निजानन्द (प्रणामी) संस्कारविधि भित्र प्रगतिशीलता
बिषय प्रवेश
हाम्रो समाज विविध धर्म, संस्कृतिहरुको साझा फूलबारीका रुपमा रहेको छ । शाह बंशको एकछत्र राज चल्नुभन्दा पहिले नेपालमा सबै जातजातिले स्वतन्त्रतापूर्वक आ–आफ्नो धार्मिक संस्कार मनाउँने गर्थे । असली हिन्दुस्तान बनाउने सोचका साथ नेपालको भौगोलिक एकीकरणपछि पनि पृथ्वीनारायण शाहले नेपाललाई चार बर्ण छत्तीस जातको साझा फूलबारी भनेका थिए । तर त्यहाँ हिन्दु वैदिक मान्यताको अधिनभित्र अन्य जातजातिलाई स्वतन्त्रता दिन कोशिस गरिएको थियो । राणाकालमा जंगबहादुर राणाले मनुस्मृतिलाई दह्रोसँग समातेर नेपाली समाजमा मुलुकी ऐन नै ल्याए अनि तागाधारी, मतुवाली, अछुत गरी विभिन्न ढंगले मानिसलाई विभाजन गरी हिन्दु धर्मलाई बलियो पार्ने प्रयत्न भयो । राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गर्ना साथ नेपाललाई हिन्दु राज्य नै बनाइदिए जसले गर्दा तीस बर्षको अवधिमा अन्य धर्म र संस्कृति मान्नेहरुले आफ्ना कतिपय सांस्कृतिक मान्यताहरुलाई संशोधन गरेर मात्र लागु गर्न सकेका थिए । नयाँ मुलुकी ऐन जारी गरेपनि समाजको सारलाई हिन्दु कर्मकाण्डीय भन्दा अलग गराएको थिएन । अहिले नेपाल धर्म निरपेक्ष राज्य बनेको छ तर पनि समाजमा हिन्दु सामन्तवादी सांस्कृतिक चेतना बलियोसँग रहेको छ । सयौं बर्षदेखि कायम रहेको एकल धर्मको जग भत्किएको त छ तर त्यो पुरातन चेतनामा बसेकाहरुले नयाँ सांस्कृतिक अभ्यास गर्नेहरु विरुद्ध तल्लो स्तरमा गालीगलौज गर्ने, क्रिश्चियनको पुर्जा भिंडाइदिने र डलरे भनी आरोपित गर्ने गरिरहेकैछन् । अब त नेपाली समाजमा पनि धेरै मानिसहरु भौतिकवादी सोंच र विचार अनुसारको संस्कृति र संस्कार विकास गर्ने प्रयासमा रहेका छन् ।
समाजमा सांस्कृतिक रुपान्तरणको प्रयास गर्नेहरुले धेरै कुराहरुमा परिवर्तन गर्दै आएका छन् । विभिन्न सामाजिक पृष्ठभूमीभित्र सांस्कृतिक रुपान्तरण गरी वैज्ञानिक विधि अनुसार मनाउँने प्रयत्नमा केही सफलता हासिल भए पनि जब मृत्यु संस्कारको कुरा आउँछ, तब परिवर्तनको बाटो हिंड्न खोज्नेहरुमाथि चौतर्फी आक्रमण हुने गर्छ र उसलाई असहाय बनाउँदै कथित स्वर्ग, नर्क, प्रेत जस्ता अवैज्ञानिक सोचाइमा जान बाध्य पारिन्छ । बाबुआमाको मृत्यु शोकमा परेको बेला अन्य आफन्तजनले गरुड पुराण जस्तो भय (हरर) साहित्य अनुसार कर्मकाण्ड नगरे नातासम्बन्ध नै तोड्ने अधिनायकवादी, अहंकारवादी शर्त अघि सार्ने भएकाले धेरैजना ईच्छा विपरित धार्मिक किरिया कर्ममा जान बाध्य हुन्छन् । वैदिक सनातन धर्मभित्रको कठोर किरियाविधिको विकल्पमा बहसहरु चलिरहेको भएता पनि व्यवहारमा धेरै कम मानिसहरु जान सकेका छन् । यसै सन्दर्भमा निजानन्द (प्रणामी) धर्म सम्बन्धमा पनि छलफल हुनु आवश्यक भएको छ । यथास्थितिको वैदिक कर्मकाण्डको विकल्पमा निजानन्द (प्रणामी) धर्मले आध्यात्मिक नै भए पनि सहज खाले सँस्कारविधि अंगिकार गरेको देखिन्छ ।
निजानन्द (प्रणामी) धर्मको उदय र नेपाल प्रवेश
निजानन्द (प्रणामी) धर्मको स्थापना १७ औं शताब्दीतिर भारतको जामनगरमा सतगुरु श्री देवचन्द्रजी महाराजले गरेको देखिन्छ । देवचन्द्रजीको शिष्य महामति श्री प्राणनाथजीले यो विचार र दर्शनलाई व्यापक विस्तार गरेको देखिन्छ । वैचारिक रुपले यो दर्शन आध्यात्मवाद नै हो । यस दर्शनले चारवटा कुराहरुलाई प्राथमिकता दिएको देखिन्छ । पहिलो, आत्माको जागरण अर्थात सांसारिक मायामोहमा अल्झिएका मानवजातिलाई अक्षरातित पूर्णब्रह्मको बाटो देखाउँनु । दोस्रो, तत्कालीन समयमा चलिरहेको हिन्दु (वैदिक सनातन) र मुस्लिमबीचको द्वन्द हटाई एक ईश्वर (एकमेव अद्वितीयम्) भन्ने सन्देश दिंदै वेद र कुरानका मर्महरुलाई समेट्नु । तेस्रो, समाजमा व्याप्त जातीय विभेदको अन्त्य गर्न कण्ठी धारण गराई सबै जातजाति, दलितहरुलाई सामाजिक समानताको पक्षमा लैजानु । चौथो, तारतम ज्ञान अर्थात विवेक र ब्रह्मज्ञान मार्फत सेवा र परम आनन्द (निजानन्द) प्राप्त गर्नु ।
निजानन्द (प्रणामी) धर्मले श्री कृष्णको ११ बर्ष ५२ दिनसम्मको समयलाई अक्षरातितको अंश मानेको पाइन्छ । कंशका दुई पत्नी (दिदी बैनी) अस्तु र प्राप्ति ले आफ्ना पिता जरासन्ध (मगधका राजा) लाई कंशबधका सबै कुरा भने पछि जरासन्धले यवन राजा कालयवन सहित मथुरामा आक्रमण गर्दछन् । सो आक्रमणबाट मथुरावासीलाई बचाउन मथुरावासी सहित श्रीकृष्ण द्वारका जान्छन् । यही अवस्थामा श्रीकृष्णमा विष्णुको अंश रहेको भनी प्रणामीहरुले क्षर अंशलाई खास महत्व दिंदैनन् । निजानन्द धर्मले आपसमा भेट गर्दा प्रणाम शब्दले सम्बोधन गर्ने हुँदा उनीहरुलाई प्रणामी भनिएको हुनसक्छ । प्रणामीहरुको सकारात्मक पक्ष भनेको जुनसुकै जात, समुदायका मानिसहरु भएपनि निजानन्द (प्रणामी) धर्म अंगिकार गरेपछि उनीहरु सुन्दरसाथ कहलाइन्छ र सबैलाई समान व्यवहार गरिन्छ ।
नेपालमा निजानन्द (प्रणामी) सम्प्रदायको प्रवेश भएको एक सतक कटिसकेको छ । नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको भनी मानिएको यो धर्म शुरुवातमा झापा, इलामतिर विस्तार हुँदै आएको हो । भारतको पन्नाबाट दीक्षा लिएर आएका इलाम जन्मथलो भएका गुरु मङ्गलदासजी महाराज लगायतका धर्मगुरुहरुको प्रभावले यो धर्मले राम्रोसँग फस्टाउने अवसर पायो ।
जब प्रणामी अर्थात निजानन्द सम्प्रदायको प्रवेश भयो, नेपालका वैदिक कर्मकाण्डमा बसेका धार्मिक विचारकहरुको मनमा ठूलो भय सृजना भयो । उनीहरुले निजानन्द (प्रणामी) सम्प्रदायलाई कलिलो अवस्थामै निमोठेर फ्याँक्न अनेक प्रपञ्च रचेका थिए । निजानन्द (प्रणामी) धर्मलाई मुसलमान धर्म भनेर समाजको तल्लो तहसम्म ती हिन्दुवादीहरुले प्रचार गरेका थिए ।
निजानन्द (प्रणामी) धर्मले वैदिक (सनातन) धर्म माथि गम्भीर चुनौती खडा गरिदिएको थियो । यो धर्मले मूर्तिपूजा नगर्ने, बहुदेवी देवताको पूजाको ठाउँमा एकेश्वरवादलाई स्वीकार्ने, जातपातको विभेदलाई नमान्ने, बलिप्रथा र मांसाहारको विरोध गर्ने, वेदका साथसाथै कुरानका कुराहरुलाई समेत समावेश गरी ‘तारतम सागर’ नामको ग्रन्थ पढ्ने पढाउने भएकाले वैदिक(सनातन) धर्मका पक्षधरहरुलाई यसले संकटमा पार्ने देखियो । त्यही भएको हुँदा निजानन्द (प्रणामी) धर्मको व्यापक विरोध भएको थियो । पण्डित ढुण्डिराज शास्त्री, पण्डित छविलाल पोखरेल, वेदान्ती पीताम्बर शास्त्री, पण्डित खेमराज केशबशरण लगायतकाले निजानन्द (प्रणामी) धर्मको व्यापक विरोध गरेका थिए । निजानन्द (प्रणामी) धर्मका अनुयायीहरुले अक्षरातित पूर्णब्रह्मका रुपमा मुकुट (प्रतिक), तारम सागर (स्वरुप साहेब), मयूरको पंख, बाँसुरीलाई पीठमा राखेर पूजा गर्छन् । श्रीकृष्णलाई अक्षरातित अंश भनेको भएता पनि यी वेद पक्षधर पण्डितहरुले मुकुट पूजा, वेदलाई महत्व नदिएको झोंकमा निजानन्द (प्रणामी) धर्मलाई मुसलमान धर्म समेत भनिदिएका थिए । निजानन्द (प्रणामी) धर्मले जुठो वा सुतक बार्ने काम गर्ने भन्दा सो अवधिमा जटिल नियमको सट्टामा परिवारले सात्विक भोजन गर्ने, भजन किर्तन गर्ने कार्य गर्छन् जुनकुरा वैदिक सनातन धर्मको नियम विरुद्ध हुन्छ ।
वैदिक किरियाविधि भर्सेज निजानन्द संस्कारविधि
निजानन्द (प्रणामी) धर्मले मानिसलाई कष्टपूर्ण ढंगले गर्ने किरियाविधिको विपरित सरल, सहज र आत्मिक सुखमा बसेर मृतात्मालाई तारतम पाठबाट पूर्णब्रह्म परमात्मासँग एकाकार गराउँने तर्क गर्छ । यसले मृत आत्मालाई प्रेतात्मा बनाएर तेह्र दिनसम्म किरिया बार्ने प्रचलनलाई महत्व दिंदैन । निजानन्द (प्रणामी) धर्मका प्रचारक महामति प्राणनाथले भन्नुभएको छ :
आतम मूल सरुपा, हिरदे में धरया
अर्थात हृदयमा आफ्नो मूल स्वरुप (अक्षरातित परब्रह्म) को पहिचान गर्नु नै साँचो किरिया हो । (वाणी सन्देश : प्रकाश हिन्दुस्तानी १२/४३)
श्री प्राणनाथका अनुसार ‘तारतम ज्ञान’ र ‘चितवनि (ध्यान)’ बाट नै यो मायामोहको बन्धनबाट परमात्मालाई प्राप्त गर्न सकिन्छ । वहाँ भन्नुहुन्छ :
मिली मासूक के माहोल में माननी, आसिक अंग न माहें अंग ।
जानूं जामनी बीच जुदी हुती हक जात से, पेहेचान हुई प्राप्त हुवे पिउ सांग । (किरन्तन ११७/१)
अर्थात जब आत्माले आफ्नो प्रियतम (अक्षरातित श्री राज श्यामाजी) लाई चिन्दछ, तब अज्ञानताको रात समाप्त हुन्छ र परमात्मासँग अभिन्न मिलन हुन्छ ।
निजानन्द (प्रणामी) धर्म पनि आध्यात्मवादी दर्शन नै भएकोले यसले पनि आत्मालाई परमात्मासँग मिलन गर्ने विषयवस्तुलाई स्वीकारेको छ तर वैदिक सनातन धर्मका पक्षधरहरुले झैं यस धर्मले मृत आत्मालाई प्रेतात्मा बनाएर यमलोक चहार्ने कथा बुन्दै मृतकका सन्तान वा जीवनसाथीलाई कठोर नियममा बाँधेर राख्ने कार्य गरेको छैन । यसकारण पनि यो धर्मको किरियाविधि वस्तुवादी देखिन्छ ।
निजानन्द (प्रणामी) धर्मका अनुयायीहरुले मृतकको मृत संस्कार गर्दा चोखो वस्त्र, सेतो लुङ्गी, सेतो गन्जी/ भोटो धारण गरेर प्रार्थना गर्ने, शोकव्रतीले सेतो लुगा च्यातेर शरीरमा बेर्नु पर्दैन, छुवाछुत बार्नु पर्दैन, मृतकको सम्झनामा फोटो र फोटोको छेउमा दियो बालिदिनुपर्छ भनिएको छ । त्यस्तै यो धर्म मान्नेहरुले प्रेतात्मा सृजना गर्ने तिर लाग्न हुँदैन भन्दै प्रेत नै नबनाएपछि १० दिन बार्न पनि परेन र केवल तीन दिन शोक संस्कार गरे पुग्छ भनिएको छ । (निजानन्द संस्कारविधि, श्री लक्ष्मीकान्त शर्मा, श्रीकृष्ण प्रणामी साहित्य तथा संस्कृति परिषद्, बिराटनगर, नेपाल, २०७५)
यस धर्मले कथित वैतरणी नदी पार गर्ने कुरा, गाइ दान गर्ने कुरालाई स्वीकार गर्दैन । शोकमा रहेको बेला भजन किर्तन समेत गर्छन, जुन वैदिक सनातन धर्म पक्षधरलाई स्वीकार्य छैन । यसरी हेर्दा वैदिक सनातन धर्म पक्षधरहरुको कठिन र मानिसलाई रोगी र मर्ने अवस्था सम्म पुर्याउने किरियाविधिलाई निजानन्द (प्रणामी) धर्म पक्षधर मृत्यु संस्कारविधिले विस्थापन गर्न सक्ने देखिन्छ । यो अवस्था आउन नदिन प्रणामीहरुको बद्नाम गर्ने र मृत्युसंस्कारलाई कायम राखेर उत्पादनशील श्रम नगरी स्वर्ग तार्ने ब्राह्मणहरुको पक्षपोषण गर्न खोजेको देखिन्छ ।
निजानन्द संस्कारविधि र प्रगतिशीलता
भौतिकवादीहरु सामान्यत: सबैखाले आध्यात्मवादको विरुद्ध खडा हुन्छन् । निजानन्द (प्रणामी) धर्म पनि आध्यात्मवादकै एक हाँगा भएकोले यसले पनि काल्पनिक ईश्वरको उपासना र त्यसको प्राप्तिलाई अभिष्ट बनाएको छ । द्वन्दात्मक भौतिकवादले समाजको विशिष्ठताका आधारमा भौतिक नियमहरुलाई लागु गर्न सिकाएको छ । सामाजिक चलन र धार्मिक आडम्बर एउटै कुरा हैन । समाजमा पहिले सामाजिक चलन चलेको हो र त्यो चलनलाई मानिसको अज्ञानी मस्तिष्कले ईश्वरको लीलाको रुपमा बुझेको हो । जब सामन्तवादी समाजको विकास भयो, तब राज्यसत्ताको रक्षा गर्न सेनाले मात्र नसक्ने भएको हुँदा ईश्वरीय दुतहरु, अवतारहरु, धर्मगुरुहरुको विकास गरियो । ती धर्मगुरु, अवतारहरुले चलेको चलनलाई धार्मिक अलंकारमा डुबाइदिए ।
प्राणनाथले वेदको ज्ञानलाई पनि अपुरो ठान्दै भन्नुभएको छ :
कोट करो नरमेध, अश्वमेध अनंत ।
अनेक धरम करा विषे, तीरथ वास अनंत ।।
सिद्ध करो साधना, विप्र मुख वेद वदन्त ।
सकल क्रिया सूं धरम पालतां, दया करो जीव जंत ।। (किरन्तन प्रकरण ७०/९)
अर्थात, असंख्य नरमेध, अश्वमेध यज्ञ गरे पनि, विभिन्न धर्म–कर्म, तीर्थवास, कठिन साधना तथा वेद पाठ गरे पनि सबैभन्दा उत्तम धर्म भनेको प्राणि मात्रमा दया भाव राख्नु हो ।
यही श्लोकले वैदिक धर्मको बलिप्रथाको उछितो काढेको छ । वैदिक धर्म मान्नेहरुले वैदिक मन्त्रबाट युक्त गरेपछि बलि दिएका पशुपक्षीले मुक्ति पाउँछन् भन्ने गर्छन् र बलि प्रथालाई धार्मिक कार्यमा संलग्न गर्छन् । निजानन्द (प्रणामी) धर्मले यसखाले प्रबृत्तिको विरोध गरेका कारण यो धर्मलाई वेद विरोधी भनेर निन्दा समेत गरिएको छ । जैन र बौद्ध धर्मको अहिंसा तत्वबाट प्रभावित भएका कारण महामति प्राणनाथ को वाणीहरुमा सहजै पशु एवं मानव बलि प्रति विरोध देखिन्छ । (रवीन्द्र कुमार रवि, महामति प्राणनाथ : एक समाज-सुधारक व्यक्तित्व, अपनी माटी, डिसेम्बर ३१ २०२५)
महामति प्राणनाथले वेदको ज्ञानका बारेमा अझ प्रष्ट पार्दै भन्नुभएको छ :
फिरके सबों ने यों कह्या, ए तो दुनिया चौदे तबक ।
ढूंढ ढूंढ के सब थके, पर पाया नहीं हक ।।
वेद कतेव पढ(पढ थके, केहे केहे थके इलम ।
कह्या तिनों मुख अपने, ठौर कायम न पाया हम ।। ( खुलासा, प्र. १६/२–३)
अर्थात, संसारका विभिन्न सम्प्रदाय, वेद र अन्य ग्रन्थ पढेर खोज्दा खोज्दै मानिसहरू थाके, तर कसैले पनि चौध लोकमा वास्तविक हकको स्थिर ठेगाना फेला पार्न सकेनन् ।
भारतीय शोधकर्ता डा. राजबाला सिडानाले भनेका छन्, “सन्त कविर र महामति प्राणनाथका बीचमा हिन्दु–मुस्लिम एकता संगसंगै दुबै धर्मका पाखण्डपूर्ण रीति र सामाजिक खराबीको विरोधमा एक मत रहेको देखिन्छ ।” (प्राणनाथ और उनके साहित्य, पृष्ठ २५६)
