ओलीकाे चुनाैतीः १० महाभारत लडेर आएकाे म अहिलेकाे प्रयासबाट ढल्दिन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भए लगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरणा दिएको बताएका छन्।
१२औँ संविधान दिवस (२०८३) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई बधाई दिँदै अध्यक्ष ओलीले वक्तव्यमार्फत संविधान निर्माणका क्रममा ठूलो मूल्य चुकाउनुपरेको स्मरण गराएका हुन्। उनले संविधानको रक्षा र पूर्ण कार्यान्वयनमा जोड दिएका छन्।
संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफू एमालेभित्र १० वटा महाभारत लडेर यहाँसम्म आइपुगेको भन्दै अहिलेको प्रयासबाट आफू नढल्ने बताए ।
उनले भने, ‘केपी ओली मैदानमा छ, अमरसिंह थापा मेरै उमेरमा युद्धको मैदानमा थिए, मैले त तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ ।’
महाभारतमा जटिल अवस्थामा भिष्मपितामह ढलेको प्रसङ्ग उल्लेख गर्दै ओलीले आफू त्यसरी ढल्ने अवस्थामा नरहेको बताए ।
उनले आफू छ दशकदेखि एमालेमा रहेको उल्लेख गर्दै पार्टीमाथि सबैतिरबाट हमला भइरहेको र नयाँ पार्टी बन्ने हल्ला फैलाइएको बताए ।
अध्यक्ष र महासचिवसमेत बाँडफाँट भएको भन्ने समाचारहरू झुटो भएको उनको दाबी थियो । ओलीले असोज ६ र ७ गते बस्ने केन्द्रीय समिति बैठकपछि पार्टी एकता र आगामी कामको संकल्पसहित बाहिरिने बताए ।
‘पार्टीको एकता र गर्नुपर्ने कामको संकल्पसहित असोज ६ र ७ गतेको केन्द्रीय समिति बैठकबाट बाहिर निस्कनेछौँ, सबै हल्लाहरू खण्डन हुनेछ’, उनले भने ।
पार्टी फुटाउन चाहनेहरूको प्रयास सफल नहुने दाबी गर्दै ओलीले कुन्ती मुक्तानको गीतसमेत उल्लेख गरे । ‘एमाले आफ्नो बाटो हिँड्छ, खुट्टा तान्दै गर, म यत्तिकै यहाँ आइपुगेको होइन’, उनले भने ।
संविधानसभाबाट जारी यो ऐतिहासिक संविधानले नेपाली जनतालाई पूर्ण रूपमा सार्वभौमसत्ता सम्पन्न बनाएको र संघ, प्रदेश तथा स्थानीय गरी तीन तहको शासन प्रणाली स्थापित गरेको उनले उल्लेख गरे।
नागरिक स्वतन्त्रतासहित ३१ वटा मौलिक हकको व्यवस्था गरिएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले संविधानले प्रत्याभूत गरेका हकहरूलाई व्यवहारमा उतार्न राज्य बलियो हुनुपर्ने बताए। सोही सामर्थ्य निर्माण गर्दै समाजवादको दिशामा अघि बढ्न एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य तय गरेको उनले स्पष्ट पारे।
आफ्नो नेतृत्वको सरकारले छोटो समयमै आवश्यक कानुन निर्माण र संरचनात्मक विकासमार्फत संविधानलाई कार्यान्वयनको चरणमा लगेको दाबी गर्दै ओलीले वर्तमान राजनीतिक परिस्थितिप्रति भने गम्भीर चिन्ता व्यक्त गरे। उनले राज्यका प्रमुख धरोहरहरूमाथि भएको आक्रमणपछि संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि नै संकट पैदा गरिएको आरोप लगाए।







प्रतिकृया दिनुहोस