• २०८३ असोज १९ सोमबार
  • Monday, 5 October, 2026

लिङ्देनकाे प्रस्तावः राजा पनि अटाउने नयाँ समझदारी गराैं

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान अपरिवर्तनीय दस्ताबेज नभएको बताउँदै देशलाई निकास दिन राजादेखि नयाँ पुस्तासम्म अटाउने नयाँ राष्ट्रिय समझदारी निर्माण गर्न प्रस्ताव गरेका छन्।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकको समस्या व्यक्ति वा सरकार परिवर्तनले मात्र समाधान नहुने भन्दै दलहरूले उत्कृष्ट भनेको व्यवस्था र संविधानमै त्रुटिका चाङ रहेको दाबी गरे।

काठमाडौंको खुलामञ्चमा आयोजित सभामा बोल्दै उनले भने, ‘संविधान गीता, बाइबल वा कुरान होइन, यो छुनै नहुने वा चलाउनै नहुने चिज होइन। हिजो तपाईंहरूले राम्रै सोचेर बनाउनुभएको होला, तर आज यसमा त्रुटिनै त्रुटिका चाङहरू देखिएका छन्। त्यसैले नमिलेका कमजोरीहरू सुधारेर जानुपर्छ।’

पछिल्लो ६ महिनाको राजनीतिक घटनाक्रमले नेता फेरेर मात्रै समस्याको निकास नहुने पुष्टि गरेको बताउँदै उनले देश अहिले अँध्यारो सुरुङतर्फ धकेलिएको बताए।

‘सिंहदरबार जल्दा सत्तामा बस्नेको मात्र जलेन, हामी सबैको जल्यो। देश बिग्रिँदा कुनै एउटा पार्टीको मात्र होइन, हामी सबैको बिग्रिन्छ,’ लिङ्देनले भने।

विगतमा राजाले दलहरूलाई र दलहरूले राजा तथा एक-अर्कालाई निषेध गर्ने राजनीतिकै कारण देश संकटमा फसेको उनको भनाइ थियो। उनले अब कसैले नहार्ने र सिंगो देशले जित्ने साझा सहमति खोज्नुपर्ने बताए।

उनले २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय प्रतिस्पर्धा, २०६२/०६३ को समावेशिता-समानुपातिकता तथा पछिल्लो समय जेन-जीको विद्रोहको चाहनालाई एकै ठाउँमा समेटेर राजा, राजनीतिक दल र युवाहरूबीच नयाँ राजनीतिक सम्झौता हुनुपर्नेमा जोड दिए।

अध्यक्ष लिङ्देनले कांग्रेस नेताहरू गगन थापा र विश्वप्रकाश शर्मासहित सम्पूर्ण राजनीतिक नेतृत्वलाई निषेधको राजनीति त्यागेर नयाँ समझदारीतर्फ अघि बढ्न आह्वान गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर