• २०८३ असोज १९ सोमबार
  • Monday, 5 October, 2026

कांग्रेसकाे महाधिवेशन सुरु, बन्दसत्र पनि खुलामञ्चमै

काठमाडाैं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि खुलामञ्चमा सुरु भएकाे छ। २२ गतेसम्म चल्ने महाधिवेशन तालिकाअनुसार असोजको १८ गते उद्घाटन सत्र, १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन पदाधिकारीको लागि हुनेछ।

देशभर निरन्तरको वर्षाका कारण यही असोज १६ गतेका लागि निर्धारित महाधिवेशन ३ दिनपछि प्रारम्भ भएको हो । देश र विदेशबाट महाधिवेशन प्रतिनिधिहरु सहभागी हुन काठमाडाैँ आउने क्रम जारी छ।

उद्घाटनस्थल खुलामञ्चमा भव्य मञ्च निर्माण गरिएको छ । खुलामञ्चमा नै बन्दसत्र सञ्चालनका लागि भिन्न भिन्न ठूला हलहरु बनाइएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। महाधिवेशन स्थलमा नै मिडिया सेन्टर तथा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिएको छ।

आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक/एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको छ।

आवासका लागि एअरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलङ्की र नयाँ बसपार्क क्षेत्रमा व्यवस्था गरिएको छ । सहभागीले यससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्नेछन् । बिहान, दिउँसो र साँझको भोजन व्यवस्था भने भृकुटीमण्डपमा गरिएको आवास व्यवस्थापन समितिले जनाएको छ।

यसैगरी, केन्द्रीय निर्वाचन समितिका अनुसार यो महाधिवेशनमा करिब सात हजार ७०० महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेसको इतिहासमा नै पहिलोपटक यति ठूलो सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु निर्वाचित भएका हुन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनसँगै बन्दसत्र पनि काठमाडौँको खुलामञ्चमै हुनेछ। ठूलो सङ्ख्यामा प्रतिनिधि व्यवस्थापन गर्न त्यहीअनुसार संरचना निर्माण गरिएको छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्ने तालिका छ।

खुलामञ्चमा हुने महाधिवेशनका बन्दसत्रका लागि तीनवटा ठूला संरचना तयार गरिएको छ । ठूलो सङ्ख्यामा रहेका प्रतिनिधिलाई व्यवस्थित रूपमा सहभागी गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । छलफल चलाइने ती हलहरुको नाम हिमाल, पहाड र तराइ–मधेस राखिएको छ।

प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई तीन फरक हलमा छलफल हुनेछ। हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउनु हुने प्रवक्ता चालिसे बताए। 

उदघाटन सत्रमा विभिन्न राजनीतिक दलको नेतृत्वलाई आमन्त्रण गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछाने, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टी अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चा अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन कार्यक्रममा सहभागी भएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर