एमालेमा पेचिलो बन्यो नेतृत्व परिवर्तन, च्यासलमा सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बसेको छ।
कार्यदलको प्रतिवेदन र समसामयिक राजनीतिक घटनाक्रममा सचिवालय बैठकमा छलफल हुनेछ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्।
चुनावी धक्का र जेन-जी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिबीच एमालेभित्र नेतृत्व पुनर्गठन र पुस्तान्तरणको विवाद उत्कर्षमा पुगेको छ । महासचिव शंकर पोखरेलले केपी शर्मा ओलीबाट नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सारेपछि पार्टी अन्तर्संघर्षमा छ ।
गत वर्ष भदौ २० मा सकिएको विधान महाधिवेशन र पुसको पहिलो साता भएको ११औं महाधिवेशनमा अध्यक्ष ओलीको पक्षमा थिए– उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायत। अहिले उनीहरूको निष्कर्ष छ– ‘अब पुरानो नीति र नेतृत्वबाट एमाले उँभो लाग्दैन त्यसैले ओलीले नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुन्छ।’
देशभर भएका १३ वटा भेलाबाट आएका सुझावका आधारमा पोखरेलले पार्टी पुनर्गठनको खाकासहित प्रतिवेदन पनि तयार गरे। तर ओलीले त्यसलाई अघि बढ्न दिएनन्। सुरुमा उनले पुनर्गठन कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापालाई अर्को प्रतिवेदन लेख्न लगाए। पोखरेलको प्रतिवेदनविरुद्ध आएको थापाको प्रतिवेदनमा पनि चित्त नबुझेपछि उनले कार्यदलमा नरहेका नेता प्रदीप ज्ञवालीलाई प्रतिवेदन लेख्ने जिम्मा दिए।
ओली पक्षकै नेताहरू विकल्पमा उभिएपछि एमालेको अन्तर्संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ। भोलि (सोमबार) सुरु हुने केन्द्रीय कमिटी बैठकमा यो बहस प्रमुखताका साथ उठ्ने देखिन्छ।
उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले नेतृत्व पुनर्गठनको पक्षमा उभिएपछि एमालेभित्र तातो बहस सुरु भएको छ।






प्रतिकृया दिनुहोस