कांग्रेस महाधिवेशनमा प्रचण्डकाे प्रस्तावः राजनीतिक शक्तिहरूबीच समझदारी
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका छन् ।
आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले निरन्तरतामा क्रमभंग गर्दै कांग्रेसलाई नयाँ इतिहासतर्फ डोर्याउने काम गरेको भन्दै थापालाई बधाई दिए ।
उनले भने, ‘मैले सँधै भन्ने गर्थें निरन्तरतामा क्रमंग गर्न सक्नुपर्छ । तपाईंले निरन्तरतामा क्रमभंग गरेर कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो । त्यसका लागि विशेष बधाई भन्न चाहन्छु ।’
दाहालले देश अहिले असाधारण, जटिल र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताए । प्राकृतिक विपद्का कारण हजारौंको ज्यान गएको, ठूलो मात्रामा सम्पत्ति नष्ट भएको र हजारौं मानिस बेपत्ता रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा कांग्रेसको महाधिवेशन हुन लागेको बताए । उनले गगन थापालाई आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्रीका रूपमा काम गर्दादेखि नै देशको नेतृत्व गर्नसक्ने व्यक्तिका रूपमा हेरेको स्मरण गरे । थापाले अहिले देशको नेतृत्व गर्ने आँट गरेको भन्दै आफूहरू उनको साथमा रहेको बताए ।
दाहालले कांग्रेसभित्र नयाँ पुस्ता र पुरानो पुस्ताबीच विभाजनको भावना विकास गर्न नहुने बताए । समाज वृद्ध, प्रौढ र युवाहरू मिलेर अघि बढ्ने भएकाले सबै पुस्तालाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
उनले देशमा लोकतन्त्र र संविधानसमेत अप्ठ्यारो अवस्थामा रहेको दाबी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई थप सुदृढ गर्न सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने बताए ।
शान्ति सम्झौताका बाँकी काम पूरा गर्नुपर्ने उल्लेख गर्दै दाहालले त्यसको जिम्मेवारी कांग्रेस सभापति गगन थापाले लिनुपर्ने बताए । समावेशी लोकतन्त्रका उपलब्धिलाई थप सुदृढ गर्दै शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने उनको भनाइ थियो । दाहालले आगामी दिनमा कांग्रेस, वामपन्थी तथा अन्य राजनीतिक शक्तिहरूबीच समझदारी आवश्यक रहेको बताए। समृद्ध, शान्तिपूर्ण र लोकतान्त्रिक नेपाल निर्माणका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनको धारणा थियो ।







प्रतिकृया दिनुहोस