’ दाहालले लेखेकी छिन्, ‘म सार्वजनिक रूपमा चुनौती दिन चाहन्छु, अफवाह फैलाउनेहरूले यसको पुष्टि गर्न सक्छन् ?’
आफू र आफ्नो परिवार जुनसुकै कानुनी छानबिनका लागि सधैँ तयार रहेको उल्लेख गर्दै उनले भनिन्, ‘हामीले हाम्रो सम्पत्ति विवरण सरकार समक्ष केही समयअघि नै बुझाइसकेका छौँ । सरकारले गर्ने जुनसुकै अनुसन्धानका लागि हाम्रो सहयोग रहनेछ । गलत गरेको पुष्टि भए कारबाही भोग्नेछौँ ।’
आफ्नो बाल्यकाल क्रान्ति र असामान्य परिस्थितिमा बितेको स्मरण गर्दै उनले जनतालाई धोका दिनुभन्दा मृत्यु स्वीकार गर्ने आफ्नो ‘स्कुलिङ’ रहेको बताइन् ।
‘हामी मृत्युको मुखबाट बाँचेर आएका हौँ । हामीलाई के गर्न हुन्छ, के गर्न हुँदैन, राम्रोसँग थाहा छ,’ उनले भनेकी छन्, ‘हामी मृत्युवरण गर्छौँ तर जनतालाई धोका दिन सक्दैनौँ, यही नै हाम्रो स्कुलिङ हो ।’
छोरीको नाताले बुवालाई सहयोग गर्नुलाई ‘अपराध’ को रूपमा चित्रण नगर्न पनि उनले आग्रह गरेकी छिन् । बेला-बेलामा यस्ता नियोजित अफवाहहरू किन र कुन उद्देश्यले फैलाइन्छ भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएकी छिन् ।
यस्ताे छ उनकाे धारणाः
नमस्कार,
समाज परिवर्तनको क्रान्तिमा होमिएको हाम्रो बाल्यकाल असामान्य ढंगले बित्यो। भोलिको बिहानीको आशासमेत नगरी अनेकौँ रातहरू बिताएका हामीले आज सुन्नै नसकिने आरोप सार्वजनिक रुपमै सुन्नुपर्दा दुख लागेको छ र गम्भिर ध्यानाकर्षण पनि भएको छ।
केही समयअघिसम्म चर्को स्वरमा भनियो, “फलानोसँग दुबईमा ४० अर्ब छ, नेपालका ठूला घरजग्गा यिनीहरूकै हुन्, भाटभटेनी र अरू कति-कति सबै यिनीहरूकै हुन्।” हामी चुप बस्यौँ, लाग्यो “नजाने गाउँको बाटै नसोध्नु।”
तर अब बोल्नैपर्ने भयो। राजनीतिक प्रतिशोध र विरोधी बन्नुको पनि सीमा हुन्छ होला! कुनै पनि आरोप पुष्टि नभएपछि बजारमा अहिले ४० अर्बको ठाउँमा ५० करोडको हावादारी हल्ला चलाउन खोजिएको रहेछ। म सार्वजनिक रूपमा चुनौती दिन चाहन्छु, अफवाह फैलाउनेहरूले यसको पुष्टि गर्न सक्छन्? हेक्का रहोस्, सत्य अन्ततः सत्य नै हुन्छ।
मैले पटक-पटक भनिरहेकी छु, हामीले हजारौ सहिदको रगत साटेर बनाएको संविधान र कानुनबमोजिम, जुनसुकै निकायले गर्ने कानुनी छानबिनका लागि म र मेरो परिवार सदैव तयार छौँ। तर फेरि पनि बेला-बेलामा यस्ता अफवाह किन फैलाइन्छन्? कुन उद्देश्यका साथ फैलाईन्छन्? म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
हामी मृत्युको मुखबाट बाँचेर आएका हौँ। हामीलाई के गर्न हुन्छ, के गर्न हुँदैन, राम्रोसँग थाहा छ। हामी मृत्युवरण गर्छौं तर जनतालाई धोका दिन सक्दैनौ यहि नै हाम्रो स्कुलिंग हो। आफ्नो व्यक्तिगत जीवनसमेत नभनी मैले मेरो बुवालाई छोरीको नाताले सहयोग गर्नु नै मेरो अपराध हो त? म यस समाजका अगुवाहरूलाई प्रश्न गर्न चाहन्छु। म हरेक आमा बुवालाई प्रश्न गर्न चाहन्छु।
हामीबाट कुनै आर्थिक गलत गतिविधि र पदको दुरुपयोग भएको छैन र भोलीका दिनमा पनि हुने छैन। म फेरिपनि स्मरण गराउन चाहन्छु कि हामीले हाम्रो सम्पत्ति विवरण सरकार समक्ष केहि समय अघि नै बुझाईसकेका छौं। सरकारले गर्ने जुनसुकै अनुसंधानका लागि हाम्रो सहयोग रहनेछ, गलत गरेको पुष्टि भए कारवाही भोग्नेछौं। तर बिनाकारण र बिना गल्तिको आरोप स्विकार्य छैन। यि सबै खाले आरोप म अस्वीकार गर्दछु।
म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई कुनै पनि भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु।







प्रतिकृया दिनुहोस