लगातारको वर्षाले काठमाडौं प्रवेश गर्ने सबै राजमार्गमा पहिरो, कहाँ के भयाे?
काठमाडौं । दुई दिनदेखिकाे लगातारकाे वर्षाले काठमाडौँ आवतजावत गर्ने सबै मुख्य राजमार्गमा पहिरो खसेका छन्।
लगातारको वर्षा पछि भक्तपुरको मनोहरा र हनुमन्ते खोला आसपासका क्षेत्रमा पानीको सतह बढेपछि स्थानीयलाई सतर्क रहन आग्रह गर्दै प्रहरीले माइकिङ गरिरहेको छ ।
काठमाडाैंमा मनोहरा–दिव्यश्वरी प्लानिङ, राधेराधे, बालकोट–सागबारी तथा हनुमन्ते करिडोरअन्तर्गत घट्टेखोला क्षेत्रमा विहानदेखि माईकिङ गर्दै सतर्क रहन भन्दै माइकिङ गरिएको हो। स्थानीय बासिन्दालाई नदी किनार तथा जोखिमयुक्त स्थानमा सावधानी अपनाउन आग्रह गरिएको छ ।
बिहीबार दिउँसैदेखि निरन्तर परिरहेको वर्षाको कारण पृथ्वी राजमार्ग, कान्तीलोकपथ र बीपी राजमार्गमा आवतजावत ठप्प बनेको हो।
धादिङको कृष्णभिरसहित आधा दर्जनभन्दा धेरै स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ।
कृष्णभिरसहित सात ठाउँमा गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काले जानकारी दिए।
बिहीबार साँझदेखि रातभर आवतजावतमा रोक लगाइएको पृथ्वीराजमार्गमा शुक्रबार बिहान ५ बजेदेखि गाडी सञ्चालन गर्न दिने तयारी स्थानीय प्रशासनको थियो। तर, अब यो राजमार्ग अनिश्चित कालको लागि बन्द भएको एसपी खड्काले बताए।
बिहीबार साँझदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड आज (शुक्रबार) पनि बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक खण्ड बन्द रहने जनाएको छ । यस सडक खण्डमा निरन्तर वर्षासँगै पहिरो गइरहेको र हटाउने काम पनि भइरहेकोले आज पनि बाटो बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माले जानकारी दिए ।
निरन्तरको वर्षासँगै विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
मौसम विज्ञान विभागले आगामी केही दिनसम्म अझै भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको चेतावनी दिएकाले सम्भावित जोखिम र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिइन्।







प्रतिकृया दिनुहोस