प्रधानमन्त्री बालेनकाे भारत भ्रमणकाे तयारीमा सरकार
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका लागि दुवै मुलुक परिणाममुखी र अर्थपूर्ण भ्रमणको प्रतिक्षामा रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा खनालले भ्रमणको समय तय नभए पनि दुवै पक्ष सकारात्मक रूपमा छलफलमा रहेको जानकारी दिए।
प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधिएको प्रश्नमा मन्त्री खनालले सरकार बनेलगत्तै भारतबाट भ्रमणको निम्तो प्राप्त भएको सुनाए। ‘सरकार गठन भएलगत्तै प्राथमिकताका आधारमा भारत र चीनको भ्रमण गरी दुवै छिमेकी मुलुकसँग नेपालका प्राथमिकताका विषय स्पष्ट रूपमा प्रस्तुत गरेका थियौँ,’ उनले भने।
प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि दुवै पक्ष सकारात्मक रहेको उनको भनाइ छ। तथापि, भारत भ्रमणको मिति तय नभएको उनले बताए।
‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणका विषयमा प्रारम्भदेखि नै निमन्त्रणा प्राप्त भएको र नेपालले त्यसलाई सकारात्मक रूपमा लिएको छ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘उपयुक्त समयमा परिणाममुखी भ्रमण गर्ने विषयमा दुवै पक्ष सकारात्मक छन्। यद्यपि भ्रमणको मिति भने अहिलेसम्म तय भइसकेको छैन।’
परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा नेपालको हित प्रवर्द्धनका लागि निकै फलदायी रहेको बताए। उनले महासभाका क्रममा विश्वभरका राष्ट्र तथा सरकार प्रमुखसँग भएको भेटघाटलाई नेपालको राष्ट्रिय स्वार्थ र बाढीपछिको विपद् व्यवस्थापनका मुद्दाहरू विश्व मञ्चमा राख्न सदुपयोग गरेको बताए।
‘संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा विश्वभरका सरकार तथा राष्ट्र प्रमुख र परराष्ट्रमन्त्रीसँग द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्ने अवसरलाई पनि अधिकतम उपयोग गर्दै नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘यस क्रममा भोटेकोसी बाढीपछिको विपद् अवस्था र जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा प्रस्तुत गर्दै सम्भव भएसम्म सबै अवसरको उपयोग गरिएको छ।’







प्रतिकृया दिनुहोस