कांग्रेसमा अब वरिष्ठसहित उपसभापति ४, सहमहामन्त्री १३
काठमाडौँ । कांग्रेसले एक वरिष्ठ र एक महिला उपसभापति थप गर्ने भएको छ । यस्तै महामन्त्री पनि ३ जना बनाउने निर्णय भएको छ । भरखरै १५औं महाधिवेशनस्थल खुलामञ्चमा सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
महामन्त्री र उपसभापतिमा एकएक जना महिला अनिवार्य गरिएको हो ।
त्यसैगरी दुई खुला सहमहामन्त्री थप्ने पनि निर्णय भएको छ । यसअघि सहमहामन्त्रीको संख्या ११ थियो ।
अब वरिष्ठसहित उपसभापतिको संख्या ४ पुग्नेछ भने सहमहामन्त्रीको संख्या १३ पुग्नेछ । यस्तै केन्द्रीय सदस्यको संख्या पनि थप गर्ने निर्णय बैठकले गरेको छ ।
सोमबार सुरु हुने बन्दसत्रको पहिलो प्रस्ताव नै विधान मस्यौदा संशोधनसम्बन्धी प्रस्तुत हुने कार्यक्रम छ ।
यसैबीच कांग्रेसका विभिन्न पदहरुमा नेताहरुले उम्मेदवारी घाेषणा गर्न थालेका छन् । केन्द्रीय सदस्य विनोद चौधरीले १५ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि रहेका चौधरीले उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।
चौधरीले आफूनिकटहरूलाई उपसभापति पदमा उम्मेदवारी दिन लागेको जानकारी गराएका छन्।
नेता जीवन परियारले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
यसअघि पार्टीको सहमहामन्त्री भइसकेका नेता परियारले १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने भएका हुन्। परियारले आइतबार सामाजिक सञ्जालमार्फत् आफू उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्।
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले महामन्त्रीमा उम्मेदवार घोषणा गरेकी छन् । काठमाडौंको खुलामञ्चमा आइतबार कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । सोमबार भृकुटी मण्डपमा बन्द सत्रको कार्य तालिका छ ।






प्रतिकृया दिनुहोस