• २०८३ असोज २३ शुक्रबार
  • Friday, 9 October, 2026

गगनले भनेः यसपटक कुनै प्यानल छैन, विवेक प्रयाेग गर्नुस

काठमाडाैं । नेपाली कांग्रेसका निवर्तमान सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा कुनै पनि प्यानल वा गुट नरहेको बताएका छन् ।

उनले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार गरिएको भन्दै त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन् ।

केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएपछि थापाले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी स्वतन्त्र विवेकका आधारमा मतदान गर्न आग्रह गरेका हुन् ।

‘यसपटक कुनै पनि प्यानल वा गुट छैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन होला । कुनै पनि अफवाहमा नलाग्नुहोला ।’

हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो भएको भन्दै थापाले महाधिवेशन प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन् ।

उनले लोकतान्त्रिक अभ्यासमा मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

‘सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यान दिई आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न म आग्रह गर्दछु,’ उनले भनेका छन् ।

प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर