• २०८३ असोज १९ सोमबार
  • Monday, 5 October, 2026

कांग्रेसको महाधिवेशनमा गएर रविले भनेः देउवा छाडेर अघि बढ्नुस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब छोडिदिँदा राम्रो हुने सुझाव दिएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसको नयाँ नेतृत्वलाई पूर्वसभापति देउवाका विषयमा यस्तो सुझाव दिएका हुन्।

‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु,’ लामिछानेले भने।

उनले कांग्रेसको लामो राजनीतिक इतिहासको सम्मान गर्दै पार्टीले अब नयाँ पुस्ता र नयाँ राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताए। कांग्रेसको इतिहास उसको ठूलो शक्ति भएको भन्दै उनले त्यसबाट पाठ सिकेर नयाँ यात्रामा अघि बढ्नुपर्ने धारणा राखे।

उनले टिकट वितरण, नेतृत्व हस्तान्तरण र दलीय निष्ठाका विषयमा कांग्रेसमाथि कटाक्ष गरेका हुन्।

महाधिवेशनको मञ्चबाट सम्बोधन गर्दै सभापति लामिछानेले समानुपातिक प्रणालीको दुरुपयोग, युवालाई नेतृत्व हस्तान्तरणमा ढिलाइ र चुनाव चिह्न रुख छाडेर अन्य दललाई भोट हाल्ने उर्दी जारी गर्नु कांग्रेसको ठूलो कमजोरी भएको औंल्याए। यी कमजोरी नभएको भए आफ्नो राजनीतिक गन्तव्य कांग्रेस नै हुनसक्ने उनले बताए।

‘समानुपातिक भनिरहँदा सबैभन्दा अगाडि र सबैभन्दा बढी अवसर पाएका मान्छेलाई टिकट वितरणमा प्राथमिकता नदिएको भए मै पनि कांग्रेस हुन्थें होला,’ उनले भने, ‘आज ५० वर्षको सभापति पाउँदा गौरव महसुस गरिरहनुभएको छ, ४० वर्षमै सभापति बन्ने प्रेरणा दिएको भए मै पनि कांग्रेस हुन्थें होला।’

विगतका चुनावी गठबन्धनतर्फ संकेत गर्दै उनले थपे, ‘कांग्रेसले आफ्नो लहलहाउँदो रुखलाई छाडेर अर्कै पार्टीको चुनाव चिह्नमा भोट हाल भनेर उर्दी जारी नगरेको भए मै पनि कांग्रेस हुन्थें होला।’

सरकारको स्थायित्वबारे टिप्पणी गर्दै सभापति लामिछानेले सरकार ढल्ने हल्ला फैलाउनेहरू आफैँ निराश हुने दाबी गरे। ‘सरकार कमजोर भयो, अहिले ढल्छ, दसैँ-तिहारमा ढल्छ भन्नेहरू सरकार नढलेको देखेर आफैं बेहोस भएर ढल्छन्, तर सरकार ढल्दैन,’ उनले भने, ‘हामीले व्यक्तिलाई हेरेर होइन, इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरेका हौं।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर