• २०८३ असोज ३ शनिबार
  • Saturday, 19 September, 2026

ट्रम्पको कर युद्धः रुसको तेल किन्नेलाई सय प्रतिशत कर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन्। अमेरिकी संसद्‌बाट पारित भइसकेको उक्त विधेयक राष्ट्रपतिको हस्ताक्षरसँगै कानुनमा परिणत भएको छ।

‘लिन्डसे ओ ग्राहम स्याङ्क्सनिङ रसिया एन्ड इरान एक्ट २०२६’ नाम दिइएको ४८ पृष्ठ लामो यस कानुनले रुसबाट कच्चा तेल तथा प्राकृतिक ग्यास खरिद गर्ने प्रमुख पाँच राष्ट्रहरूमाथि १०० प्रतिशतसम्म भन्सार महसुल (ट्यारिफ) लगाउन सक्ने अधिकार अमेरिकी राष्ट्रपतिलाई प्रदान गरेको छ। यस व्यवस्थाका कारण रुसी ऊर्जाका मुख्य क्रेता मानिएका छिमेकी मुलुकहरू भारत र चीन प्रत्यक्ष प्रभावित हुने देखिन्छ।

यद्यपि, यो कानुन स्वतः लागू हुने नभई यसको कार्यान्वयनको अन्तिम अधिकार अमेरिकी राष्ट्रपतिमै निहित रहनेछ। आफ्नो कुल आवश्यकताको १५ प्रतिशतभन्दा कम प्राकृतिक ग्यास रुसबाट आयात गर्ने र निर्भरता क्रमशः घटाउँदै लगेका मुलुकहरूलाई भने यसमा छुट दिने प्रावधान राखिएको छ।

यस कानुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुतिन, उच्च सरकारी अधिकारी, वित्तीय संस्था तथा प्रतिबन्ध छल्न प्रयोग हुने समुद्री जहाजका बेडाहरूमाथि समेत कडा नियन्त्रणको व्यवस्था गरिएको छ। युक्रेनका पक्षधर एवं रुसविरुद्ध कडा नीतिका समर्थक दिवङ्गत रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको स्मृतिमा यो विधेयकको नामाकरण गरिएको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर