महासचिव पोखरेलले भनेः एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आयाे
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिको पक्षमा नेपाली कांग्रेससँग मिलेर काम गर्न एमाले तयार रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले मुलुक अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको भन्दै राष्ट्रियताका प्रश्नमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए । उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक विपत्तिको जोखिम बढिरहेको भन्दै विपत्तिको सामना गर्न राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए ।
भोटेकोशी र त्रिशूलीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको र अझै हजारौं मानिस बेपत्ता रहेको उल्लेख गर्दै उनले जलवायु न्यायको प्रश्न नेपालको साझा प्रश्न भएको बताए ।
पोखरेलले लोकतन्त्रको भविष्यमाथि समेत चिन्ता उत्पन्न भएको बताए । निर्वाचित जनप्रतिनिधि, संसद् र नागरिकसँग सरकारले संवाद गर्न नसकेको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू सामूहिक रूपमा अघि बढ्नुपर्ने धारणा राखे ।
उनले भने, ‘जसरी हिजो नेपालका वामपन्थीहरू र लोकतन्त्रवादी शक्तिहरू मिलेर राणाशाहीलाई परास्त गरेका छौं, पञ्चायतलाई परास्त गरेका छौं, राजा ज्ञानेन्द्रको तानाशाहीलाई परास्त गरेका छौं, त्यसैगरी लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ ।’
पोखरेलले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा पर्नसक्ने अवस्था रहेकाले राष्ट्रियता र सार्वभौमसत्ताको रक्षाका लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए। नेपालका छिमेकी मुलुकलाई समेत आश्वस्त पार्नेगरी राष्ट्रिय हितमा साझा धारणा बनाउनुपर्ने उनको भनाइ थियो ।
उनले जनताले सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकासको अपेक्षा गरेपनि ती क्षेत्रमा अपेक्षाअनुसार प्रगति हुन नसकेको बताए । रोजगारीका लागि ठूलो संख्यामा युवा विदेश जान बाध्य रहेको भन्दै नयाँ पुस्ताका सपना र अपेक्षालाई निराशामा बदल्न नहुने धारणा राखे । ‘इतिहासको गौरवलाई भविष्यको योजना र सङ्कल्पमा बदल्ने काम जबसम्म हामीले गर्न सक्दैनौँ, युवाहरूका सपनाहरू पूरा गर्न सकिँदैन,’ उनले भने ।
पोखरेलले सूचना प्रविधिको क्रान्तिले समाजको मनोविज्ञानमा ल्याएको परिवर्तनलाई राजनीतिक दलहरूले आत्मसात् गर्नुपर्ने बताए। कांग्रेसको १५औँ महाधिवेशनले नयाँ पुस्ताका अपेक्षा र भावनालाई सम्बोधन गर्न सक्नुपर्ने उनको भनाइ थियो ।
उनले अनुहार परिवर्तन मात्रै पर्याप्त नहुने भन्दै राजनीतिक दलहरूले नयाँ पुस्ताको मनोविज्ञानअनुसार आफ्नो आन्दोलन र संगठनलाई नयाँ रूपमा अघि बढाउनुपर्ने बताए ।







प्रतिकृया दिनुहोस