'के खाएपछि मध्यरातमा जोस र मध्यान्हमा होस आउँछ सरकार?'
काठमाडाैं । नेकपाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक युवराज दुलालले विपद्को समयमा जनतालाई राहत दिनुपर्ने सरकारको ध्यान अन्तै मोडिएको भन्दै असन्तुष्टि जनाए।
उनले भने, ‘गएको १० गते मध्यराति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले पक्राउ गर्यो। बिना पक्राउ पुर्जी, बिना कारण, एउटा गैरकानुनी राज्यको दृष्टान्त फेरि एकपल्ट सरकारले देखायो र मध्यरातमा अर्को नयाँ स्टन्ट सरकारले देखायो।’
उनले हामी कानुनी राज्यमा छौँ कि गैरकानुनी ? भन्दै प्रश्न गरे। उनले देश अराजकताको बाटोमा हिँडेको आरोप लगाए।
उनले थपे, ‘पूर्व प्रधानन्यायाधीशलाई सुरक्षा थ्रेट भनियो। गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई गरिन्छ? यसको जवाफ पनि सरकारले दिनुपर्छ। यो दादागिरीको अन्त्य गर्नुपर्छ। के गरेपछि यस्तो बौलाठीपूर्ण पागलपन आउँछ?’
उनले यो सरकारमा पाँच वर्षको लागि मात्रै भएको भन्दै सदा–सदाको पेवा जस्तो व्यवहार नगर्न चेतावनी दिए।
उनले भने,’सरकार जन्मेकै दिन पनि मध्यरातमा पूर्व प्रधानमन्त्रीलाई रातभरि घरमा घेराउ गरिएर गिरफ्तार गरियो र केही समयपछि अदालतले छोड्यो। आज पूर्व प्रधानन्यायाधीशलाई पनि त्यसैगरी मध्यरातमै गिरफ्तार गरियो। र १२ घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो। १२ घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो? को हो त्यो सुरक्षा थ्रेट? कतै सरकारी सुरक्षा थ्रेट त होइन? के खाएपछि मध्यरातमा जोस आउँछ र मध्यान्हमा होस आउँछ?’






प्रतिकृया दिनुहोस