सुन दस्कर फेरि सक्रीय,२१ किलाे सुन बरामद
काठमाडौँ । प्रहरीले काठमाडौंमा ठूलो परिणाममा सुन बरामद गरेको छ । बिहीबार बूढानिलकण्ठबाट २१ किलो सुन बरामद भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन बरामद गरेको हो । बरामद सुनमध्ये ११ किलो तयारी अवस्थामा रहेको र १० केजी प्रशोधन गर्ने गरी राखिएको अवस्थामा भेटिएको स्रोतको भनाइ छ । प्रहरीले केही व्यक्तिलाई पक्राउसमेत गरेको एक उच्च अधिकृतले बताए।
बरामद गरेपछि प्रहरीले त्यो सुनमा जोडिएका तीन चिनियाँ नागरिकबारे जानकारी पाएको थियो भने घरधनीको नालीबेली पहिल्यै निकालिसकेको थियो । त्यसक्रममा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर, उनीहरुको नाम खुलाइएको छैन ।
प्रहरी टोली जब चिनियाँ नागरिकसमेत भएको घरभित्र प्रवेश गर्यो, त्यसपछि उनीहरुले प्रहरीलाई नै उल्टै आक्रमण गर्न खोजेका थिए । अपरेशनमा खटिएका एक अधिकारीका अनुसार, प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजे पनि उनीहरु सफल भएनन् ।
प्रहरीले तयारी अवस्थामा रहेको १० किलो सुन र प्रशोधन गर्न बाँकी ११ किलो सुन बरामद गर्यो । त्यहींबाट सुनको ढिक्का बनाउन प्रयोग गर्ने उपकरणसमेत प्रहरीले बरामद गरेको छ । ‘प्रहरीले गरेको पछिल्लो केही वर्षयताकै सुनसम्बन्धी यो ठूलो अपरेशन हो,’ ती अधिकृतले भने, ‘भोलि (शुक्रबार) उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने तयारी छ ।’
यसअघि २०८० साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पारगरिसकेको अवस्थामा 'ब्रेक सु'भित्र ६० किलो सुन बरामद भएको थियो । त्यसअघि २०७४ सालमा सुन तस्करका भरिया सनम शाक्य मारिएपछि एउटै समूहले चार वर्षमा ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको थियो । यूएईबाट विमानस्थल हुँदै आएको सुन भारत जाने गरेको थियो ।
३३ किलो सुन हराएपछि तस्कर समूहले खोजबिन गर्ने क्रममा शाक्य मारिएका थिए । त्यसपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएर अनुसन्धान थालेको थियो । त्यसक्रममा प्रहरी अधिकारीहरुसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसपछि लामो समयसम्म विमास्थलबाट संगठित सुन तस्करी भएको विवरण आएको थिएन । एकैपटक २०८० सालमा चिनियाँ गिरोहको संलग्नतामा ब्रेक सुमा लुकाएर सुन तस्करी भएको खुलेको थियो ।







प्रतिकृया दिनुहोस