• २०८३ असोज १० शनिबार
  • Saturday, 26 September, 2026

 ट्रम्प र सीबीच ह्वाइट हाउसमा के के भयाे छलफल?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वासिङ्टनस्थित ह्वाइट हाउसमा उच्चस्तरीय भेटवार्ता भएको छ । विश्वका दुई महाशक्ति राष्ट्रहरूबीच व्यापार, प्रविधि, कृत्रिम बौद्धिकता (एआई) र इरानको युद्धलगायतका विषयमा गम्भीर मतभेद भइरहेका बेला यो भेटलाई अत्यन्तै महत्वका साथ हेरिएको छ ।

ह्वाइट हाउसमा आयोजित विशेष स्वागत समारोहमा राष्ट्रपति ट्रम्पले सीसँग सन् २०१६ को आफ्नो पहिलो निर्वाचनदेखि नै व्यक्तिगत सम्बन्ध र आपसी सम्मानमा आधारित गहिरो मित्रता रहेको बताए ।

चिनियाँ राष्ट्रपति सीले दुई देशका हितहरू गहिरो रूपमा जोडिएको उल्लेख गर्दै प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने र त्यसको निश्चित सीमा हुनुपर्ने बताए। उनले उदाउँदो र स्थापित शक्तिबीच हुने द्वन्द्वको जोखिमलाई इङ्गित गर्दै अमेरिका र चीनले ’थ्युसिडिड्स पासो’ बाट बच्नुपर्ने चेतावनी दोहोर्याए ।

चिनियाँ राष्ट्रपति सीले ट्रम्पलाई ताइवान मामिलामा सावधानीपूर्वक अघि बढ्न गर्न आग्रह गरे । एक चीन नीतिप्रति प्रतिवद्ध भएको अमेरिकाले ताइवानसँग कुनै प्रत्यक्ष कुटनीतिक सम्बन्ध राखेको छैन ।

तर, अमेरिकाले ताइवानलाई रक्षात्मक हतियार उपलब्ध गराउँदै आएको छ । जसको बेइजिङले विरोध गर्छ । सीले अमेरिकालाई ताइवानलाई गर्ने हातहतियार बिक्री स्थायी रूपमा रोक्न र अत्याधुनिक चिप्सको निर्यात प्रतिबन्ध खुकुलो पार्न आग्रह गरेका छन् ।

दुई देशबीच जारी व्यापारिक द्वन्द्व कम गर्न नोभेम्बर १० मा सकिने भनिएको एक वर्षे व्यापार युद्धविरामको समय थप दुई महिना लम्ब्याउने सहमति बुधबार भएको छ । 

त्यसैगरी, एआईलाई ट्रम्प र सीबीच एआई प्रविधिको विकास र नियमनबारे पनि छलफल भएको छ । सीले एआई सधैं मानव नियन्त्रणमै रहनुपर्ने माथि जोड दिए । 

विश्वका दुई ठूला अर्थतन्त्रका नेताबीच अमेरिका–इरान युद्ध अन्त्यका विषयमा पनि छलफल भएको छ । अमेरिकाले इरानविरुद्ध प्रयोग गरिरहेको आर्थिक प्रतिबन्धमा चीनले साथ दिन अस्वीकार गर्दै आएको छ ।

थ्युसिडिड्स ट्रयाप के हो ?

थ्युसिडिड्स ट्रयाप एक राजनीतिक सिद्धान्त हो । उदाउँदो शक्तिले स्थापित सत्तालाई विस्थापित गर्न खोज्दा उत्पन्न हुने संरचनात्मक तनावले प्रायः युद्धको सम्भावना बढाउने गर्छ भन्ने मान्यता यसले राख्छ । 

हार्भर्ड विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक ग्राहम एलिसनले सन् २०१२ मा यो शब्द अघि ल्याएका हुन् । उनले प्राचीन ग्रिक इतिहासकार थ्युसिडिड्सको एउटा भनाइबाट यो अवधारणा विकास गरेका हुन् ।

इसापूर्वको पाँचौ शताब्दीमा प्राचीन ग्रिसमा नगर राज्यहरुबीच सन्तुलन मिल्न नसक्दा पेलोपोनेसियनको युद्ध चलेको थियो । यस युद्धमा एथेन्सले उदाउँदा शक्ति र स्पार्टाले परम्परागत शक्तिको प्रतिनिधित्वि गरेका थिए । युद्धबारे तत्कालीन एथेन्सका तत्कालीन सेनापति ( जो कालान्तरमा इतिहासकार बने)  थ्युसिडिड्सले लेखेका थिए, ‘त्यो एथेन्सको उत्थान र त्यसले परम्परागत शक्ति स्पार्टामा पैदा गरेको त्रास नै थियो । जसले युद्धलाई अपरिहार्य बनायो ।’

यसमा उदाउँदो शक्ति अधिक आत्मविश्वासी र महत्वाकांक्षी रहन्छ । जबकि परम्परागत शक्ति आफ्नो हैसियत गुमाउने डरमा रहन्छ । यही डर र शंकाले दुई पक्षबीच द्वन्द्व सिर्जना गर्छ ।

एलिसनले विगत ५ सय वर्षका १६ वटा ऐतिहासिक घटनाहरूको अध्ययन गरेका थिए, जसमा उदाउँदो शक्तिले शासक शक्तिलाई चुनौती दिएको थियो । ती १६ मध्ये १२ वटा युद्धमा परिणत भए भने ४ वटा घटनामा युद्ध टर्‍यो ।

मुलुकहरूले सावधानीपूर्वक कूटनीति, आपसी प्रतिरोध वा साझा विनाशकारी जोखिम (जस्तै आणविक हतियार) लाई मध्यनजर गर्दै द्वन्द्वबाट बच्न सक्ने सुझाव पनि एलिसनले दिएका छन् ।

राजनीतिक विश्लेषकहरुले हालको समयमा अमेरिका र चीनबीचको तनावलाई वर्णन गर्न यसको प्रयोग गर्ने गरेका छन् । किनकि चीनको तीव्र आर्थिक, प्राविधिक र सैन्य वृद्धिले लामो समयदेखिको अमेरिकी विश्व–प्रभुत्वलाई चुनौती दिइरहेको छ ।

विश्व नेताहरूले आकस्मिक द्वन्द्वबाट बच्न र शान्तिपूर्ण सहअस्तित्वको आवश्यकतामा जोड दिने गरेका छन् । प्रमुख शिखर सम्मेलनहरूमा स्पष्ट रूपमा यस शब्दावलीको प्रयोग गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर