कांग्रेस महाधिवेशन: भाेलि उम्मेदवारी दर्ता, २२ गते मतदान
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि असोज २२ गते मतदान हुने भएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मतदान बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।
मतदानका लागि राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, खुलामञ्च र कमलादीस्थित प्रज्ञा भवनमा केन्द्र तोकिएको छ। असोज १९ गते साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जानकारी दिएको छ।
नामावलीमाथि सोही दिन साँझ ५ बजेदेखि ६ः३० बजेसम्म दाबी विरोध गर्न सकिनेछ भने दाबी विरोधमाथि ६ः३० देखि ७ः३० बजेसम्म जाँचबुझ गरेपछि राति ८ः३० बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।
त्यसैगरी असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन हुनेछ।
पहिलो नामावलीमाथि ४ः३० देखि ५ः३० बजेसम्म दाबी विरोध गर्न सकिनेछ। त्यसपछि ६ः३० बजेसम्म जाँचबुझ गरी साँझ ७ बजे दोस्रो उम्मेदवार नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता वा सच्याउन सकिनेछ। त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारले सोही दिनभर प्रचारप्रसार गर्न पाउनेछन्।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने प्रक्रिया निर्णायक चरणमा प्रवेश गर्ने भएको छ।







प्रतिकृया दिनुहोस