ट्रम्पले भनेः हर्मुज जलमार्ग ‘अमेरिकी भूभाग’
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गलाई ‘अमेरिकी भूभाग’का रूपमा हेर्ने गरेको बताएका छन् । इरानसँगको युद्ध अन्त्य गर्न वार्ता प्रयास भइरहे पनि अमेरिकाले इरानी पानीजहाज र बन्दरगाहमाथि सैन्य नाकाबन्दी जारी राखेको छ ।
दक्षिण क्यारोलिनामा शुक्रबार आयोजित कार्यक्रममा ट्रम्पले भने, ‘हामीले जित्यौं कि जितेनौं भन्ने पनि थाहा छैन, किनभने अहिले म हर्मुज जलमार्गलाई अमेरिकी भूभागका रूपमा हेर्छु ।’ उनी सिनेटर डार्लिन ग्राहमका लागि चुनावी अभियानमा सहभागी भएका थिए । दिवंगत सिनेटर लिन्डसे ग्राहमकी बहिनी डार्लिन उनका दाजुको रिक्त सिनेट सिटका लागि प्रतिस्पर्धा गर्दैछिन् ।
कार्यक्रममा ट्रम्पले इरानमाथि थप बमबारी गर्ने विषयमा पनि टिप्पणी गरे । ‘आज शुक्रबार राति हो । हामीसँग प्रशस्त समय छ,’ उनले भने । त्यसपछि उनले चुनावी सभामा बारम्बार सुनाउने ‘द स्नेक’ कविता प्रस्तुत गरेका थिए । उक्त कविता उनले आप्रवासीविरोधी नीतिको समर्थनमा प्रयोग गर्दै आएका छन् ।
‘मैले के गर्नुपर्छ त ? फेरि गएर इरानमा अलि बढी बमबारी गर्नुपर्छ ?’ ट्रम्पले भने ।
अमेरिकी सेनाले नाकाबन्दी पालना गराउन शुक्रबारसम्म ६८ वटा व्यावसायिक पानीजहाजको मार्ग परिवर्तन गराएको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले जनाएको छ ।
अमेरिका र इरानबीच शान्ति सम्झौता हुन नसकिरहेका बेला द्वन्द्व करिब ६ महिनातर्फ अघि बढेको छ । ट्रम्प प्रशासनले इरानमाथि आर्थिक दबाब बढाउन तेल निर्यातका लागि महत्वपूर्ण हर्मुज जलमार्गमा पहुँच सीमित गरिरहेको छ । विश्वको समुद्री मार्गबाट हुने कुल तेल आपूर्तिको करिब पाँच भागको एक भाग यही जलमार्ग हुँदै ओहोरदोहोर गर्छ । हर्मुज जलमार्ग इरान र ओमानको बीचमा पर्छ ।
ट्रम्पले गत साता नै हर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने चेतावनी दिएका थिए । न्युयोर्क प्रहरी प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले ‘नाकाबन्दीका कारण हामी त्यसलाई नियन्त्रण गर्छौं’ भन्दै आफूलाई जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने विचार मन परेको बताएका थिए ।
सोमबार पत्रकारसँग कुरा गर्दै उनले भनेका थिए, ‘हामी यसलाई नाकाबन्दीमार्फत नियन्त्रण गर्छौं र मलाई यसलाई भूभाग घोषणा गर्ने विचार मन पर्छ ।’
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा नक्सामा समेत हर्मुज जलमार्गलाई ‘नयाँ अमेरिकी भूभाग’ भनेर उल्लेख गरिएको थियो ।






प्रतिकृया दिनुहोस