• २०८३ असोज २३ शुक्रबार
  • Friday, 9 October, 2026

ट्रम्पकाे दाबीः 'नोबेल शान्ति पुरस्कार पाउनुपर्ने मैले हाे'

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरेका छन् । तर, सन् २०२६ को नोबेल शान्ति पुरस्कार पाउने सम्भावनाबारे भने उनले आशंका व्यक्त गरेका छन् ।

नोबेल शान्ति पुरस्कारका लागि आफ्नो नामबारे सोधिएको प्रश्नमा ट्रम्पले बुधबार आफूलाई पुरस्कार दिने निर्णय हुनेमा निश्चित नभएको बताए । नर्वेजियन नोबेल समितिले शुक्रबार यस वर्षको शान्ति पुरस्कार घोषणा गर्दैछ ।

'उनीहरूले के निर्णय गर्छन्, मलाई थाहा छैन,' ट्रम्पले भने, 'सायद म जस्ता व्यक्तिलाई पुरस्कार नदिने उनीहरूको परम्परा छ ।'

गत वर्ष ह्वाइट हाउस फर्किएयता ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गर्दै आएका छन् । उनले आफूले आठवटा युद्ध रोकेको दाबी गर्दै पुरस्कार पाउनुपर्ने बताउँदै आएका छन् ।

भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले पनि गत जनवरीमा आफ्नो सन् २०२५ को नोबेल शान्ति पुरस्कारको पदक ट्रम्पलाई दिएकी थिइन् । उनले भेनेजुएलामा आफ्नो अभियानका लागि अमेरिकी समर्थन खोजिरहेका बेला ट्रम्पलाई उक्त पदक दिएकी थिइन् ।

कम्बोडिया, इजरायल र पाकिस्तानका नेताहरूले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको बताएका छन् । यद्यपि उनीहरूले गरेको मनोनयनको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

ट्रम्पले आफूले समाधान गरेको दाबी गरेका केही द्वन्द्वका पक्षहरूले उनको कूटनीतिक भूमिकामाथि प्रश्नसमेत उठाएका छन् । प्रजातान्त्रिक गणतन्त्र कंगो तथा कम्बोडिया-थाइल्यान्ड सीमालगायत क्षेत्रमा पुनः हिंसा भड्किएको छ ।

रुस-युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको प्रयास पनि निष्कर्षमा पुग्न सकेको छैन । दोस्रो कार्यकाल सुरु गरेको पहिलो दिनमै युद्ध अन्त्य गर्ने वाचा गरेका ट्रम्पले त्यसमा सफलता हात पार्न सकेका छैनन् ।

यसैबीच, इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि सात महिनादेखि जारी तनावले विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पारेको र ग्यासको मूल्य बढेको समाचारमा उल्लेख छ ।

पोप लियो, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) तथा प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमध्ये रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर