कांग्रेस महाधिवेशनमा मतदान आज, किन भयाे ढिलाइ?
काठमाडाैं। मतपत्र छपाइमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन एक दिन लम्बिएको छ । १८ असोजमा उद्घाटन भएको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको कार्यतालिका थियो । तर, उम्मेदवारी दर्ता प्रक्रिया र उम्मेदवारको नामावली प्रकाशनमा ढिलाइ हुँदा बिहान १० बजे, दिउँसो १ बजे र दिउँसो २ बजे मतदान सुरु गर्ने भनेर समय धकेल्दै लगिएकामा मतपत्र छपाइ नसकिएपछि अन्ततः शुक्रबारका लागि मतदान सारिएको हो ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले दुई लाखभन्दा बढी मतपत्र छापिएको बताए । मतपत्रमा संयोजक खड्काको डिजिटल हस्ताक्षर छ भने मतदान अधिकृतहरूले मतपत्रमा हस्ताक्षर गरेका छन् । मतपत्रमा हस्ताक्षरका लागि २३ वरिष्ठ अधिवक्ता खटिएका छन् । उनीहरूलाई हस्ताक्षर गर्न दिउँसोदेखि राति ११ बजेसम्म लागेको थियो । शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । तर, साँझसम्मै लाग्ने आकलन गरिएको छ ।
हरेक प्रतिनिधिले सभापतिदेखि सदस्यसम्म २३ मतपत्रमा मतदान गर्नुपर्नेछ । एउटा मतपत्रमा मतदान गरिसकेपछि अर्को मतपत्र लिएर मतदान गर्दै जानुपर्ने व्यवस्था मिलाइएको छ । एक प्रतिनिधिलाई मतदान गर्न ३० मिनेट लाग्ने निर्वाचन समितिको दाबी छ । तर, निर्वाचनमा खटिएका अधिकारीहरू मतदानका लागि एकजनालाई ४० देखि ४५ मिनेट लाग्ने बताउँछन् ।
प्रदेशगत रूपमा एकपटकमा २०० सयका दरले मतदानमा सहभागी हुने गरी व्यवस्था मिलाइएको छ । प्रत्येक केन्द्रमा ५० वटा टेबलको व्यवस्था गरिएको छ । एउटा टेबलमा ‘पार्टेसन’ गरेर चार खण्ड बनाइएको छ । जहाँबाट एकैपटक ४ जनाले गोप्य मतदान गर्न सक्छन् । निर्वाचन समितिले सहजीकरणका लागि पाँच सयजनालाई स्वयंसेवक खटाएको छ ।
सभापतिदेखि सदस्यसम्म उम्मेदवारको संख्या ८१२ छ । पदाधिकारीका लागि निर्वाचन हुने १८ पदका लागि ७१ उम्मेदवार छन् भने २१० निर्वाचित हुने केन्द्रीय सदस्यका लागि ७४१ उम्मेदवार छन् । महाधिवेशनमा सात हजार ३१७ प्रतिनिधि छन् । निर्वाचन समितिले यसअघि बुधबार बिहान सार्वजनिक गरेको मतदाताको अन्तिम नामावलीमा सात हजार २५५ प्रतिनिधि थिए । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीपहिरोलगायतका कारणले अधिवेशन हुन नसकेका पालिकाबाट पुरानै सभापतिसहित प्रतिनिधि कायम गर्दा संख्या बढेको निर्वाचन समिति संयोजक खड्काले बताए ।
मतदाताहरू मतदानका लागि बिहीबार बिहानैदेखि प्रतीक्षामा थिए । उनीहरू बिहान सबेरै मतदानस्थल खुलामञ्च र राष्ट्रिय सभागृहमा पुगिसकेका थिए । अपराह्नसम्म पनि प्रतिनिधिहरू मतदानको प्रतीक्षामा थिए । तर, निर्वाचन समितिले अपराह्न साढे ४ बजेपछि पत्रकार सम्मेलन गरेर निर्वाचनको मिति सारिएको जानकारी गराएको थियो । उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएकाले शुक्रबारका लागि सारिएको संयोजक खड्काको भनाइ छ ।
‘अब मतदान गर्न मात्रै बाँकी हो, अन्य सबै तयारी पूूरा भइसकेको छ । साँझमा सुरु गरेर रातभर मतदान गर्दा मतदातालाई अप्ठेरो पर्ने भएकाले शुक्रबारका लागि सारिएको हो । मतदान सम्पन्न गरी महाधिवेशन प्रतिनिधिहरूलाई भोलि नै बिदाइ गर्छौँ,’ उनले भने, ‘मतपत्र तयार छ । मतदान प्रक्रियामा खटिने सम्पूर्ण जनशक्ति पनि तयार छ । मतदान केन्द्रमा मतदानका लागि सबै व्यवस्थापन तयार गरिसकिएको छ । आवश्यक स्वयंसेवकहरू पनि तयार छन् । थप सुरक्षा आवश्यक पर्दा सुरक्षा व्यवस्थासमेत सम्पूर्ण रूपमा तयार छ । भोलि बिहान ७ बजे नै मतदान सुरु हुन्छ ।’
पार्टी नेतृत्वले बिहीबार नै निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरे पनि रातिको समय उचित नहुने निष्कर्षमा पुगेको खड्काले बताए । निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्रीका उम्मेदवारसँग निर्वाचनका विषयमा बिहीबार दिउँसो छलफल गरेको थियो । उक्त छलफलका क्रममा उम्मेदवारहरूले ढिला नगरी मतदान प्रक्रिया सुरु गर्नुपर्ने बताएका थिए । तर, रातिको समय, मौसम र सुरक्षालगायतका कारण रातभर मतदान गराउन उचित नहुने निष्कर्षमा समिति पुगेको हो ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ । प्रतिनिधिहरूले तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । राष्ट्रिय सभा गृह मतदान केन्द्र ‘क’ (१) मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ । खुलामञ्च, मतदान केन्द्र ‘ख’मा तराई मधेश हल दुईवटा, पहाड हल दुईवटा र हिमाल हल एउटा व्यवस्था गरिएको छ । तराई मधेश हलमा क्रमशः (२) कोशी प्रदेश र (३) मधेश प्रदेशका प्रतिनिधिले मतदान गर्न पाउनेछन् । हिमाली हल (४) मा गण्डकी प्रदेशका प्रतिनिधि, पहाड हल (५)मा लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्न पाउनेछन् । पहाड हल (६) मा कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिका लागि मतदानको व्यवस्था मिलाइएको छ ।
मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु हुनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ । निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ । प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन् ।
मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । विभिन्न पदमा परेको उम्मेदवारीअनुसार महाधिवेशन प्रतिनिधिले सम्बन्धित मतपत्रमा मतदान गर्नेछन् ।
निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने जनाएको छ । मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाउने जनाएको छ । मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ । दुईदेखि तीन दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक खड्काले बताए । ‘आवश्यकताअनुसार १३ वटासम्म मतगणना स्थल बनाएर भए पनि दुई/तीन दिनमै मतगणना सम्पन्न गर्ने तयारीमा छौँ,’ खड्काले भने ।







प्रतिकृया दिनुहोस