यसरी हेर्दा प्रणामी धर्म र कविर धर्मले तत्कालीन वैदिक समाजको दबदबा र मुस्लिम समाजको आक्रमक हस्तक्षेपका बीच पनि प्रगतिशील ढंगले समाज र धर्मलाई डोर्याउन खोजेको देखिन्छ ।
जसरी एकल धर्म भएको राज्यको ठाउँमा सबै धर्मको साझा राज्य बनाउने धर्म निरपेक्षतालाई प्रगतिशील मानिन्छ, त्यसै गरी कठोर, मानवद्वेशी, भेदभावयुक्त धर्मको विकल्पमा सरल, सहज र मानवबीच भेदभाव नगर्ने धर्म एकहदसम्म प्रगतिशील मान्नुपर्छ ।
निजानन्द (प्रणामी) धर्मले मानिस मरेपछि परमधाम जान्छन् र उसका लागि यहाँ अनावश्यक कर्मकाण्ड गर्नु पर्दैन भनेको देखिन्छ । प्रणामी धर्म लिएपछि मानिसले परमात्मासँग सामिप्यता प्राप्त गर्छ भन्ने त्यो धर्मको विश्वास रहेको छ, अर्थात यो पनि अन्धविश्वास नै हो । अन्धविश्वास हुँदा हुँदै पनि किरियापुत्रीहरुलाई शारीरिक, मानसिक र स्वास्थ्यमा जटिलता आउँने ढंगबाट गरिने कर्मकाण्डबाट सरल, सहज संस्कारमा लैजानुपर्छ भन्ने मान्यता देखिन्छ ।
तर्पण पिण्ड अरु श्राद्ध यो, सब भरम को जाल ।
आत्मा गयो परमधाम कूँ, पीछे भयो जञ्जाल ।।
अर्थात, मरेपछि गरिने तर्पण, पिण्ड र श्राद्धहरू सबै भ्रमका जाल हुन् । पवित्र आत्मा त आफ्नो कर्म अनुसार परमधाम वा अर्को गतिमा गइसकेको हुन्छ, तर यहाँ पछाडि बाँकी रहेका मानिसहरू भने अनावश्यक धार्मिक जञ्जाल र ऋणको भारमा फस्छन् ।
कुसंस्कारलाई संस्कार भन्ने प्रबृत्तिको विरोध गर्ने सवालमा सन्त कविर र प्राणनाथका विचारहरु मेल खान्छन् । कुनै पनि व्यक्तिले कठोर नियममा बसेर किरिया बार्न चाहन्छ भने त्यसलाई रोक्ने कुरा हुन्न तर कोही सामान्य ढंगबाट मृतकको सम्झना गर्दै मृतकको तस्वीरमा माल्यार्पण गरेर शोक मनाउँन चाहन्छ भने उसलाई संस्कृति र धर्मका नाममा जबर्जस्ति गर्नु मानवअधिकार हनन् कै विषय हुन जान्छ । बाबुआमाको माया नभएको अपराधी करार गर्दै नाता सम्बन्ध नै तोड्ने जस्ता कुराहरु नातेदारहरुले गर्ने गरेको समेत देखिन्छ । मृतकको शोकमा रहेको व्यक्तिमाथि यसखाले मानसिक प्रताडना दिनु गलत हो । नातेदार, समाजका अगुवाहरुले मृतकको माया लागेर उसको परिवारलाई पिण्ड लडाउने, प्रेतात्मा बनाउने कार्यमा बस्न बाध्य पारेको अवश्य हैन, उनीहरुले त आफ्नो अवैज्ञानिक संस्कृतिलाई जोगाउँने दम्भ देखाएको मात्र हो । जीवनभर सम्बन्ध बिगारेर बस्ने मान्छे नै मरेपछि उसको किरियाकर्म शुद्ध होस् भन्ने किन चाहन्छ भने ऊ त्यो मृतकलाई भन्दा आफ्नो विभेदकारी, पाखण्डी संस्कारलाई कायम राख्न चाहन्छ ।
कुनै पनि धर्मले समय सापेक्ष आफूलाई रुपान्तरण गर्दै गएन भने त्यो धर्म आफैं समाप्त भएर जान्छ । आजको आधुनिक र व्यस्त समयमा तेह्र दिनको किरियाविधिलाई अझ कडा बनाउँने, किरियाविधिमा दलितहरुको अनुहार देखिनु पाप ठानिने, राजस्वला भएकी महिला छेउछाउमा आए सम्पूर्ण किरियाविधि बिग्रन्छ भनी ठान्ने जस्ता मान्यताहरु बोकेर धर्म बलियो हुँदैन । आफ्नो संस्कृतिलाई जसरी पनि जोगाउने भनेर ठान्ने हो भने हिन्दु धर्मकै महत्वपूर्ण अंश सतिप्रथा त हट्यो नि ! सतिप्रथा हट्न सक्छ भने अव्यवहारिक कर्मकाण्ड हटाउन चैं किन सकिन्न ?
समाजमा जबसम्म समाजवादी मान्यता सहितको भौतिकवादलाई स्थापित गरिन्न, तबसम्म मानवकल्याण, समानता आउँदैन । समाजवाद स्थापना भएको सतकौं बर्षमा पनि मानिसको मनमा रहेको धार्मिक मान्यताहरु हट्न सकेको हुन्न । त्यही भएर धर्म मान्ने वा नमान्ने स्वतन्त्रता जनतालाई नै दिनुपर्छ भनिएको हो । कसैले कुनै पनि धर्म अनुसारको संस्कारविधि गर्छ भने अर्को धर्मका मानिसले उसलाई रोक्न दबाव दिनुहुन्न । तर आफूले संस्कारविधि गरिरहँदा अन्य जाति, समूहमाथि आघात पुग्ने शैली चैं छोड्नै पर्छ । भौतिकवादीहरुले स्वर्ग, नर्क, ईश्वर मान्दैनन् त्यसैले भौतिवादीहरुले मृतकको समालोचनात्मक विश्लेषण गर्दै ऊप्रति सम्मान व्यक्त गरी कार्यक्रम गर्दछन् । धर्म मान्नेहरुले भौतिवादीहरुको कामलाई आफ्ना भुतप्रेतका मान्यता, स्वर्गनर्कका मान्यता, नाता तोड्ने धम्की जस्ता कुरा गरेर दबाव सृजना पनि गर्नु हुँदैन । प्रगतिशील समाज भनेकै कुनै अमुक समुदायले अर्को समुदायको भावनाको कदर गर्ने समाज हो ।
मानिसको मनबाट धर्म तुरुन्त समाप्त हुँदैन । त्यसकारण संकिर्ण, घोर अन्धविश्वासी, जातपातको विभेद गर्ने, हिंसा संस्कृति आत्मसात गर्ने, नारी हेपाहा खालका मान्यता बोकेको धर्मको विकल्पमा अर्को धर्म जसले काल्पनिक ईश्वरलाई नै मानेता पनि अनावश्यक कर्मकाण्ड नगर्ने, मानव कल्याणकारी बाटो देखाउँछ भने त्यो धर्मलाई प्रगतिशील नै मान्नुपर्छ ।
प्रणामी धर्मभित्र पनि विकृतिहरु छन् । त्यहाँ पनि गुरुहरुको चरण धुने, चरणामृतको भाष्य सृजना गर्ने कार्यहरु छन् । यस्ता विकृतिहरुलाई भने हटाउनु जरुरी छ । मांसाहार गर्नेहरुलाई आफ्नो विचारले शाकाहारी बनाउँनुपर्नेमा मांसाहारीहरुलाई अछुत जस्तो गरी अपमान गर्नु प्रणामी धर्मको अर्को अतिवाद हो । आज पश्चिमा देशहरुमा समेत धेरै जना भेगन भई दुधको सामाग्री समेत सेवन गर्न छोड्दै आएको सन्दर्भमा प्रणामीहरुले घृणाले हैन प्रेमले मानिसहरुलाई शाकाहारतर्फ आकर्षित गर्नुपर्छ । महाप्रसाद कसरी बनेको छ ? भन्ने नबुझी सेवन गर्दा स्वास्थ्य जटिलता हुनसक्छ । यसमा पनि प्रणामी सुन्दरसाथले ध्यान नपुर्याई अन्धश्रद्धा गरेको देखिन्छ ।
नेपालमा प्रणामीहरुको व्यवहारिक दिवालियापन
नेपालमा अहिले वैदिक सनातन पक्षधरहरु एकदमै ठूलो स्वरमा धर्म निरपेक्षताले हिन्दु सनातन धर्मलाई संकटमा पारेको छ भन्ने गर्छन् । हिन्दू धर्मभित्रका कुसंस्कार, कठोर जातीय विभेद नै वास्तवमा उक्त धर्मलाई संकटमा पार्ने कारक तत्वहरु हुन् । अहिले हजारौं हजार दलितहरु क्रिश्चियन धर्मतिर लागेको देखिन्छ । स्वविवेकले क्रिश्चियन हुन पाइन्छ तर साम्राज्यवादी योजनामा क्रिश्चियन धर्म फैलाउने कार्य भने खतरनाक छ । क्रिश्चियन मिसनरीहरु सांस्कृतिक साम्राज्यवादी योजनाका साथ नेपालमा प्रवेश गरिरहेको विषय लुकेको छैन । उनीहरु गरीब र हिन्दु धर्मको अन्यायपूर्ण व्यवहारले थिचिएका समुदायसँग नजिकिएर काम गरिरहेका छन् । हिन्दु धर्मका कारण अछुत बनाइएका समुदायले आत्मसम्मानका लागि बाटो खोजी रहेको हुन्छ । नेपालमा निजनाम (प्रणामी) धर्मले त्यस्ता समुदायलाई समेटेर व्यापक गर्न सकेको भए, क्रिश्चियनहरुको प्रभाव कम हुन सक्थ्यो । नेपालका धेरै प्रणामीहरु पढ्न त ‘तारतम सागर’ लय हालेर पढ्छन् तर व्यवहारमा बहुदेवताका अगाडि माथा टेक्दै पनि हिंड्छन् । जुन उदेश्यका साथ प्राणनाथले दर्शन पस्किएका थिए, त्यसकै विरुद्धमा उनका अनुयायीहरु रमाएर बसेको देखिन्छ ।
विश्व इतिहास हेर्दा पश्चिमा देशहरुमा रहेको बहुदेवदेवी प्रथाका विरुद्ध इशा मसिहले विद्रोह गरी एक परमात्माको अवधारणा विकास गराए । मध्यपूर्वीय क्षेत्र तिर बहुदेवदेवी प्रथाका विरुद्ध पैगम्बर महम्मदले विद्रोह गरी एक अल्लाहको अवधारणा विकास गराए । पूर्वीय देशहरुमा वैदिक कर्मकाण्ड पक्षधरहरुले चार्वाक जस्ता वैज्ञानिक विचारधारा भएका ऋषिहरुलाई समाप्त गरेर उनका दर्शन समेत नामेट गरेका कारण यसले प्रभाव जमाउन सकेन । बुद्धलाई पनि शंकराचार्य लगायतकाले निमोठ्न खोजेकै थिए तर सकेनन् । अन्तत: बुद्धका विचारलाई भौतिकरुपमा समाप्त गर्न नसकेपछि बुद्धलाई नै विष्णुको दश अवतारभित्र छिराएर सनातन धर्मलाई बलियो बनाउँने प्रयत्न गरियो । पछि सन्त कविरले कर्मकाण्डीय धर्मको विरुद्धमा नयाँ दर्शन दिए अनि देबचन्द्र, प्राणनाथ, छत्रसाल लगायतले पूर्वीय सनातन धर्म भित्रको बहुदेवदेवी प्रथाका ठाउँमा एक पूर्णब्रह्म परमात्माको अवधारणा विकास गरेका थिए ।
तत्कालीन समयमा वैदिक धर्म भित्र देखा परेको आडम्बर माथि प्रहार गर्दै प्राणनाथले भन्नुभएको छ :
कोड़ बढ़ाओ कोई मुडाओं, कोई खेंच काढो केस ।
जो लों आत्म न ओखले, कहा होए धरे बहु भेस ।। ( किरंतन, प्र.१५/२)
अर्थात, चाहे कोही कपाल बढाएर जट्टा बनाउन्, चाहे कोही कपाल मुण्डन गरेर मुडुलो बनुन्, चाहे कोही आफ्नो एक एक कपाललाई हातले लुछेर निकालुन् । जबसम्म मानिसले आफ्नो आत्मालाई चिन्दैन (आफूभित्रको विकृति उखेल्दैन), तबसम्म बाहिरबाट जतिसुकै भेष धरे पनि त्यसको अर्थ छैन ।
प्राणनाथले स्पष्ट यो कुरा गरेको भएपनि प्रणामी समुदायका मानिसहरु दशैंमा देवी पूजा गर्न, कपाल मुण्डन गरेर श्राद्ध बस्न, तीजमा महादेव पुकार्न र तेह्र दिने किरिया बसेर गरुड पुराण सुन्न छोडेका छैनन् । प्राणनाथले आजभन्दा कयौं बर्ष अघि वैदिक कर्मकाण्ड र मुस्लिम धार्मिक क्रियाकलापसँग लडेर स्थापना गरेको निजानन्द धर्मलाई उनका अनुयायीहरुले समाजको डर मान्दै आफ्नो पथबाट भ्रष्ट भएको देखिन्छ । यो प्रगतिशीलता हैन, यो जातिवादी अहंकारको पाउमा शरण पर्न गएको हो । कर्मकाण्ड गरेर नै उनीहरुले बुझे जस्तो मोक्ष प्राप्त हुन्छ भनेर सोच्ने कथित प्रणामीहरुले गालामा कण्ठी लगाउँनुको औचित्यता समाप्त हुन्छ । बहुमत समाजको भय मानेर गरुड पुराणको श्रवण गर्नेहरुले वितक प्रवचन र तारतम सागर वाणीलाई अपमान गरेको भन्न सकिन्छ ।
प्रणामी धर्म नेपाल प्रवेश गरेपछि जुन स्तरमा वैदिक सनातन पक्षधरहरुबाट विरोध भएको थियो, सम्भवत: त्यो विरोधलाई थेग्न नसकेर उनीहरुमध्ये कतिपयले प्रणामी धर्मलाई वैदिक हिन्दु धर्मभित्रको अंश मानेका कारण पनि यस्तो भएको हुनसक्छ । तर इतिहास केलाउँदा यो धर्म हिन्दू, मुस्लिम र केही हदसम्म इसाइका मतहरुलाई समेत समेट्ने गरी नयाँ धर्मको रुपमा विकास भएको हो । यो धर्मको उदयलाई त्यसबेलाका सन्दर्भमा प्रगतिशील कदम मान्नुपर्छ र अहिलेको सन्दर्भमा पनि धार्मिक जड्ता, बहुदेवदेवीको उपासना, अनुत्पादक क्षेत्रमा अत्याधिक साधु/सन्त/पुरेतहरुको संलग्नता, मूर्तिपूजाका नाममा भगवानको मूर्तिको व्यापार गर्ने प्रबृत्तिको अन्त्य गर्न प्रणामी धर्मले प्रगतिशील भूमिका खेल्न सक्ने देखिन्छ ।
वैदिक समाजमा मृतकको शरीर विसर्जन गरेर आएर स्नानादी गरी हवन कार्य गरेपछि त्यसै दिन अन्त्येष्टी पूरा हुन्थ्यो भन्ने तथ्य प्राचीन वाङमयमा पाइन्छ । ...... श्रीकृष्ण प्रणामीहरुले पनि श्यमशान घाटबाट फर्किएर आएपछि स्नानादी गरेर चोखो वस्त्र धारण गरी मन्दिरका कलशको जलले सबैतिर अभिसिञ्चन गरी सेवापूजा बोलेर आरती गरेपछि सबै शुद्ध हुन्छन् । (निजानन्द संस्कारविधि, श्री लक्ष्मीकान्त शर्मा, श्रीकृष्ण प्रणामी साहित्य तथा संस्कृति परिषद्, बिराटनगर, नेपाल, २०७५, पेज नं. ८)
निजानन्द (प्रणामी) धर्म लिनेहरु आजीवन अहिंसा व्रतमा रहने, तारतम महामन्त्रबाट पवित्र र एउटै परब्रह्ममा निष्ठा राख्ने भएकोले यस घरमा सूतक (जुठो) लाग्दैन । (ऐ.ऐ., पेज नं. २९)
माथिका दुईवटा उद्धरणहरुले प्रणामी किरियाविधिलाई स्पष्ट गर्छ तर पनि प्रणामी समुदायका मानिसहरुले सनातन समाजको डरबाट आफ्नै मान्यतालाई कुल्चिएको देखिन्छ ।
प्रणामी धर्म तत्कालीन समयका लागि चार्वाक वा बुद्ध जस्तो क्रान्तिकारी विचार नभएता पनि धार्मिक आस्था राख्नेहरुका बीचमा सन्त कविरको दर्शन जस्तै विद्रोही दर्शन चैं हो ।
अन्त्यमा,
धर्मले मानिसहरुलाई कतिपय नैतिक कुराहरु सिकाउन खोजे पनि अन्तत: धर्मले श्रमजीवी वर्गलाई यस धर्तीमा अधिकार प्राप्त गर्ने चेतनामाथि बिर्को लगाउँने कार्य गर्छ । गरिबी, वर्ग विभाजित समाजको उपज नभई पूर्वजन्मको पाप हो भनेर मानिसहरुलाई दिग्भ्रमित गर्ने कार्य धर्मले गर्छ ।
तसर्थ धार्मिक समाजका ठाउँमा भौतिकवादी समाजको स्थापना हुनु मानव कल्याणको पक्षमा छ । धर्मको मान्यता तत्काल मानिसहरुबाट हटाइहाल्न सम्भव नभएको हुँदा तुलनात्मक रुपले प्रगतिशील धर्मप्रति सकारात्मक बन्नुपर्ने देखिन्छ । विभिन्न संस्कारहरु गर्ने सवालमा मानिसलाई शारीरिक, मानसिक कष्ट दिने गरी संस्कार मनाउँने प्रथाको अन्त्य हुनुपर्छ । कुनै पनि त्यस्तो धर्म जसको संस्कार मानिसलाई शारीरिक, मानसिक कष्ट दिने, मानिसहरुबीच छुवाछुतको व्यवहार गर्ने, संस्कारलाई परिमार्जन गरेर वा वैज्ञानिक विधिबाट गर्न चाहनेहरुलाई नातासम्बन्धको धम्की दिएर बन्देज लगाउने छ भने त्यसलाई निषेध गर्न प्रयत्न गर्नु मानव कल्याणका लागि उचित हो । बौद्ध धर्म, कविर पन्थ, र प्रणामी धर्म धेरै हदसम्म सुधारात्मक छ । पूर्वीय मान्यतामा रहेका बढी मानवतावादी धर्मप्रति सकारात्मक बन्दै संकिर्ण धर्मको कमजोरी समातेर हाम्रो जस्तो देशमा धार्मिक अतिक्रमण गर्ने पश्चिमा साम्राज्यवादीहरुको योजनाप्रति सजग हुनु आजको यथार्थ हो ।
आखिरमा हाम्रो आफ्नै पूर्वीय भूमिमा जन्मिएको लोकायत दर्शनका सर्जक ऋषि चार्वाकको धारणा वस्तुवादी छ । वहाँले भन्नुभएको छ :
अग्निहोत्र त्रयीतन्त्र भस्मपुण्ड्रकम्
प्रज्ञा पौरुषम् नि: स्वानानाम् जीवो जल्पति जीविका : ।
अर्थात यज्ञ-अनुष्ठान गर्नु, वेद पढ्नु वा धर्मशास्त्रको पालना गर्नु, र निधारमा भस्म वा तिलक लगाउनु—यी सबै कुराहरू बुद्धि र पुरुषार्थ नभएका (अल्छी वा क्षमताहीन) मानिसहरूले आफ्नो पेट पाल्न र जीविकोपार्जन गर्नका लागि बनाएका बहाना वा उपाय मात्र हुन्। (सर्वदर्शनसंग्रह, माधवाचार्य)
(लेखक प्रगतिवादी कथाकार एवं सांस्कृतिक रुपान्तरण कर्मी हुनुहुन्छ ।)






प्रतिकृया दिनुहोस